सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन : गृहमन्त्री श्रेष्ठ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन : गृहमन्त्री श्रेष्ठ


२६ कार्तिक २०८०, आइतबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरूका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताएका छन्।

आइतबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १९ औँ बैठकलाई सम्बोधन गर्दै उनले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरूका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको स्पष्ट पारेका हुन्। उनले आफूहरूले भूकम्पपछि कत्ति पनि ढिलो नगरी त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्यांकेट र खाद्यान्नहरू पठाएको र पठाउने क्रम जारी रहेको बताए।

उनले सरकारसँग भएको साधन र स्रोतका अनुसार राहत पठाइरहेको बताए। ‘हामीले एक क्षण, एक सेकेन्ड ढिलो नगरीकन हामीले पठाउन सकिने सम्पूर्ण त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्यांकेट, खाद्यान्नहरू पठाइराखेका छौँ। राहतमा हाम्रो ध्यान गएको छ। हामीले हाम्रो साधन, स्रोतले सामानहरूको हकमा हामीले व्यवस्था गरेका छौँ तर पुर्‍याउने साधन त चाहियो,’ उनले भने।

सवारीसाधन पुग्ने बाटोहरू नहुँदा एक दिनमा पुर्‍याउन कठिन भएको उनले बताए। ‘स्काइ भ्यान प्रयोग गरे पनि सुर्खेतसम्म जान्छ। सबै ठाउँमा जाँदैन। सुर्खेतबाट क्यारी गर्नै पर्‍यो। सरकारले जतिसुकै तदारुकता देखाएपनि एकैचोटी पहिलो दिन सबै ठाउँमा त्रिपाल, सबै ठाउँमा म्याट्रेस, सबै ठाउँमा ब्यांकेट पुर्‍याउन सक्ने स्थितिमा हुँदैनौँ,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस