कर्मचारीको जिम्मेवारी हेरफेर गर्न पालिका अध्यक्षको ठाडो निर्देशन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कर्मचारीको जिम्मेवारी हेरफेर गर्न पालिका अध्यक्षको ठाडो निर्देशन


१० मंसिर २०८०, आइतबार


हुम्ला । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी बिचको खटपट बेलाबेलामा सतहमा आउने गर्दछ । जनप्रतिनिधिले आफू अनुकूलको कर्मचारी खोज्ने र कर्मचारीले पनि निहित स्वार्थका लागि कानूनसम्वत् नभएका विषयमा जनप्रतिनिधिलाई सघाउने गरेका घटना सार्वजनिक भइरहेका छन् । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा परेका उजुरीहरूले पनि यसलाई पुष्टि गर्छ ।

पछिल्लो समय जनप्रतिनिधिहरूले आफू अनुकूलको कर्मचारी रोज्ने मात्रै होइन, फलानो कर्मचारीलाई हटाऊ, फलानोलाई नियुक्त गर भनेर ठाडो निर्देशन समेत दिन थालेका छन् । हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले यस्तै ठाडो निर्देशन दिएका छन् । अध्यक्ष सिंहले शिक्षा तथा खेलकुद शाखा प्रमुख मनदत्त ढकाललाई हटाई ज्ञानोदय मा.वि.मा कार्यरत शिक्षक विष्णु लाल जैसीलाई शाखाको जिम्मेवारी तोक्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका हुन् ।

ढकालको काम तथा कार्यालय सञ्चालनमा गैरजिम्मेवारी, विभेदपूर्ण र पालिकाभित्र द्वन्द्व निम्त्याउने खालको भएकाले निजलाई हटाइ जैसीलाई शाखाको जिम्मेवारी तोक्न प्रमुख प्रशासकीय अधिकृतलाई दिएको निर्देशनमा उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिमन थापा मगरले निर्देशन सहितको पत्र आएको, तर त्यसबारे कुनै निर्णय नभएको जानकारी दिए । उनले भने, ‘म बिदामा छु । बिदामा भएकाले कुनै निर्णय लिइसकिएको छैन ।’

अध्यक्ष सिंहले उक्त निर्देशन मंसिर ५ मा दिएका थिए । त्यसो त उनले यसअघि पनि शिक्षा युवा तथा खेलकुद शाखाले कामकाज गर्दा कुनै समन्वय नगरी आफू खुसी गर्ने गरेको भन्दै जैसीलाई उक्त शाखाको कामकाज गर्ने गरी जिम्मेवारी तोकेका थिए । २०७९ फागुन १४ मा गाउँपालिकाको नियमानुसार स्थानीय शिक्षा ऐन २०७५को दफा २९ (२) अनुसार जैसीलाई अर्को व्यवस्था नभए सम्मको लागि शाखा प्रमुखको रूपमा काजमा कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको थियो । 

शिक्षा तथा खेलकुद शाखा प्रमुख मनदत्त ढकालले भने, ‘बेला बेला उहाँ (अध्यक्ष)ले त्यो खालको निर्णय गर्नुहुन्छ । यसअघि पनि सोही व्यक्तिलाई जिम्मेवारी दिनु भएको थियो ।’ ढकालले २०७८ पुसमा पालिकामा हाजिर भएको र शिक्षा तथा खेलकुद शाखा स्थापना गरेर काम गरिरहेको बताए । ढकालले आफूले कुनै गलत कार्य नगरेको बताइरहँदा अध्यक्ष सिंह भन्छन्, ‘कर्मचारीले स्थानीय सरकारको मातहतमा रहेर काम गर्ने हो, सेवा दिने हो, अराजकता देखाएर हुन्छ ।’

अदानचुदी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मनऋिषी पाण्डे जैशीले शिक्षा ऐन ल्याउन नसकेको, छिमेकी पालिकाको रफ्तारमा काम गर्न नसकेको, अनुगमन गर्ने लगायतका कार्य नगरेका कारण ढकाललाई जिम्मेवारीबाट हटाउनु परेको जानकारी दिए । तर, ऐन, नीति नियम बनाउने र पालिकामा भएका कामकारबाहीको अनुगमन गर्ने काम जनप्रतिनिधिको भएको कर्मचारी बताउँछन् ।

जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले तोक आदेशमा एउटा कर्मचारी हटाएर अर्को कर्मचारी खटाउन उचित नहुने प्रतिक्रिया दिए । व्यक्तिगत निर्णयबाट भन्दा पनि पालिकाको निर्णयबाट कर्मचारीको जिम्मेवारी हेरफेर गर्नुपर्ने शर्माले बताए । उनले भने, ‘घटनाबारे मैले सबै बुझ्न भ्याएको छैन । अध्यक्षले यसरी तोक लगाएर मनोमानी गर्न पाइँदैन ।’

प्राविधिक सहायक पाचौं तहका ढकाल कर्णाली प्रदेश सरकारले सिफारिसमा अदानचुली गाउँपालिकामा खटिएका हुन् । पालिकामा विद्यालय निरीक्षक आउँदा उनी स्वतः हट्नु पर्ने हुन्छ । तर, हटाउनका लागि अध्यक्षले दिएको निर्देशनले कर्मचारी र जनप्रतिनिधि बिच झन् असमझदारी र द्वन्द्व बढाउने देखिन्छ । 

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मी देवी पाण्डेले जनप्रतिनिधिहरू व्यक्तिगत रूपमा कुण्ठित भएर निर्देशनात्मक रूपमा उत्रनुभन्दा पनि छलफलबाट समस्या समाधानको लागि जिम्मेवारी हेरफेर गर्न सकिने बताइन् । उनले भनिन्, ‘कर्मचारी र जनप्रतिनिधि बिच नङ मासुको सम्बन्ध हुनुपर्छ । मिलेर जनताको सेवा गर्नु पर्छ । कसैको पनि मनोबल गिराउने गरी काम गर्नु हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस