मिटरब्याजसम्बन्धी विधेयक अर्को बैठकबाट पास गर्ने तयारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मिटरब्याजसम्बन्धी विधेयक अर्को बैठकबाट पास गर्ने तयारी 


२५ असार २०८०, सोमबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधि सभाको अर्को बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुने बताएकी छन् । 

उनले सोमबारको बैठकमा सो विधेयक पेश गर्ने कार्यसूची भएपनि प्रधानमन्त्रीले सम्बोधनका गरेकोले ढिला भएका कारण अर्को बैठकका लागि सारिएको बताइन् ।

‘बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो, यसबाट प्रतिनिधिसभामा रहेको अवरोध खुलेको छ, यो नै राम्रो कुरा भयो,’ उनले भनिन्, ‘आजको कार्यसूचीमा रहेका मिटरब्याजसम्बन्धी कानूनमात्रै होइन, अरु पनि कार्यसूचीहरू स्थगित गरिएको छ । मिटर ब्याजसम्बन्धी विधेयकको हकमा अर्को बैठकमा पेश हुन्छ, र पास हुन्छ ।’

मिटर ब्याज पीडितहरूले महिनौँसम्म काठमाडौँका सडकमा धर्ना र सङ्घर्ष गरेपछि सरकारले अध्यादेशमार्फत कानून संशोधन गरी मिटर ब्याजलाई अनुचित लेनदेनकारुपमा दण्डनीय हुने प्रबन्ध गरी जाँचबुझ आयोगमार्फत् काम अघि बढाएको थियो । तर, सरकारले जारी गरेको अध्यादेशलाई प्रतिनिधि सभाबाट प्रतिस्थापन गर्ने विधेयक पेश गर्ने कार्यसूची रहेकै दिन प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध भएपछि अध्यादेश निष्क्रिय भएको थियो ।

सरकारले सो प्रतिस्थापन विधेयकलाई अब विधेयककैरुपमा अघि बढाउने निर्णय गरिसकेको छ भने प्रतिपक्षी दलहरूले समेत त्यससम्बन्धी विधेयक तत्काल पास गर्नुपर्नेमा प्रतिबद्धता जाहेर गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस