उडेर र गुडेर भित्रँदै सुन : सेटिङको आशङ्का, कहाँ पुग्यो अनुसन्धान ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उडेर र गुडेर भित्रँदै सुन : सेटिङको आशङ्का, कहाँ पुग्यो अनुसन्धान ?


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । फ्लाई दुबईको एफजेड ५७३ हवाई जहाजबाट बिहीबार र शनिबार राती तस्करहरूले एउटै शैलीमा सुन नेपाल भित्र्याएका छन् । तस्करले हाफ ज्याकेटको खल्तीमा फल्स बटम बनाएर सुन लिएर सहजै नेपाल आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटै शैलीमा सुन भित्रिएपछि केही समय सेलाएको सुन तस्करीको विषय फेरि चर्चामा आएको छ । सुन भित्र्याउने एउटै शैलीका पछिल्ला दुई घटनाले विमानस्थलका कर्मचारीसँगको सेटिङमा तस्करी हुन लागेको हो कि ? भन्ने आशङ्का उब्जाएको छ । अर्कोतर्फ सामान्य रूपमा हाफ ज्याकेटमा सुन बोकेर आउनुले विमानस्थलको चेकजाँच र सुरक्षालाई चुनौती दिएको छ ।

तस्करहरूको यो सोचलाई लिएर प्रहरी चकित छ । विमानस्थल प्रहरी प्रमुख, डिआइजी अर्जुन चन्द ठकुरी भन्छन्, ‘भन्सारबाट सहजै सुन पास हुन्छ वा गराउन सकिन्छ भन्ने सोचका साथ सुन बोकेर आएको देखिन्छ ।’

शनिबार राती भन्सार क्रस गरेपछि प्रहरीले इजिप्टका नागरिकलाई करिब साढे ६ किलो सुन सहित पक्राउ गरेको थियो । भन्सारबाट बाहिरिएपछि तस्कर पक्राउ पर्नुले भन्सार चेकजाँचप्रति आशङ्का उब्जाएको हो । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सुन भित्र्याउने जुन सहज तरिका देखिएको छ, यसले विमानस्थलका कर्मचारीसँगको सेटिङ थियो भन्ने आशङ्का पैदा गरेको छ ।

तर, त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भने चेकजाँचको प्रभावकारिताले सुन भेटिएको दाबी गर्छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले भने, ‘भन्सार प्रशासन जागेको छ, आफ्नो पर्फरमेन्स दिएको छ ।’ पछिल्ला घटनाले च्यालेन्ज बढाएको उनले बताए । ‘स्टाटेजी बनाएका छौँ । जनशक्ति र उपकरण थप्दै छौँ । शून्य बनाउने गरी काम भइरहेको छ,’ उनले भने ।

भन्सारबाट बाहिरिएपछि सुन र सुन ल्याउनेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा उनले भने, ‘भन्सार एरियामै पक्रेको हो । भन्सार र प्रहरीको संयुक्त टोलीकै सक्रियतामा सुन बरामद भएको हो ।’

पाँच दिनमा २९ किलो सुनसहित आठ जना पक्राउ
भन्सार नाका कमजोर भएकै कारण तस्करहरू सफल हुने गरेका छन् भने नेपाल सुन तस्करीको लागि ट्रान्जिटका रूपमा प्रयोग भइरहेको छ । पछिल्लो पाँच दिनमा करिब २९ किलो सुन बरामद भएको छ । सुन तस्करीमा संलग्न भएको आशङ्कामा तीन विदेशी नागरिकसहित आठ जना पक्राउ परेका छन् ।

बुधबार काठमाडौँको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भयो । न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा सो परिमाणमा अवैध सुन बरामद भएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पनि पक्राउ गरेको छ ।

बिहीबार राती विमानस्थलबाट करिब १४ किलो अवैध सुन बरामद भएको थियो । सुनसहित फ्लाई दुबईको उडान नं. एफजेड ५७३ बाट बाट आएका गोरखाका चन्द्र घले पक्राउ परेको थिए । उक्त सुन तस्करी कार्यमा संलग्न भएका गोरखाकै मीन बहादुर घले पनि पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा छानबिन गठन गरेको छ ।

यसैगरी नागढुंगा चेकपोस्टमा चेकजाँच गर्दा गाडीको गियर बक्स एरियामा लुकाइ बिस्कुट आकारको बनाइ ल्याइएको सुन बरामद भयो । रसुवाको केरुङ नाका हुँदै भन्सार छली सुनको तस्करी गरी काठमाडौँ प्रवेशको गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले बिहीवार दुई किलो सुन सहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नं ५ का वर्ष २६ को बिरु तामाङ, वर्ष २१ को सुनिल भुजेल र वर्ष २८ को ग्याल छिरिङ तामाङ रहेका छन् ।

शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि ६ किलो ५६५ ग्राम सुन बरामद भयो । भन्सारबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले उक्त सुन बरामद गरेको हो । सुनसँगै तीन जना विदेशी नागरिक पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुन बोकेर आएका इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन रहेका छन् । उनले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए । उनीसँगै रहेका दुई सुडानी नागरिकलाई पनि प्रहरी पक्राउ गरेको छ । अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो । फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरू काठमाडौँ आएका हुन ।

के गर्दै छ छानबिन आयोग
नेपालमा यसअघि भएका सुन तस्करीका घटनाहरूको छानबिनका लागि सरकारले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग नै गठन गरेको छ । छानबिन आयोगका अध्यक्ष एवं उच्च अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्यले छानबिनको क्रम जारी रहेको बताएका छन् ।

उनका अनुसार सुन तस्करीमा थुनामा रहेका नेपालीहरूको बयान लिने काम भएको छ । २२ जनाको बयान लिइसकेको छ । यसैगरी आइतबारदेखि विभिन्न नौ जना विदेशी नागरिकको बयान लिने क्रम शुरु भएको छ ।

आयोगले स्थलगत अध्ययन, अवलोकन तथा सुझाव लिने क्रममा केही भन्सार नाकाहरू र ती नाकासँग सम्बन्धित भन्सार कार्यालय, अध्यागमन कार्यालय, सुरक्षा निकाय, त्रिभुवन विमानस्थल स्थित अध्यागमन कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, भन्सार कार्यालय, नेपाल एयरलाइन्स, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, सुरक्षा निकायहरूको स्थलगत अध्ययन एवं छलफल र परामर्श गरेको आचार्यले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस