बिजुली काटिएका उद्योगले गरे पाँच सय कर्मचारी कटौती « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बिजुली काटिएका उद्योगले गरे पाँच सय कर्मचारी कटौती


११ पुस २०८०, बुधबार


काठमाडौँ । लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले ५०० जना दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीलाई बिदा गरेको छ । नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेबापत बक्यौता रकम नतिरेको भन्दै धमाधम लाइन काटेपछि उनीहरूलाई बिदा गरिएको हो ।

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलमा १ हजार ५०० जना प्रत्यक्ष रोजगारीमा संलग्न रहेको बताइएको छ ।

लक्ष्मीले ७४ करोड १० लाख र सर्वोत्तमले ६८ करोड ९० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । तर, यी उद्योगले भने आफूहरूले कुनै पनि रकम तिर्न बाँकी नरहेको दाबी गरेका छन् ।

यता, रिलायन्स स्पिनिङ मिल्सले २० प्रतिशत उत्पादन गरिरहेको छ । यस उद्योगमा ३ हजार ५०० मजदुर रहेका छन् । उद्योगी शशिकान्त अग्रवालका अनुसार यही रेसियोमा उद्योग बन्द गर्ने हो भने मासिक १० करोड रुपैयाँ घाटामा जानेछ । रिलायन्सले केही दिनमै कर्मचारी कटौतीको सूचना जारी गर्ने बताएको छ ।

रिलायन्सले १ अर्ब ९४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणको भनाइ छ ।

बिजुलीको लाइन काटिएपछि आफूहरूको रोजगार सङ्कटमा परेको भन्दै मजदुरहरुले आज बारामा आन्दोलन गरेका छन् ।

हालसम्म ९ वटा उद्योगको लाइन कटिएको छ ।

सम्बन्धित समाचार : प्राधिकरणले काट्यो ९ वटा उद्योगको लाइन

लाइन काटिएको अधिकांश उद्योगले कामदार कटौती गर्न थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस