उपप्रधानमन्त्री खड्काको दाबी : संघीय निजामती र प्रहरी ऐन हिउँदे अधिवेशनबाट पारित गर्छौँ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपप्रधानमन्त्री खड्काको दाबी : संघीय निजामती र प्रहरी ऐन हिउँदे अधिवेशनबाट पारित गर्छौँ


५ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरू हिउँदे अधिवेशनबाट पारित गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार पार्टीको मधेस प्रदेशको अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले सङ्घीयतासँग जोडिएका कानूनहरु बनाउन ढिलो भएको र सरकार त्यसमा चुकेको बताए । उनले वर्तमान सरकार संघीय ऐनहरू तत्काल निर्माण गर्ने तयारीमा रहेको बताए ।

उनले संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन, प्रहरी समायोजनको कार्यान्वयन लगायत अन्य संघीय ऐनहरू आउने हिउँदे अधिवेशनमै प्रस्तुत गरेर पारित गर्ने तयारी रहेको बताए ।

‘म नेपाल सरकारको तर्फबाट भन्न चाहन्छु, सङ्घीयतासँग जोडिएका कानूनहरु बनाउन ढिलो भएको छ, हामी चुकेका छौँ । हामीले ०७२ सालको संविधान जारी गर्‍यौँ । आज ०८० सालमा पनि हामीले संघीय निजामती ऐन, संघीय प्रहरी ऐन ल्याउन सकेका छैनौँ, अन्य संघीय ऐनहरू आउन सकेका छैनन् । तथापि हामीले वर्तमान सरकार बनिसकेपछि नेपाली काँग्रेसको समर्थनमा सरकार बनेको छ’, उनले भने, ‘वर्तमान सरकार बाँकी भएका सङ्घीयसँग, प्रदेशको अधिकारसँग जोडिएका कानूनहरु तत्काल निर्माण गर्ने तयारीमा छौँ । कतिपय संसद्का समितिमा गएर छलफलका विषय बनेका छन् । हामी संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन, प्रहरी समायोजनको कार्यान्वयन लगायत जतिपनि संघीय ऐनहरू बनाउन ढिलो भएको छ, हामी नेपाली काँग्रेसको तागतमा संघीय ऐनहरूलाई आउने हिउँदे अधिवेशनमै प्रस्तुत गरेर पारित गर्नेछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस