तपस्या बिजनेश म्यानेजमेन्टद्वारा ८० महिला उद्यमीहरूलाई व्यवसाय दर्ता सचेतना  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

तपस्या बिजनेश म्यानेजमेन्टद्वारा ८० महिला उद्यमीहरूलाई व्यवसाय दर्ता सचेतना 


१६ असार २०८०, शनिबार


काठमाडौँ । तपस्या बिजनेश म्यानेजमेन्ट प्रा.लि. ले काठमाडौं उपत्यकाका तीन जिल्ला सहित काभ्रेका ८० जना महिला उद्यमीहरूलाई व्यवसाय दर्ता सम्बन्धी जानकारी दिएको छ । 

महिला उद्यमी महासङ्घ नेपाल तथा यूएसएआइडीको सहकार्यमा आयोजित कार्यशाला गोष्ठीमा लामो समयदेखि विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका महिला उद्यमीहरूलाई दर्ता प्रक्रियाबारे जानकारी दिइएको हो । सो क्रममा दर्ता प्रक्रियामा भएको झन्झट र ढिलासुस्तीले धेरैले अनौपचारिक रूपमै व्यवसाय सञ्चालन गर्दै आएको महिला उद्यमीहरूको भनाई छ । 

व्यवसाय दर्ता प्रक्रियाको जानकारी नहुनुको साथै दर्ता गर्दा र नगर्दा हुने लाभ हानिका बारेमा ज्ञान नभएको पनि सहभागीहरूले बताएका छन् ।

सहभागी काभ्रेकी सावित्री श्रेष्ठले आफूले सञ्चालन गर्दै आएको होमस्टे कहाँ दर्ता गर्ने र त्यो दर्ता गर्दा के फाइदा हुन्छ भन्ने जानकारी पाउन नसकेको बताइन् । यसबाट हुने लाभ हानी बारे कुनै पनि निकायले आफूहरूलाई प्रशिक्षित नगरेको बताउँदै श्रेष्ठले भनिन्, ‘व्यवसाय सञ्चालन गर्ने र दर्ता प्रक्रिया सहज र सरल भए अनौपचारिक रूपमा सञ्चालनमा रहेका व्यवसाय औपचारिक हुन्छन् ।’

अनौपचारिक रूपमा सञ्चालन गर्दा व्यवसायहरू औपचारिक आपूर्तिको पहुँच बाहिर छन् । साथै, सरकारले दिने विभिन्न सुविधा तथा सहुलियतबाट वञ्चित हुनु परेको अर्की सहभागी भक्तपुरकी सुस्मा थापाले बताइन् । त्यसबाहेक, अनौपचारिक उद्यमहरू, बैंकिङ र वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवाको पहुँचबाट टाढा छन्, महँगो ऋण ब्याजदरको सहारा लिन बाध्य छन् ।

कार्यशालामा सहभागी प्रशिक्षक अधिवक्ता भानुभक्त भट्टराईले व्यवसाय दर्ता प्रक्रियाको आवश्यकता, फाइदा तथा बेफाइदा, व्यवसाय दर्ता गरिने निकायका बारेमा जानकारी दिएका थिए । व्यवसायका प्रकृति अनुसार कुन निकायमा कस्तो व्यवसाय दर्ता गर्न सकिन्छ भन्ने जानकारी गराउँदै अधिवक्ता भट्टराईले दर्ता प्रक्रियामा आउने समस्या, चुनौती र आवश्यक कानुनी तथा व्यावसायिक परामर्श कहाँ र कसरी लिन सकिन्छ भन्ने पनि सहभागीहरूलाई जानकारी दिएका छन् । 

तपस्या बिजनेश म्यानेजमेन्ट प्रा. लि. की तालिम विभागकी कृति घिमिरेले उद्योग, व्यवसाय दर्ताका साथै कर तथा लेखाका विषयमा महिला उद्यमीहरूको क्षमता अभिवृद्धिमा आगामी दिनमा पनि काम गर्दै जाने बताइन् । 

काठमाडौँ उपत्यका बाहिरका विभिन्न जिल्लामा पनि आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालन गर्ने जनाउँदै कार्यक्रम संयोजक करिष्मा ढकालले भनिन्, ‘यसले महिला उद्यमीहरूलाई सरकारले प्रदान गरेको सेवा÷सुविधा कहाँ कसरी लिन सकिन्छ भन्ने ज्ञान मात्र दिँदैन, नेपालको आर्थिक अवस्था र महिला सशक्तीकरणमा पनि महत्त्वपूर्ण योगदान पुग्नेछ ।’ 

कार्यक्रममा व्यवसाय दर्ता नगरेका, विभिन्न व्यवसाय सुरु गर्ने योजना रहेका, साना तथा मझौला व्यवसायको लागि तालिम लिएका र व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरूको सहभागिता थियो । 

तपस्या बिजनेश म्यानेजमेन्टले आफ्नो दक्षता र जनशक्तिको प्रयोग गरी व्यवसाय दर्ता गर्न इच्छुक उद्यमी÷व्यवसायीहरूलाई आवश्यक व्यावसायिक र कानुनी परामर्श पनि प्रदान गर्ने जनाएको छ । 

बिजनेश म्यानेजमेन्टका सिइओ केशव बोहराले दर्ता प्रक्रियालाई प्राथमिकता दिएर दर्ता नगरिएका व्यवसायहरूलाई औपचारिक क्षेत्रमा ल्याउँदै उनीहरूको कानुनी मान्यता सुनिश्चित गर्ने र सरकारले प्रदान गर्ने सुविधा प्राप्त गर्न योग्य बनाउने जनाए । 

‘त्यसले व्यक्तिलाई त आर्थिकरुपले सबल बनाउने छ नै, जिडिपीमा पनि योगदान गर्नेछ,’ उनले भने,‘यसले मुलुकमा सकारात्मक प्रभाव पार्नेछ ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस