राजनीतिक परिवर्तन भएपनि आर्थिक रूपान्तरण भएन : अध्यक्ष नेपाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजनीतिक परिवर्तन भएपनि आर्थिक रूपान्तरण भएन : अध्यक्ष नेपाल


६ आश्विन २०८०, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, राजनीतिक परिवर्तन भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण हुन नसकेको दोहोर्‍याएका छन् ।

समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा नेपालले समाज, आर्थिक र सांस्कृतिक रूपान्तरणविना देशले विकास सम्भव नभएको भन्दै यसमा गम्भीर हुन आवश्यक भएको बताए ।

उनले भने, ‘सामाजिक, आर्थिक र सांस्कृतिक यी तीन वटै क्षेत्रको रूपान्तरण विना देशले विकास गर्न सक्दैन । हामीले परिकल्पना गरेको समाज निमार्ण गर्न सक्दैनौ । राजनीतिक परिवर्तन त भयो तर आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गर्न बाँकी छ । सोच र आँट हुनुपर्छ, असम्भव केही पनि छैन तर सोच, सङ्कल्प छैन भने त्यस्तोले केही गर्न सकिँदैन् ।’

त्यस्तै उनले अझै पनि सामाजिक न्याय र समानताका सवालमा धेरै चुनौती भोग्नु परेको भन्दै त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए ।

‘हाम्रो देशमा अझै पनि ठूलो समस्या सामाजिक न्याय, सामाजिक समानताको छ । सामाजिक न्याय र समानता नपाएर सहज रुपमा मानव जीवन जिउन नपाएर अरूबाट पीडा सहन पर्ने अवस्थामा रहनु पर्ने कारणले कसरी मानव जीवनलाई राम्रो बनाउने। ’ उनले भने ‘सुखी नेपालीको कल्पनालाई कसरी सफल पार्ने, न्याय कसरी दिने यो सन्दर्भमा धेरै पक्ष रहेको हुन्छ र त्यसमा सरोकारवाला व्यक्ति र संस्थाको ध्यान जानु आवश्यक हुन्छ ।’

उनले जनताको जीवन परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको कुनै औचित्य नरहेको तर्क गरे । ‘जनताको जीवनमा परिवर्तन भएन भने, जनताको जीवन सुखी हुन सकेन भने राजनीतिक परिवर्तनको कुनै अर्थ रहदैँन् । त्यसकारणले पनि कसरी जनताको हितमा काम गर्ने, जनतालाई कसरी यो देशको मालिक बनाउने त्यसको बारेमा संविधानमा त लेखेका छौँ तर त्यसलाई कार्यान्वयन गर्ने ठूलो चुनौती छ ।’ उनले भने ।

मौलिक हकमै व्यवस्था गरिएका कतिपय सवाल समेत व्यवहारमा ल्याउन नसकिएको भन्दै उनले विकासको लहर ल्याउन विदेश जाने युवाहरूलाई रोक्न जरुरी रहेको बताए । ‘हामीले शिक्षा, स्वास्थ्य र रोजगारी जनताको मौलिक अधिकार हो भनेका छौ । तर त्यही कुराएर राज्यले उपलब्ध गराउन सकेको छैन । रोजगारीको अभावमा युवाहरू विदेश जाने लहरमा छन् । देशमा कसरी विकासको लहर कसरी ल्याउन सकिन्छ त्यो महत्त्वपूर्ण कुरा हो । विगतमा भएको कमी कमजोरीहरूलाई स्वीकार गर्ने हो भने भविष्यमा त्यो गल्ती दोहोरिदैँन ।’

Tags :
प्रतिक्रिया दिनुहोस