रोजगारसँगै ढुक्कको यात्रा : घट्दो बजेट, बढ्दो चिन्ता ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रोजगारसँगै ढुक्कको यात्रा : घट्दो बजेट, बढ्दो चिन्ता !


१८ असार २०८०, सोमबार


काठमाडौँ । दोलखाको कालिञ्चोक ४ का वीरबहादुर थामी आजभोलि ढुक्क भएर यात्रा गर्दछन् । सदरमुकाम आउँदा जाँदा मात्रै होइन, पालिका भित्रकै यात्रामा पनि उनलाई सडकै कारण कुनै समस्या हुँदैन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालिकाका गोरेटो तथा मोटर बाटोमा सोलिङ गर्ने काम भएपछि थामीसँगै स्थानीयको यात्रा सहज भएको हो ।

‘विगतका वर्षमा बर्खाको समयमा बाटो चिप्लो हुने, सवारीसाधन फस्ने समस्या हुन्थ्यो अहिले यस्तो समस्या छैन ।’ थामीले भने, ‘अप्ठ्यारो ठाउँ, घुम्ती, उकालो र ओरालोमा सोलिङ गरेका छौँ । सदरमुकाम आउन जान सहज भएको छ ।’ मोटर बाटो सोलिङ गरेपछि थामीलाई मात्रै होइन सबै स्थानीयलाई यात्रामा सहज भएको छ ।

कालिञ्चोक गाउँपालिका अधिकांश उच्च पहाडी भागमा फैलिएको छ । यहाँको भौगोलिक अवस्थिति भिरालो छ । भिरालोका भएका कारण यहाँका बाटाहरू पनि उकालो ओरोलो छन् । सडकका अप्ठ्यारा ठाउँमा सोलिङ गरेपछि बर्खाको समयमा सास्ती खेप्नु पर्ने समस्या समाधान भएको छ । कालिञ्चोक गाउँपालिका वडा नं. ७ का अध्यक्ष राम बहादुर पाण्डेका अनुसार सडक सोलिङलाई प्राथमिकतामा राखेर काम गर्ने गरिएको छ ।

अप्ठ्यारो ठाउँमा सोलिङ नगर्दा दुई दिनसम्म बाटो बन्द हुने समस्या थियो । गाडी फस्थ्यो रोकिनु पर्थ्यो । तर, अहिले अहिले त्यो खालको समस्या छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमले समस्या समाधानसँगै रोजगारी पनि प्राप्त भएको थामीले बताए । उनले प्रधानमन्त्री रोजगारबाट प्राप्त भएको पारिश्रमिकले जीविकोपार्जनमा सहजता भएको बताए । 

‘विकास पनि भयो । गाँस पनि जुट्यो ।’ उनले भने, ‘ सय दिन मात्र नभएर वर्षभरि रोजगारी थप पाएमा राम्रो हुने थियो ।’

थामी मात्रै होइन, कालिञ्चोक, ४ नरमी टोलका कृष्णबहादुर दर्जी (४८)लाई पनि बाटोमा सोलिङ भएपछि सदरमुकाम आउजाउ र पालिकामा यात्रा गर्न सहज भएको छ । ‘आफू हिंडने बाटो बनाएपछि टाइममा जानी टाइममा आउनी हुँदो रहेछ । पहिले बर्खामा कति बन्द हुन्थ्यो बाटो, अहिले बन्द हुँदैन गाडी पनि फस्दैनन् ।’ दर्जीले भने, ‘पोखरे, बाबिरे, कालिञ्चोक वडा नं. एक जाने बाटो बनायौँ । सदरमुकाम जान पनि सजिलो भएको छ ।’

प्रधानमन्त्री रोजगारमा आबद्ध भएपछि प्राप्त भएको पारिश्रमिकले साझँबिहान हातमुख जोर्न सहज भएको दर्जी बताउँछन् । उनले पनि यो वर्ष ९० दिन प्रधानमन्त्री रोजगारमा काम गरेका छन् । सडक सफाई गर्ने, कुलो सफाई, बाटो सोलिङ गर्ने र सिँढी बनाउने काम उनले गरेका छन् । गोरेटो र मोटर बाटोमा सोलिङ गरेका कारण बर्खामा हिँडडुल गर्न सहज भएको उनको भनाइ छ ।

९० दिन प्रधानमन्त्री रोजगारमा आबद्ध भए पनि बाकी बाँकी दिन उनको खेतीपातीमै बित्छ । मेरो सम्पत्तिको अन्नबालीले ३÷४ महिना खान पुग्छ । यो कार्यक्रम आयो भने फेरि पनि बालबच्चा पाल्न सजिलो हुने उनको आश छ ।

कालिञ्चोक, ४ गिठिनी बञ्चरेका कृष्णबहादुर पाण्डे (५६)ले भने, ‘दिनभर गोरेटो बाटो बनाउने, अप्ठ्यारो स्थानमा सिँढी लगाउने, सोलिङ गर्ने काम गर्छु । दिनभर कमाई ग¥यो बेलुका आयो खायो । के गर्नु जिन्दगी पाल्नु परी गो ।’ प्रधानमन्त्री रोजगार कार्यक्रमले जीविकोपार्जनमा सहजता भएको उनले बताए । 

टोल विकास समिति मार्फत काम

कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ मा ५ वटा टोल विकास समिति रहेका छन् । टोल विकास समितिमार्फत आएका योजनाहरूलाई प्राथमिकतामा राखेर योजना छनोट गर्ने गरिएको छ । जसका कारण स्थानीयले अपनत्व गरेका छन् भने आफ्ना योजना आफैँ छनोट गर्न पाउँदा सन्तुष्ट पनि छन् ।

वडा नं. ७ का अध्यक्ष पाण्डेका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा कार्यालयको कम्पाउन्ड बनाउने काम भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा टोल विकास समितिले सिफारिस गरेका योजना र श्रमिकहरूले प्राथमिकता पाउने गरेको उनले बताए ।

सामाजिक सुरक्षा भत्ता पाएका र अपाङ्गता भएकाहरू रोजगार कार्यक्रममा समावेश गरिएको छैन । तर, ६० वर्षभन्दा कम उमेरका एकल महिलाहरू कार्यक्रममा सहभागी छन् । प्रधानमन्त्री रोजगार अन्तर्गत नै सामग्री खरिद गर्न सक्ने हो भने अझ प्रभावकारी हुने उनको भनाइ छ ।

प्राथमिकतामा सडक पूर्वाधार

कालिञ्चोक गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अधिकांश योजनाहरू सडकसँग सम्बन्धित रहेका छन् । आर्थिक वर्ष २०७९/८० मा सडकतर्फ २५ बढी योजनाहरू रहेका छन् । यसैगरी २०७८÷७९ मा करिव ४१ वटा योजना सडकसँग सम्बन्धित रहेका छन् ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद सिवाकोटीले पालिकामा सडक पूर्वाधारमा राम्रो काम गरेका बताए । उनले बाटो सोलिङ गर्दा यातायात आवतजावतमा सहज भएको जानकारी दिए । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको हाम्रो गाउँपालिका राम्रो प्रभाव परेको छ ।’ उनले भने, ‘कार्यक्रम उपयुक्त छ । जनता लाभान्वित भएका छन् । रोजगार मिलेको छ । काम पनि उपयुक्त भएका छन् ।’

योजनाहरूमा पालिकाले निर्माण सामग्रीहरू उपलब्ध गराउने गरेको छ । बाटो बनाउँदा वा स्तर उन्नति गर्दा स्थानीय स्तरकै ढुङ्गा प्रयोग गर्ने गरिएको छ । ‘वडाबाट रोजगारीका लागि फर्म भरिएको हुन्छ । त्यही आधारमा बजेट विनियोजन गर्ने काम हुन्छ । पालिकाले सुपरभिजन मात्र गर्ने गरेको छ,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट जनता रोजगार हुने अवसर मिलेको बताए । ‘यो आफैमा राम्रो छ । न्यून वर्गका जनतालाई आयआर्जनमा केही टेवा पुगेको छ ।’ उनले भने, ‘सडक पूर्वाधारमा काम हुँदा यातायात सञ्चालनमा सहजता भएको छ ।’

पालिकाका प्राविधिकहरूले योजनाको स्टिमेट गर्ने र रोजगारीको प्राथमिकता क्रम अनुसार छनोट गरेर काममा लगाउने गरिएको पालिकाले जनाएको छ । अब प्रधानमन्त्री रोजगार कार्यक्रमले निर्माणतर्फ मात्र नभएर शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रमा पनि रोजगारी सिर्जना गरी एक सय दिन मात्र नभएर वर्ष भरी नै रोजगारी उपलब्ध गराउनु पर्ने ओलीले बताए ।

कालिञ्चोक गाउँपालिकाका रोजगार संयोजक मुकुन्द सिवाकोटीले कार्यक्रमले वडाको भौतिक पूर्वाधार निर्माणमा टेवा पुगेको बताए । ज्याला प्रत्यक्ष श्रमिकको खल्तीमा जाने हुँदा यो अझै प्रभावकारी भएको उनको भनाइ छ ।

पालिकाले निश्चित मापदण्ड बनाएर बजेट विनियोजन गर्ने र सोही अनुसार वडा स्तरमा छनोट भएका, वडा तथा पालिकाको बजेटबाट धान्न नसकिएका रोजगार मूलक र निर्माण सामग्री खरिद नगरी गर्न सकिने योजनाहरू प्रधानमन्त्री रोजगारले समेटेको उनले जानकारी दिए ।

वडाले सिफारिस गरेका योजनाहरू प्राविधिकले स्टिमेट गरेपछि कार्यान्वयनमा जाने गर्दछन् । यसका लागि प्रत्येक वडामा प्राविधिक छन् भने प्रधानमन्त्री रोजगार कार्यक्रमकै छुट्टै प्राविधिक पनि रहेका छन् । बेरोजगार छनोटका लागि सफ्टवेयरको प्रयोग गर्ने गरिएको छ । उक्त सफ्टवेयरले बेरोजगारको प्राथमिकीकरण गरेर सूचि तयार गर्दछ । 

बजेट घट्दै छ, चिन्ता बढ्दै छ 

कालिञ्चोक गाउँपालिकामा आर्थिक वर्ष २०७६/७७ मा सूचिकृत बेरोजगार व्यक्तिको संख्या ४ हजार ७५४ रहेको थियो भने रोजगारीमा खटिएका व्यक्तिको संख्या ४६० थियो ।

आव २०७७/७८ मा २ हजार ५३७ सूचिकृत बेरोजगार व्यक्तिको संख्यो थियो भने ५७२ रोजगारीमा खटिएका थिए ।

आव २०७८/७९ मा ३७ सय सूचिकृत बेरोजगार व्यक्तिको संख्या थियो भने ६८७ रोजगारीमा खटिएका थिए । यसैगरी आव २०७९/८० मा २४७ रोजगारीमा खटिएका थिए ।  

बेरोजगार व्यक्तिको संख्या बढ्दो क्रममा रहे पनि बजेट भने घट्दो क्रममा छ । कालिञ्चोक गाउँपालिकाका रोजगार संयोजक मुकुन्द सिवाकोटीका अनुसार ३७ सय व्यक्ति बेरोजगार सूचिकृत हुँदा करिब ४ करोड बजेट विनियोजन भएको थियो । करिब ४७ सय बेरोजगार सूचिकृत हुँदा २ करोड बजेट आएको थियो । आगामी आवका लागि ५ हजार ३ सय बढी बेरोजगार सूचिकृत भएका छन् भने ७३ लाख रुपैयाँ विनियोजन भएको उनले बताए ।

सूचिकृत भएमा काम पाइँदो रहेछ भन्ने सोच विकास भएपछि सूचिकृत हुनेहरूको संख्या बढ्दो रहेको सिवाकोटीले जानकारी दिए । उने भने, ‘५/६ सयको हाराहारीमा बेरोजगार सूचिकृत हुने पालिका र ५ हजार बढी सूचिकृत हुने पालिकामा उस्तै उस्तै बजेट विनियोजन हुनु दुःखद हो । यसपटक सबैलाई समेट्न सक्ने अवस्था छैन ।’ 

बजेट विनियोजनमा न्याय नभएको हो कि भन्ने बेरोजगारहरूको गुनासो छ । वडा नं. ७ का अध्यक्ष पाण्डेले बजेट कम आउँदा रोजगारी घट्ने सम्भावना रहेको बताए । ‘अर्को वर्ष गुनासो धेरै आउने पक्का छ ।’ उनले भने, ‘आगामी बजेटमा एक जनालाई एक सय दिनको रोजगारी दिने हो भने वडामा जम्मा ३ जनाले रोजगारी पाउने देखिन्छ ।’

चालू आवमा सञ्चालन योजनाहरू

कालिञ्चोक गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० मा ५२ वटा योजनाहरू सञ्चालित छन् । जसमा सडक पूर्वाधार, पर्यटन प्रवर्द्धन, खानेपानी तथा सरसफाइ, सामुदायिक पूर्वाधार निर्माण लगायत रहेका कालिञ्चोक गाउँपालिकाका रोजगार सहायक आलोक शिवाकोटीले जानकारी दिए । 

सञ्चालित योजनाहरूमा रातो कुलो सिँढी निर्माण, पोखरीचौर लोटेपिङ सडक सोलिङ तथा स्तरोन्नति, थुम्का पिपलबोट सडक सोलिङ तथा स्तरोन्नति, सिम चौर पक्की पोखरी तथा सिँचाइ साविक सुन्द्रावती २, पाँडे खोला मलेपु कृषि सडक सोलिङ तथा नाला निर्माण, वडा कार्यालय पेटी–पर्खाल निर्माण रहेका छन् । यसैगरी, देवीथान पाटी निर्माण साँखल्पु, गणेशथान सामुदायिक भवन छकर्पु सडक, मिलडाँडा मलेपु सडक स्तरोन्नति, पिपलबोट गुमुखोला गुमुखोला गोरेटो बाटो सिँढी निर्माण, धमिरे साँधी खोला सडक स्तरोन्नति, अल्छे ढुङ्गा क्याम्पस सडक स्तरोन्नति, सिसागोलाई धमिरे सडक स्तरोन्नति, स्याउली गुमुखोला सडक स्तरोन्नति, वडा कार्यालय कम्पाउन्ड सुख्खा पर्खाल निर्माण, गोदुङ गुजर्पा गोरेटो बाटो र गोदुङ खानेपानी, सुँगुरे पाटागाउँ गोरेटो बाटो निर्माण, आक्रालय खानेपानी आयोजना निर्माण रहेका छन् ।

यसैगरी पालिका भित्र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बगाले टोल सामुदायिक भवन, गुजर्पा थाङ्बारु गोरेटो बाटो निर्माण, थापा गाउँ गोरेटो बाटो निर्माण, त्रिशूले जनज्योति मा विगोरेटो बाटो, कुराथली गोरेटो बाटो, टोपा पिलिखेपा सडक सडक, खारुदेशे सडक पहिरो नियन्त्रण, सोती साँधी खोला सडक सोलिङ, दूध पोखरी जार्नपाले सडक, ढाँडबारी गोरेटो बाटो निर्माण, खोले गोरेटो बाटो निर्माण, पोखरे गाउँ गुम्बेसी सडक सोलिङ निर्माण, पुरानो गाउँ गोरेटो बाटो निर्माण, बलम्बु मन्दिर सिँढी निर्माण, चप्लेटी–चउर खर्क–बेनीस्वारा गोरेटो बाटो तथा ठुलच्युरी पोखरे सडक सोलिङ, चण्डीथान पैयँुस्वारा सडक सोलिङ निर्माण, नर्मी कामी खोला सडक सोलिङ, सिंगटीदेखि साउँनेपानी टावरसम्म गोरेटो बाटो र खड्का गाउँ गोरेटो बाटो रहेका छन् । 

चिसापानी वडा कार्यालय ग्याविन तथा सिँढी निर्माण, फलाँटे लप्सी भोटे गोरेटो तथा सोलिङ निर्माण, धारा पानी झगरे सिँढी तथा ग्याविन निर्माण, दस्खत गोरेटो बाटो सिँढी निर्माण, भिरामुनी गोरेटो बाटो सिँढी निर्माण, कुसावती स्यारवाराङ गागरे गोरेटो बाटो सिँढी निर्माण, दुरपोले कामीस्वरा गोरेटो बाटो सिँढी निर्माण, खाकल्पा गोरेटो बाटो सिँढी निर्माण, क्याम्पोल लुम्थली सडक स्तरोन्नति सोलिङ, वोदार स्वास्थ्य चौकी जाने गोरेटो बाटो, तारे भिर खानेपानीको पाइपलाइन खन्ने पुर्ने तथा गोरेटो बाटो निर्माण योजना, मुङचादेखि कुङकुङसम्म गोरेटो बाटो निर्माण योजना पालिका भित्र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित छन् । यसैगरी छिपुङ बङसेडथली भल कटानी तथा सोलिङ, सामुदायिक भवन मर्मत तथा भल कटानी योजना, गैरो वेगुम्पादेखि स्वास्थ्य चौकी गोरेटो बाटो निर्माण, यावलदेखि बालोदय सडक सोलिङ पनि रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस