डुलाउँदा डुलाँउदै बिलायो सहसचिवको सरुवा सूची ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डुलाउँदा डुलाँउदै बिलायो सहसचिवको सरुवा सूची !


३ श्रावण २०८०, बुधबार


काठमाडौँ । पछिल्लो समय कर्मचारी सरुवाकै कारण सर्वाधिक चर्चामा रह्यो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । प्रायः हरेक दिन जसो कुनै न कुनै तहको सरुवा भई रहने मन्त्रालयले पठाएको सहसचिवको सरुवा फाइल भने सदर नहुँदै बिलाएको छ । 

करिब एक महिना अघि निर्णयार्थ पेश भएको फाईल कैयू पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर त्यति नै पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थप्ने घटाउने काम भयो । अन्तिम सूचीमा निजामती कितावखानाका महानिर्देशक टोकराज पाण्डेसहित डेढ दर्जन सहसचिवको सरुवाका लागि टिप्पणी उठ्यो तर आजका दिनसम्म फाइलकै अत्तोपत्तो छैन । अन्तिम पटक १६ जना सहसचिवको नाम उल्लेखित पातो अहिले कहाँ र कुन अवस्थामा छ भन्ने कुरा कसैलाई अत्तोपत्तो छैन । सरुवा सूचीमा समावेश छन् भनिएका हरु खोइ भन्दै यत्रतत्र भौतारिएर हिंडेका देखिन्छन् । 

त्यसो त यसअघि पनि विशेष गरी सहसचिवको सरुवामा निकै ठूलो चलखेल र रस्साकस्सी हुँदै आएको छ । मिलाउने नाममा दशौं पटक सम्म यताउति ठेलिएका नामहरु पनि ताजै छन् तर रस्साकस्सी यतिबेला सम्म आईपुग्दा तपसिल बजोजिमको सूची भनेर टिप्पणी उठेको महिनौ दिनपछि आफै विलाएर जाने अवस्थामा पुगेको छ । 

नियमित प्रक्रियाका रुपमा लिइने सरुवा यो अवस्थासम्म आईपुग्नुमा अनावश्यक चलखेल(आर्थिक तथा राजनीतिक) नै मुख्य कारकका रुपमा लिईदै आइएको छ । आवश्यक मापदण्ड भन्दा पनि कसले कहाँबाट पेलाउन सक्यो, त्यही सिकन्दर बन्ने गलत अभ्यासले स्थायी सरकारसमेत भनिने कर्मचारी त अस्थिर बन्यो नै, योग्यताको मानक नै अर्कै बनिदियो । जसका कारण मालदार भनिएका महाशाखा र अड्डामा जान मारामार हुन थाल्यो । अर्कोतर्फ सोर्सफोर्स नहुने कर्मचारी यथास्थानमै तथास्तु बन्न पुगे भने कहिँले काही त साँढेको जुधाईमा बाच्छाको मिचाई झै तत्कालको व्यवस्थापनका नाममा कहिँ कतै जी हजुरी गर्न नपुग्ने कर्मचारी हुत्याइमा पर्न थालेका छन् । 

विशेष गरी प्रशासनिक संयन्त्र भन्दा बाहिरको फोर्सले काम गर्दा यो अवस्था आई लागेको हो । जसलाई प्रधानमन्त्री र मुख्य सचिवले मात्रै ट्र्याकमा ल्याउन सक्ने अवस्थामा पुगेको छ । जुनसुकै पनि राजनीतिक नेतृत्वलाई सघाउनु कर्मचारीको धर्म हो तर जो आयो उसको फेरोमा लुटपुटिनुले कदापी निश्पक्ष सेवा दिन सक्दैन । जुन कुरा आम निजामती कर्मचारीमाझ घाम जतिकै छर्लङ्क छ । विशेष गरी को कर्मचारीलाई कहाँ पठाउँदा के कति परिणाम ल्याउन सकिन्छ भन्ने कुराको जानकारी मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई भन्दा बढी अरुलाई हुने कुरो भएन । यसर्थ आफू हुनुको महसुस यदी कर्मचारीलाई गराउने हो भने अनेकथरी सोर्स फोर्स र बोलकबोल भन्दा ठीक ठाउँमा ठीक व्यक्तिलाई पठाएर सरकारलाई नतिजामूखी बनाउन सघाउनुमै भलाई छ । 

यदी हिजोकै पथ पछ्याउँदै जाने हो भने राजनीति र नागरिक दुबैस्तरबाट आलोचित नै भईरहनु पर्नेछ । आफै विधि बनाउने र आफ्नालाई मिलाउनु परे त्यसैलाई लत्याउने गर्न थालियो भने त्यसले भोली आफैलाई खाल्टोमा हाल्नेतर्फ समयमै सजग भईएन भने काँध थाप्ने त परैको कुरा राम राम भन्न समेत नपाउने तर्फ हेक्का राख्न जरुरी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस