समायोजित कर्मचारीद्वारा अवकाश रकम माग, स्थानीय तहलाई अनिवार्य कोषको व्यवस्थापन गर्न सरकारको परिपत्र « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

समायोजित कर्मचारीद्वारा अवकाश रकम माग, स्थानीय तहलाई अनिवार्य कोषको व्यवस्थापन गर्न सरकारको परिपत्र


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । समायोजित तथा लोक सेवा आयोगबाट सिफारिस भएका कर्मचारीहरूले उपदान, निवृत्तिभरण, उपचार खर्च तथा सञ्चित बिदाको रकम माग गर्दा देखिएको अन्यौलता हटाउन संघीय सरकारले परिपत्र गरेको छ ।

सरकारले सबै स्थानीय तहलाई अनिवार्य अवकाश कोषको व्यवस्थापन गर्न परिपत्र हो । प्रत्येक स्थानीय तहले अवकाश कोषको स्थापना, सञ्चालन तथा व्यवस्थापन नगर्दा दीर्घकालीन दायित्व बढ्दै जाने तथा स्थानीय तहमा कार्यरत कर्मचारीले सेवा सुविधाबाट वञ्चित हुने अवस्थासमेत सृजना हुने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९१ मा अवकाश कोषको व्यवस्था रहेको जानकारी गराउँदै मन्त्रालयले मङ्गलवार सचिव स्तरीय निर्णय गरी कोष स्थापना भए नभएको सम्बन्धमा एक महिनाभित्र मन्त्रालयलाई जानकारी गराउन पनि भनेको छ ।

साविक स्थानीय निकाय अर्थात् जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिबाट स्थानीय तहमा कर्मचारी समायोजन ऐन, २०७५ को दफा सात बमोजिम समायोजन भएका एवम् संघीय तथा प्रदेश लोक सेवाबाट स्थानीय तहमा सिफारिस भई कार्यरत कर्मचारीको उपदान, निवृत्तिभरण, उपचार खर्च ता सञ्चित बिदाको रकम सम्बन्धमा कतिपय स्थानीय तहबाट रकम माग गरी मन्त्रालयमा पठाउनुका साथै सम्बन्धित कर्मचारीले पनि निवेदन पेस गरी सेवा सुविधा माग गरेको भन्दै मन्त्रालयले यस्तो परिपत्र गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९१ को उपदफा एकमा भनिएको छ, स्थानीय तहले स्थानीय सेवाका कर्मचारीले निजको सेवा शर्त सम्बन्धी कानुन बमोजिम अवकाश प्राप्त हुँदा प्राप्त हुँदा गर्ने योगदानमा आधारित उपदान वा निवृत्तभरण, औषधी उपचार लगायतका सुविधा उपलब्ध गराउनका लागि एक अवकाश कोष स्थापना गर्नुपर्नेछ ।

उपदफा एक बमोजिम कोषको स्थानीय तहले आफ्नो दरबन्दीमा कार्यरत प्रत्येक कर्मचारीले खाइपाइ आएको मासिक तलबबाट १० प्रतिशत रकम कट्टा गरी सो रकम बराबरले हुन आउने रकम थप गरी जम्मा गरिदिनुपर्नेछ ।

स्थानीय सेवाका कर्मचारी अवकाश हुँदा कानुन बमोजिम पाउने योगदानमा आधारित उपदान वा निवृत्तभरण, औषधी उपचार लगायत सबै सुविधा उपदफा एक बमोजिमको कोषबाट उपलब्ध गराउने र उक्त दफा बमोजिमको अवकाश कोषको रकम अन्य प्रयोजनका लागि खर्च गर्न नपाइने व्यवस्था पनि ऐनमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस