धरौटीमा छुटे जातीय छुवाछुत तथा दुर्व्यवहारका आरोपी वडाध्यक्ष अधिकारी « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

धरौटीमा छुटे जातीय छुवाछुत तथा दुर्व्यवहारका आरोपी वडाध्यक्ष अधिकारी


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । जिल्ला अदालत कास्कीले जातीय छुवाछुत तथा दुर्व्यवहार आरोपमा पक्राउ परेका वडाध्यक्ष भरतबहादुर अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश ऋषिराज आचार्यको एकल इजलासले शुक्रबार भएको थुनछेक बहसपछि पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई छाड्न आदेश दिएको हो।

वडाध्यक्ष अधिकारीले पुस १८ गते कास्कीकोटमा आयोजना गरेको महिला भेलामा आफूलाई जातीय विभेदका साथै दुर्व्यवहार गरेको भन्दै दलित महिला सदस्य मैंया नेपालीले पुस २४ गते कास्की प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरी दर्तासँगै सम्पर्कविहीन बनेका वडाध्यक्ष अधिकारी पुस २६ गते आफैँ प्रहरी कार्यालय पुगेका थिए।

पटक-पटक विभेदजन्य शब्द प्रयोग गरेर गालीगलौज गर्ने र सार्वजनिक स्थानमै दुर्व्यवहारपूर्ण व्यवहार गरेको वडा सदस्य नेपालीले जाहेरीमा उल्लेख गरेकी छन्। 

वडाध्यक्ष अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक १० दिन समय दिएको थियो। प्रहरीले अनुसन्धान प्रतिवेदनसहित जिल्ला अदालतमा अभियोग दर्ता गरेको थियो। 

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत दर्ता भएको अभियोग पत्रमा वडाध्यक्ष अधिकारीलाई जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव ऐन अनुसार कारबाही गर्न माग गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस