छुवाछूतको कसुरमा वडाध्यक्षलाई साढे ४ महिना कैद « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

छुवाछूतको कसुरमा वडाध्यक्षलाई साढे ४ महिना कैद


७ मंसिर २०८०, बिहिबार


कास्की । जिल्ला अदालत कास्कीले जातीय विभेद तथा छुवाछूतको कसुरमा पोखरा महानगरपालिका–२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

वडा सदस्य मैया नेपालीले आफूलाई जातीय विभेद र छुवाछुत गरेको भन्दै अधिकारीविरुद्ध जाहेरी दिएकी थिइन् । सोही मुद्दामा न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार उक्त फैसला गरेको हो । नेपालीलाई अधिकारीले १० हजार रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसलामा उल्लेख छ ।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ बमोजिम अदालतले सजाय तोकेको हो । उक्त ऐनमा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था ऐनमा छ । कसुरदारले पीडितलाई क्षतिपूर्ति समेत भराउनुपर्छ ।

सोही व्यवस्थाअनुसार थप सजायसहित साढे ४ महिना कैद, ७५ हजार रुपैयाँ जरिवाना र जाहेरवालालाई १० हजार रुपैयाँ क्षतिपूर्ति भर्न आदेश भएको हो । अदालतले ३ महिना कैद र ५० हजार जरिवाना तोके पनि अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले थप ५० प्रतिशत सजाय भएको हो ।

नेपालीले जिल्ला प्रहरी कार्यालय कास्कीमा २०७९ पुस २४ मा जाहेरी दर्ता गराएकी थिइन् । अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।

सम्बन्धित समाचार : धरौटीमा छुटे जातीय छुवाछुत तथा दुर्व्यवहारका आरोपी वडाध्यक्ष अधिकारी

Tags :
प्रतिक्रिया दिनुहोस