एनसेलको मुद्दामा भोलि सुनुवाइ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एनसेलको मुद्दामा भोलि सुनुवाइ


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । मलेसियन कम्पनी आजियटा एनसेलको सबै शेयर बिक्री गरेर बाहिरिएको छ । तर, सर्वोच्च अदालतमा पुँजीगत लाभकरसम्बन्धी एउटा मुद्दा अझै टुंगिएको छैन । ठूला करदाताको कार्यालयले एनसेलमाथि करिब ५७ अर्ब रुपैयाँ थप कर निर्धारण गरेपछि एनसेल सर्वोच्च गएको थियो । त्यसको भोलि सुनुवाइ हुँदैछ ।

सर्वोच्चको पेसीभन्दा चार दिनअगाडि आजियटा एनसेलको शेयर बेचेर हिँडेको हो । अब उक्त मुद्दाको भाँउतोबाट कम्पनी पन्छिएको छ । तर, यदि एनसेलको विपक्षमा फैसला आए के हुन्छ भन्ने स्पष्ट भएको छैन ।

आजियटाले २०७२ साल चैतमा एनसेलको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख डलर (करिब १ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी) मा स्वीडिस दूरसञ्चार जायन्ट टेलियासोनेरासँग खरिद गरेको थियो । यसरी खरिद बिक्री हुँदा कानूनबमोजिम सरकारलाई पुँजीगत लाभकर नतिरिएको भनेर सुरु भएको विवाद अहिलेसम्म पनि पूर्ण रूपमा समाधान हुन सकेको छैन । अहिलेसम्म करिब ४७ अर्ब रुपैयाँ पुँजीगत लाभकरका रूपमा तिरिसक्दा पनि मुद्दाबाट उम्किन नसकेपछि आजियटा निराश भएर हिँडेको हो ।

ठूला करदाताको कार्यालयले कम्पनीलाई थप ५७ अर्ब ९० करोड रुपैयाँ कर निर्धारण गरेपछि आजियटाले अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमेत गुहारेको थियो । तर, लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (इक्सिड) बाट पनि पार लागेन । अन्ततः सर्वोच्चको फैसला प्रतीक्षा नगरी एजियटाले सस्तो मूल्यमा एनसेल बिक्री गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस