समाज कल्याण परिषद्की उपाध्यक्षद्वारा पदबाट राजीनामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

समाज कल्याण परिषद्की उपाध्यक्षद्वारा पदबाट राजीनामा


१५ माघ २०८०, सोमबार


काठमाडौँ । समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदबाट राजीनामा दिएकी छन् । उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उजुरी परेपछि राजीनामा दिएको बताइएको छ ।

परिषद् अध्यक्षसमेत रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उपाध्यक्षले दिएको राजीनामा स्वीकृत गरी सकेका छन् । मन्त्री आचार्यले प्रशासनसँग भने, ‘उहाँले स्वास्थ्यको कारण देखाउँदै राजीनामा बुझाउनु भएको छ । स्वीकृत पनि भई सकेको छ ।’ मोनिकाले शुक्रवार राजीनामा बुझाएकी हुन् । उनी यसअघि एक महिनाको बिदामा थिइन् ।

मोनिका अमेरिकाको पिआर (स्थायी बसोबास अनुमति) धारी हुन् । पिआर भएको व्यक्ति कुनै पनि सार्वजनिक पदमा बस्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै उनलाई परिषद्को उपाध्यक्षमा नियुक्ति गरिएको भन्दै उजुरी परेको थियो ।

उनकी सासु अर्थात् पूर्वमन्त्री उमा रेग्मीले नियुक्त गरेकी थिइन् । रेग्मीले आफू महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुँदा बुहारीलाई नियुक्त गरेकी थिइन् । मोनिकालाई उपाध्यक्ष सिफारिस गरेपछि २०७८ मङ्सिर २ गतेको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको विरोध भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस