बिचौलिया रोक्न भन्दै सामान्यको ढोकामा ‘इन्ट्रि सिष्टम’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बिचौलिया रोक्न भन्दै सामान्यको ढोकामा ‘इन्ट्रि सिष्टम’


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । पछिल्लो समय सरुवा मन्त्रालयका रूपमा परिचित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इन्ट्रि सिष्टम शुरु गरेको छ । कर्मचारीको सरुवामा बिचौलिया हाबी हुन थालेसँगै मन्त्रालयभित्र प्रवेश गर्दा कामबारे खुलाएर नाम दर्ता गर्नुपर्ने व्यवस्था गरेको हो । यससँगै मुख्य प्रवेशद्वारमा रहेका दुई वटा ढोकामध्ये एकापट्टि बन्द गरेर एउटाबाट मात्रै प्रवेश सिष्टम बनाइएको छ । 

कर्मचारीको सरुवा सिष्टमले भन्दा पनि बाहिरका इन्ट्रेष्ट ग्रुपहरू हाबी हुने गरेको र हरेक दिन मन्त्रालयमा आएर कर्मचारीलाई सरुवाका लागि दबाब दिने क्रम बढेसँगै मन्त्रालयले यो जुक्ति अपनाएको हो । 

कर्मचारी नै सेवाग्राही रहेको सामान्य प्रशासनमा कर्मचारी भन्दा धेरै नेता तथा कार्यकर्ताहरूको भिड लाग्ने गरेको छ । पछिल्लो समय सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरू कर्मचारीको सरुवाका लागि आउने गरेका छन् । एउटै कर्मचारीका लागि एउटा ग्रुप सरुवा गर्न आउने र लगत्तै अर्को आएर बदर गराउनेतिर लाग्दा मन्त्रालयका कर्मचारी चेपुवामा पर्ने गरेका घटनाहरू हरेक जसो दिन मन्त्रालयमा देख्न पाइन्छ । त्यति मात्रै होइन, सरुवा खेती मात्रै गर्दै हिँड्ने अर्को थरी बिचौलिया ग्रुप पनि सिंहदरवारको चौघेरा भित्रै घुमिरहेको भेटिन्छन् । 

यद्यपी नेताहरु नै बोकेर जाने कर्मचारीहरुको संख्या पनि पछिल्ला दिनहरुमा कम देखिँदैन ।

हुन त खास खास कर्मचारी सरुवाको सूची सिंहदरवार भित्र नभई बाहिर क्याफे, रेष्टुरा तथा होटेलहरूमा बन्ने गरेको गुनासो नयाँ होइन । विभिन्न ठाउँबाट टिपटाप पारेको सूची दर्जनौँ पटक परिवर्तन हुने मात्रै होइन, प्रणाली भन्दा बाहिरका व्यक्तिहरूले ठोकुवा गरेका कर्मचारी पछिल्लो दिन त्यही ठाउँमा पोष्टिङ हुनु र अघिल्लो दिन सूचीमा एउटा निकायमा रहेको कर्मचारी पछिल्लो नियुक्ति बुझ्दा अर्कैतिर पर्नुले पनि कर्मचारी सरुवामा अश्वभाविक चलखेल रहेको प्रष्ट हुने एक उच्च अधिकारी बताउँछन् ।  

सरुवासँगै कर्मचारीको सुरक्षालगायत पक्षहरूलाई मध्यनजर गरेर पनि सोधपुछ शुरु गरिएको अधिकारीको भनाई छ । 

मन्त्रालयको सुरक्षामा खटिएका प्रहरीले कुन महाशाखा, शाखा वा कर्मचारीसँग के कति कामका लागि भेट्न खोजेको हो भन्ने खुलाएर नाम दर्ता हुनेछ । 

मन्त्रालयको मूल ढोकामा परिचयपत्र हेरेर मात्रै प्रवेश दिने र परिचयपत्र नभएकालाई नाम नै दर्ता गराएर मात्रै प्रवेश दिन थालिएको मन्त्रालयका अधिकारीले प्रशासनलाई जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस