कानुन व्यवसायीले आज बन्दीप्रत्यक्षीकरण बाहेक मुद्दामा बहस नगर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कानुन व्यवसायीले आज बन्दीप्रत्यक्षीकरण बाहेक मुद्दामा बहस नगर्ने


१८ असार २०८०, सोमबार


काठमाडौँ । नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा आज (सोमबार)देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ ।

गत असार १३ गते जिल्ला अदालत ललितपुरका नासु प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेका थिए । सोही विरोधमा बारले आज देशभरको अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने घोषणा गरेको हो ।

आइतबार नै नेपाल बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो । यो विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछानेलाई आइतबार नै साधारण तारेखमा रिहा गरेको थियो ।

ललितपुर बार एशोसिएसनका अध्यक्ष श्रेष्ठले लामिछाने रिहा भए पनि आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने र विरोध सभा गर्ने बताए । ललितपुर जिल्ला अदालत अगाडि आज बिहान ११ बजे विरोध सभा आयोजना गरिएको उनले जानकारी दिए ।

कर्मचारीमाथि कानुन व्यवसायीले आक्रमण गरेको भन्दै विरोधस्वरुप आइतबार देशभरका अदालतका कर्मचारीहरूले आन्दोलनस्वरुप ३ घण्टा काम नगरी विरोध जनाएका थिए ।

लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस