जातीय विभेद गर्नेमाथि हदैसम्मको कारबाही गर्न सांसदको माग « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

जातीय विभेद गर्नेमाथि हदैसम्मको कारबाही गर्न सांसदको माग


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । दलित समुदायबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदले जातका आधारमा हुने अपराधमा संलग्न दोषीलाई हदैसम्मको कानूनी कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठक अवरुद्ध भइरहेका बेला प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलित समुदायका १५ जना सांसदले सोमबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय जातीय भेदभाव र छुवाछुतका कारण भइरहेका ज्यादतीपूर्ण घटना सिङ्गो देशका लागि चुनौतीको रूपमा देखा परेको बताएका हुन् ।

उनीहरूले जुम्लाको तातोपानी-४, गिडीखोलाका मुकेन्द्र नेपालीको घरमा आगजनी गरेको घटना सेलाउन नपाउँदै शृंखलाबद्ध रूपमा भेदभावपूर्ण घटना भइरहेको भन्दै त्यस्तो शिलशिलाले संविधान, प्रचलित कानुन र नेपाल सरकारको उपहास गरेको बताएका छन् ।

सांसद आशा विक, अनिशा नेपाली, ईश्वरबहादुर रिजाल, चन्द्रबहादुर विश्वकर्मा, छविलाल विश्वकर्मा, जीवन परियार, प्रभुहजरा पासवान, रुक्मणी राना बराइली, रूपा विश्वकर्मा, सन्तोष परियार, सीता मिजार, शान्ति विक, शिव नेपाली, रणेन्द्र बराइली र हर्कमाया विश्वकर्माले संयुक्त विज्ञप्ति जारी गर्दै बझाङको बित्थडचिर गाउँपालिका-७ का पुड्के ओखेडाले बनाउँदै गरेको घर गाउँले जम्मा भएर भत्काइदिएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जातीय भेदभावकै कारण भर्खरै मात्र बझाङको वित्थडचिर गाउँपालिका-७, स्यालढुङ्गाका पुड्के ओखेडाले आफ्नै हकभोगको जग्गामा बनाउँदै गरेको घर भत्काउनुका साथै मकै बाली नष्ट गरिएको थियो । पुड्के ओखेडाले गैरदलित समुदायको बस्तीमा घर बनाएको भन्दै स्थानीय भवानी जोशी, कृष्ण जोशी, नन्दलाल जोशीलगायतका ३०–३५ जनाले उक्त आपराधिक घटना घटाएको देखिन्छ ।’ सांसदले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले विज्ञप्तेमार्फत नै जातीय भेदभावको मानसिकताका कारण भइरहेका अमानवीय घटनाप्रति सशक्त निन्दा र भर्त्सनासमेत गरेका छन् । ‘नेपालको संविधानमै जातीय छुवाछुतजन्य व्यवहार निषेधित छ । त्यसलाई कानुनले थप अपराधको रूपमा दण्ड सजायको व्यवस्था गरेको छ,।’ विज्ञप्तिमा उल्लेख छ ।

थप भनिएको छ, ‘नेपालको संविधान २०७२ ले जातीय भेदभावजन्य कार्यलाई अपराध घोषणा गरिसकेको अवस्थापछि पनि सयौँ गम्भीर अपराधका घटना व्यापकरूपमा भइरहेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता आततायी कार्यप्रति सशक्त निन्दा तथा भर्त्सना गर्दछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस