प्रमुख निर्वाचन आयुक्त थपलियाको ‘गाउँ फर्कन्छु’ सार्वजनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रमुख निर्वाचन आयुक्त थपलियाको ‘गाउँ फर्कन्छु’ सार्वजनिक


१५ पुस २०८०, आइतबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त एवं स्रष्टा दिनेशकुमार थपलियाको कविताकृति ‘गाउँ फर्कन्छु’ बजारमा आएको छ ।

साझा प्रकाशनबाट प्रकाशित उक्त कृतिमा उनका विसं २०४० देखि २०६३ सालसम्म रचिएका ३३ कविता समाविष्ट छन् । निजामती सेवामा लामो समय सेवा गरी  सरकारको सचिवबाट अवकाशप्राप्त थपलियाले आफ्ना अनुभव र भोगाइका आधारमा कविता, गीत र मुक्तक लेख्दै आएका छन् । उनका दर्जनौँ गीत ‘रेकर्ड’ भएका छन् ।

अच्छाराई रसिक प्रतिष्ठानले शनिबार सुनसरीमा आयोजना गरेको कार्यक्रममा  वरिष्ठ साहित्यकार प्रा.डा. टङ्क न्यौपानेबाट सो कृतिको विमोचन गरिएको छ । उनले थपलियाका कविताहरू युगबोधी भएको बताए। 

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र  मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले थपलियाको साहित्यिक व्यक्तित्व पनि उत्तिकै सक्रिय रहनु पाठकका लागि खुसीको विषय भएको बताए ।

कृतिमाथि समीक्षा गर्दै समालोचकद्वय डा. टीका आत्रेय र दीपक न्यौपानेले थपलियाका कवितामा जीवन र जगत्का भोगाइका साथै व्यङ्ग्यात्मक प्रस्तुतिसमेत पाइने र तिनले सामाजिक रूपान्तरणमा टेवा मिल्ने बताए । कार्यक्रममा कवि अनिल पौडेलले कविको चिनारी प्रस्तुत गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस