सतर्कता केन्द्रकै सचिवले हडपे खानेपानी मन्त्रालयको गाडी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सतर्कता केन्द्रकै सचिवले हडपे खानेपानी मन्त्रालयको गाडी


१० माघ २०८०, बुधबार


राम आधार साह

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साहले सरुवा भएको महिना दिन भई सक्दासमेत सरुवा भई जाने मन्त्रालयको गाडी फिर्ता नगरेको भेटिएको छ । सार्वजनिक निकाय तथा पदाधिकारीहरुकोसमेत निगरानी राख्ने निकायका सचिव आफैले खानेपानी मन्त्रालयको गाडी हडपेको फेला परेको हो । 

गत मङ्सिर २८ गते खानेपानी मन्त्रालयबाट सरुवा भएर राष्ट्रिय सतर्कता केन्द्र पुगेका साहले खानेपानी सचिवले प्रयोग गर्दै आएको बा २ झ ५०५० नम्बरको गाडी लिएर गएका थिए । तत्कालीन मन्त्री उमाकान्त चौधरीले प्रयोग गर्ने महँगो गाडीमा गडेको सचिव साहको आँखा नियमनकारी निकायमा पुग्दासमेत खुलेन । 

उनी अघिका खानेपानी सचिव रहेका मणिराम गेलाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा भएकै दिनदेखि गाडी चाहियो भन्दै आन्तरिक प्रशासनलाई चर्को दबाब दिने साहले अहिले भने मङ्सिरदेखि लिएको गाडी माघ लागिसक्दासम्म बुझाउने कुनै सुरसार नै गरेका छैनन् । प्रधानमन्त्री कार्यालयले उपलब्ध नगराउन्जेलसम्मका लागि हप्ता दिनसम्मका लागि प्रयोग गर्न दिनुहोस् न भन्दा ट्राफिक लगाएर झिकाउँछु भनेका साहले आफैले महिनौँसम्म गाडी हडप्नुलाई आश्चर्यका रूपमा लिएका छन् । 

सचिव साहले अहिले आफूले खानेपानी मन्त्रालयकै गाडी प्रयोग गरिरहेको स्विकारेका छन् । तपाई सरुवा भएर गइसक्दा पनि खानेपानी मन्त्रालयकै गाडी प्रयोग गरिरहनु भएको छ रे, यो सत्य हो ? भन्ने प्रशासनको प्रश्नमा सचिव साहले भने, -‘हो खानेपानी मन्त्रालयकै गाडी प्रयोग गरिरहेको छु ।’ 

सरुवा भएर गइसकेपछि बरबुझारथको चलन छ नि, तपाईँको हकमा लागू नहुने हो ? भन्ने प्रशासनको अर्को प्रश्नमा सचिव साह भन्छन् ‘यता सतर्कताको जुन गाडी थियो नि, त्यो सुरेश सरले लिएर जानुभयो, अनि मैले त्यहाँको गाडी प्रयोग गरेको हुँ’ 

तर तत्कालीन सतर्कताका सचिव तथा हाल साहको ठाउँमा खानेपानी मन्त्रालयमा पुगेका सचिव सुरेश आचार्यले भने सतर्कताको गाडी प्रयोग नगरेको बुझिएको छ । ‘तत्कालीन सचिवज्यूले यहाँको गाडी लिनु भएको छैन, सचिवले प्रयोग गर्ने स्कारपिओ गाडी केन्द्रमै छ’, केन्द्र स्रोतले भन्यो । यससँगै उनको झुट पनि उग्लिएको छ । 

सचिव साहले खानेपानी मन्त्रालयको गाडी हडपेको सम्बन्धमा आफूले मुख्य सचिवसँग सोधेरै लिएको भन्ने अर्को झुटसमेत बोलेका छन् । ‘यो गाडीको सम्बन्धमा मैले प्रधानमन्त्री कार्यालयमै यस्तो यस्तो छ भनेर भनेपछि ल ठिकै छ प्रयोग गर्नुस् भनेको थियो’ सचिव साहले भने, ‘उहाँ(तत्कालीन सचिव सुरेश आचार्य)ले बुझाएपछि तपाई पनि फर्काइ दिनुहोला नि भन्नुभयो ।’ प्रधानमन्त्री कार्यालयमा कसलाई सोध्नुभयो मुख्य सचिवलाई नै हो ? भन्दा उनले ‘हो’ भनेका छन्, जबकि मुख्य सचिव डा. वैकुण्ठ अर्यालसँग यसबारे कुनै कुरै नभएको बुझिएको छ । 

त्यति मात्रै होइन, साहले खानेपानी मन्त्रालयकै अर्को गाडीसमेत हडपेका थिए । जुन केही दिन अघि मात्रै बुझाएको खानेपानी मन्त्रालयले जनाएको छ । आफ्ना गलत निर्देशन नमानेकै कारण उपसचिव चेतराज उप्रेतीले प्रयोग गर्दै आएको बा २ झ ३६५१ नम्बरको गाडी खोसेर घरायसी प्रयोजनमा प्रयोग गर्दै आएका थिए । जुन गाडी केही दिन अघि बुझाई सकेको सचिव साहले स्वीकार गरे । 

दुवै गाडीको नम्बर रातो प्लेट राखिएकोले जहाँ जसरी घुम्दा पनि हुने भएकै कारण सरकारी सम्पत्तिको चरम दुरुपयोग गरेको देखिन्छ । 

काण्डैकाण्डका ‘प्रकाण्ड’ सचिव साहका किस्सा निजामतीमा नजान्ने सायदै होलान् । खानेपानी मन्त्रालय गएकै दिनदेखि ‘नानीदेखि लागेका बानी’ थालनी गरेका सचिव साहले त्यस्तो सचिवको रेकर्ड बनाए, जसको विरुद्धमा मन्त्रालयदेखि मातहतका सबै सहसचिवहरू मन्त्रीकोमा डेलिगेसन गए । सचिव साह मातहतमा कामै गर्न नसक्ने भएकोले तत्काल सरुवाको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्मै पुगेका थिए । सहसचिवको कार्य सम्पादन मूल्याङ्कन समयमै नपठाई दिएर तिरिमिरी पारे पछि मुख्यसचिवलाईसमेत भेटेर उनको रवैयाबारे असन्तुष्टि जनाएका थिए ।

सरुवादेखि करार नियुक्तिसम्मै विवादित बनेका साहले विभाग तथा आयोजना कार्यान्वयन निर्देशनालयका कैयन स्रोत सुनिश्चितता र टेन्डरका फाइलमा विशेष ‘इन्ट्रेष्ट’ राख्ने गरेको चर्चा बाहिरै सम्म पुग्यो । कैयूं दिनसम्म फाइलै नभेटिएपछि मन्त्री र उनको ठुलै खटपट भएको थियो भने मन्त्रीले तत्काल सरुवा भएर जानुस् भनेका थिए । उनकै अनावश्यक दबाब र कार्यशैलीबाट आजित कर्मचारीहरू त्यहाँबाट सरुवा खोजेर भागेका थिए । 

तिनै सचिव साहलाई अहिले राष्ट्रिय सतर्कता केन्द्रको जिम्मेवारी सुम्पिएको छ । जसले सार्वजनिक निकायहरूबाट हुने अनियमितता, ढिला सुस्ती, भ्रष्ट्राचार सम्बन्धमा उजुरी सङ्कलन गर्नेदेखि सार्वजनिक निकायहरूबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन गरी सुझाव, निर्देशन दिनेसम्मको काम गर्छ । 

सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सम्पत्ति र आयको अनुगमन गर्ने मात्रै होइन, विकास निर्माणका योजनाहरूमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने, प्राविधिक परीक्षण गर्ने निकायमा पुगेका सचिव साह आफै अनियमितताका पर्याय मात्रै बनेका छैनन्, दिनदहाडै झुट बोलेर असत्यलाई सत्य सावितीकरणको चेष्टामा छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस