मृत्यु महोत्सव « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मृत्यु महोत्सव


१ आश्विन २०८०, सोमबार


घाँटीमा अड्किएको
अन्तिम घुट्की जलसँगै
घिटीघिटी एक मुठ्ठी सास
थामियो एकाएक
फिरेन फेरी।

डम्म भरिए बादल लोचनमा
धरमराए नेत्रहरू
अचेत भए चेतना क्षणभरमै
तन्किए तन्तुहरू
अनि ढल्यो गर्लम्म
सतिसालझैँ यो देह।

खाएँ हार, भएँ पराधीन
गरेँ समर्पण शाश्वत मरणसामु
पाएँ आफ्नै शरीर निर्जीव पार्थिव
नबौरिने अलौकिक चीर समाधिमा
तम्तयार यात्री इह लोक पथमा।

अनि भो जगत बिरानो।
अनि भो आत्म बोध जीवनको।
अनि भो तत्त्व बोध जगतको।
अनि भएँ खडा ब्रम्हलीन गवाह
आफ्नै मृत्यु-महोत्सवको।

गरियो अबिर जात्रा
ढाकियो ढकमक्क पुष्पाञ्जलीले
बेरियो पीत वस्त्रालङ्कारमा
राखियो बाँसको नयाँ घरमा
मरेको शरीर मेरो।

न सकेँ लिन वासना फूलको
न सुहाए ती वस्त्र नै
न भय, न त लाज लोकको
तयार चढाउन चितामा
मरेको लास मेरो।

रोए ती
थिए हितैषी मेरा जो
खसाले आँसु तिनले पनि
हाँस्दथे पिडामा मेरा जो
झुम्मिए ती पनि
भाग्दथे उदासीनतामा मेरा जो

मुसार्दथे ती पनि
दुरदुर तर्किन्थे जो
दुःखी थिए ती पनि
खुसीयालीमा तर्सिन्थे जो।

छाती पिटीपिटी रोए
सुकसुकाउँदै रोए
अस्रुधारा बहाएर रोए
मन थामेर रोए
डाँको छोडी छोडी रोए
लाज लजाएर रोए।

ओहो!
टाढिएकाबाट नजिकिन
बिछोडिएकासँग मिलन हुन
फ्याँकिएकाबाट सामिप्यता पाउन
चिथोर्नेबाट मलम लाउन
सराप्नेकै आशीर्वाद थाप्न
देह त्याग पो गर्नु पर्दो रहेछ।
प्राणहीन पो हुनु पर्दो रहेछ।

कहिल्यै फुर्सद नपाउने प्रिय छोरा
तिमीले आराम पाउन पनि
म मर्नु पर्‍यो है!

जम्का भेटमा मुन्टो बटार्ने प्यारा आफन्त
नजर जुधाउन पनि
म मर्नु पर्‍यो है!

असीम घृणा ओकल्ने प्रियतमा
मैले माया पाउन पनि
म मर्नु पर्‍यो है!

अन्ततः
छोयो न शोकले न त भोकले
पछ्यायो न लोभले न त मोहले
न रह्यो वेदना न त प्रसन्नता नै
न भयो तप न त जप नै
बालेर राँको झोसीझोसी
बाँसको घाराले घोचीघोची
अग्निको प्रज्वलन लप्कासँगै
बनाए खाक प्रिय लास मेरो
मनाए मृत्यु महोत्सव मेरो।

प्रतिक्रिया दिनुहोस