करदाताको पहुँचमा छैन राजस्व विभाग, सेवा दिने नम्बर नै बन्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

करदाताको पहुँचमा छैन राजस्व विभाग, सेवा दिने नम्बर नै बन्द


१ पुस २०८०, आइतबार


काठमाडौँ । ‘सरकारी काम कहिले जाला घाम’ नेपाली उखान जस्तै बन्दै गएको छ, सरकारी सेवा प्रवाह पनि । जनसम्पर्कका कार्यालय नै सेवाग्राहीको पहुँचमा रहन चाहँदैनन् । जसले कार्यालयहरू नागरिकप्रति अनुदार बन्दै गएको गुनासो बढेको छ । 

पछिल्लो समय नागरिकबाट राजस्व उठाउने कार्यालय आन्तरिक राजस्व विभागबारे यस्तै गुनासो आउन थालेको छ । सरकारको कूल राजस्वमध्ये करिब आधा हिस्सा राजस्व सङ्कलन गर्दै आएको विभाग नै सेवाग्राहीको पहुँचबाट बाहिर रहेको गुनासो आएको हो । 

अर्कोतर्फ देशमा आर्थिक मन्दी छ, देश आर्थिक सङ्कटमा छ, आर्थिक अवस्था खत्तम भयो जस्ता विषय पनि विभिन्न पक्षबाट सुनिँदै आएका छन् । यी विषय निवारण गर्दै विभागले करदाताको स्वैच्छिक कर सहभागिता अभिवृद्धि करदाताको पहुँचमा हुनुपर्ने हो । तर, सुझाव सल्लाह लिन चाहने करदाताको पहुँच विभागसम्म पुग्दैन ।

विभागको वेबसाइटमा कर सम्बन्धी जानकारी आवश्यक भएमा कल सेन्टरमा टोल फ्रि नम्बर १६६००१४०००० र टेलिफोन नम्बर ०१५९७०१७६ को व्यवस्था गरिएको छ । तर, उक्त नम्बरमा विभागका अधिकारीहरूसँग सम्पर्क हुँदैन । टोल फ्रि नम्बरमा ‘माफ गर्नु होला अहिले यो सुविधा उपलब्ध छैन’ भन्ने जवाफ आउँछ ।

यसैगरी टेलिफोन नम्बरमा सेवाग्राहीलाई अल्झाउने काम मात्र हुन्छ । उक्त नम्बरमा महिलाको आवाजमा स्वागतसँगै भाषा छनोट गर्न आग्रह गरिन्छ । भाषा छनोट गरेपछि आन्तरिक राजस्व विभागबाट प्रवाह हुने सेवाबारे जानकारी दिँदै सेवा लिनका लागि विभिन्न अङ्क थिच्न आग्रह गरिन्छ । विभागको बारेमा बुझ्नका लागि एक अङ्क थिचेसँगै प्रत्यक्ष कुराकानीको लागि ह्यास थिच्न आग्रह गरिन्छ । ह्यास थिचेपछि पनि पटक पटक ह्यास थिच्न आग्रह हुन्छ । आग्रह अनुसार तीन पटकसम्म ह्यास थिच्दा पनि प्रत्यक्ष सम्पर्क हुँदैन । यो प्रक्रियासम्म पुग्दा सेवाग्राहीको मोबाइलबाट एक मिनेट बढीको रकम खर्च भइसकेको हुन्छ । 

दोस्रो पटक सम्पर्क गर्दा पनि सोही प्रक्रिया दोहोरियो । 

सेवाग्राहीले प्रत्येक पटक सम्पर्कको प्रयासका लागि एक मिनेट बढीको रकम खर्चिनु पर्छ । उक्त रकम खर्च गरेर पनि सम्पर्क हुन सक्दैन । वेबसाइटमा राखिएको नम्बर र त्यहाँ सम्पर्क हुन नसक्ने विषयमा विभाग भने बेखबर छ ।

त्यसो त विभागको वेबसाइटमा न प्रवक्ताको नम्बर राखिएको छ न सूचना अधिकारीको नै । जसका कारण विभागबारे कुनै जानकारी वा सूचना लिन सकिँदैन ।

यसबारे जिज्ञासा राख्दा विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, ‘टेलिफोनमा के समस्या रहेछ । बुझेर बनाउन लगाउँछ ।’ तर, प्रवक्ता र सूचना अधिकारीको व्यवस्था भएको उनको दाबी छ ।

फराकिलो कराधार, पारदर्शी एवं न्यायोचित कर प्रणालीमार्फत आर्थिक-सामाजिक विकासमा सहयोगी एवं सबल सङ्गठनको रूपमा विकास गर्ने सोच विभागले राखेको छ । समतामूलक, प्रगतिशील, पारदर्शी र पूर्वानुमानयोग्य कर प्रणाली सुनिश्चित गर्ने उद्देश्य विभागको छ । कर प्रशासन तथा सुधार, कर नीति तर्जुमा र कार्यान्वयन, करदाता सेवा र शिक्षा, अनुसन्धान र विकास, सूचना प्रविधि व्यवस्थापन जस्ता विषय आफ्नो कार्यादेशमा पर्ने विभागले आफ्नो वेबसाइटमा लेखेको छ । तर, करदाताको पहुँचमै नभएको विभागले वेबसाइटमा राखेको सूचना प्रविधि व्यवस्थापन, करदाता सेवा र शिक्षा जस्ता विषयले विभागलाई नै गिज्याइ रहेको छ ।

सम्बन्धित समाचार : राहदानी विभागका हाकिम र कर्मचारी सम्पर्क विहीन १ सोधपुछपछि फेरिए प्रवक्ता

Tags :
प्रतिक्रिया दिनुहोस