भारतको मतदाता नामावलीमा नाम रहेका सांसदलाई पदमुक्त गर्न माग, भन्छन्- ‘विवादित बनाउन खोजियो’ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भारतको मतदाता नामावलीमा नाम रहेका सांसदलाई पदमुक्त गर्न माग, भन्छन्- ‘विवादित बनाउन खोजियो’


१५ पुस २०८०, आइतबार


काठमाडौँ । भारतको मतदाता नामावलीमा समेत नाम रहेको पाइएपछि राष्ट्रिय सभाका सांसद मृगेन्द्र कुमार सिंह यादव विवादमा मुछिएका छन् ।

सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर ५ का बासिन्दा यादव जनता समाजवादी पार्टी नेपालबाट राष्ट्रिय सभाको सांसदमा निर्वाचित भएका हुन् । यादव भारतीय नागरिक रहेको भन्दै राष्ट्रिय सभामा उजुरी परेको हो । नेपालमा रहेर मृगेन्द्र कुमार सिंह यादवको नाममा राजनीति गर्ने यादव भारतीय नागरिक रहेको प्रमाण प्राप्त भएको भन्दै युवराज सफलले राष्ट्रिय सभाका अध्यक्ष समक्ष उजुरी दिएका हुन् ।

भारतको पञ्चायत आमनिर्वाचन नामावली, २०२१ (बिहार)को मतदाता विवरणमा यादवसहित परिवारका सदस्यहरूको नाम रहेको पाइएको छ । मतदाता नामावली सूची ४५३ मा यादवको मतदाता नम्बर डब्लुसीडी १३७५७२४ रहेको छ । यादवलाई पदमुक्त गर्न माग गर्दै दिएको उजुरीमा जगरनाथपुर, ग्राम, बशा वार्ड नं. १४, अञ्चल÷प्रखाण्डः बबुबाराही, जिल्ला:– मधुवनी रहेको उल्लेख छ ।

भातको बिहारको मतदाता नामावलीमा यादवको नाम मृगेन्द्र प्रसाद सिंह रहेको छ । यादवले भारतीय नागरिकतामा आफ्नो श्रीमतीको नाम सुनितादेवी राखेका छन् भने नेपालमा सरिता सिंह यादव राखेका उजुरीमा उल्लेख छ । बिहारको मधुवनी जिल्लाअन्तर्गत बसहा पञ्चायतको बबुराही थानाबाट यादवसहित उनका दाजुभाइ, श्रीमतीलगायतले भारतीय मतदाता परिचयपत्र बनाएको पाइएको छ ।


सांसद यादवलाई पदमुक्त गर्न माग गर्दै राष्ट्रिय सभामा उजुरी दिएका सफलले सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा छन् । यस विषयमा बुझ्दा राष्ट्रिय सभाका सांसद मृगेन्द्र कुमार सिंह यादवले आफूलाई विवादित बनाउन खोजिएको प्रतिक्रिया दिए । ‘मतदाता नामावलीमा नाम भएको सुनेको छु । भारतको कुनै राजनीतिक दलले मतदाता नामावलीमा हाम्रो नाम राखिदिएको हुन सक्छ’, उनले भने, ‘तर अहिले भारतमा फोटो सहितको मतदाता परिचयपत्र चल्छ । त्यो पहिलेको होला । म जाँदा पनि जाँदिन उता । मलाई यसबारे थाहा छैन ।’

सुगौली सन्धि अगाडी नै भारतमा आफ्नो परिवारको २२ मौजा रहेको उनले बताए । सन्धि अनुसार जमिन केही भारतमा परेको र केही नेपालमा परेको उनको भनाई छ । पुस्तौँदेखि नै आफूहरू नेपालमा बसेको बताउँदै उनले भने, ‘मेरो बुबालाई राजा महेन्द्रले २०१३ सालमा २ सय ५० बिघा जग्गा दिनु भएको थियो । बाजेको नाममा प्राथमिक विद्यालय छ । बजैको नाममा माध्यमिक विद्यालय छ । बुबाको नाममा माध्यमिक विद्यालय छ ।’

यादवका पाँच दाजुभाइकै भारतमा जग्गा पनि छ । उनले भने, ‘अहिले पनि हामी हरेक दाजुभाइको नाममा १८ बिघाको हाराहारीमा जग्गा छ । आजदेखिको होइन, सुगौली सन्धि अगाडी नै हाम्रो जग्गा थियो ।’ उनले २०३४/३५ साल तिर आफ्नो बुबा शिक्षा सहायक मन्त्री बनेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस