नागरिकको अवस्था परिवर्तन गर्न सरकार अहोरात्र खटिरहेको छ : मन्त्री गुरुङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नागरिकको अवस्था परिवर्तन गर्न सरकार अहोरात्र खटिरहेको छ : मन्त्री गुरुङ


१५ पुस २०८०, आइतबार


काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले सरकार नागरिकको अवस्था परिवर्तनका लागि अहोरात्र खटिरहेको बताएकी छन् । आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सव-२०८० लाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकार नागरिकको अवस्था परिवर्तनको निम्ति अहोरात्र खटिरहेको बताइन् ।

उनले नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीहरूप्रति सरकार जानकार र सजग रहेको समेत दाबी गरिन् । ‘केही भएको छैन, र केही हुँदैन भन्ने भाष्य गलत छ, ‘मन्त्री गुरुङले भनिन्, ‘विगतका दिनहरूमा भन्दा अहिले केही न केही राम्रो हुँदै गइरहेको छ, हामीले हेर्ने नजरलाई पनि नकारात्मक मात्रै बनाउनु हुँदैन ।’

उनले चारैतिरबाट प्रश्न उठिरहेका बेला संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी सहभागितासम्बन्धी संविधानका व्यवस्थालाई जोगाएर थप मजबुद बनाउँदै लैजानुपर्ने चुनौती रहेको दाबी समेत गरिन् ।

‘नेपाल बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक हो । यसखालको विविधता नै नेपालको छुट्टै पहिचान हो । नेपालको सम्पत्ति हो, ‘उनले भनिन्, ‘नेपालका हरेक जातजातिको आफ्नै पहिचान र परम्परा छन् । सांस्कृतिक मूल्य र मान्यता छन् । हाम्रो पुर्खाले यसलाई सदिऔँदेखि जोगाएर हाम्रो काँधमा आइपुगेको छ । हामीले पनि यसलाई मर्यादित ढङ्गले संरक्षण गर्नुपर्नेछ ।’

मन्त्री गुरुङले संविधानका नेपालको विविधतालाई सम्बोधन गर्दै अधिकारको ग्यारेण्टी गरेको र विगतभन्दा राज्यकोतर्फबाट नागरिकको आवाज केही न केही रूपमा सुनिएको बताए । उनले संविधानलाई कार्यान्वयन गराउँदै आमनागरिकको जीवन र नागरिकको अवस्थालाई परिवर्तन गर्न सरकारले प्रयास गरिरहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस