तटबन्ध पछि पुनः धान रोपाई, पर्खाल निर्माणले शिक्षक-विद्यार्थीलाई राहत  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तटबन्ध पछि पुनः धान रोपाई, पर्खाल निर्माणले शिक्षक-विद्यार्थीलाई राहत 


११ असार २०८०, सोमबार


जुम्ला । जिल्लाको कनकासुन्दरी गाउँपालिका– ५ सिम पाटीका सूर्यबहादुर घर्तीले गत वर्ष नसोचेकै विपत्तिको सामना गरे। टापुज्युलो खोलामा आएको बाढीले खेतबारी नै सखाप बनायो। त्यहाँका किसानले लगाएको धान बाली स्याहार्न पाएनन्। 

असोज १९ देखि २४ गतेसम्म आएको अविरल वर्षापछिको बाढीले सिम्पाटीमा ठूलो क्षति भयो। केही मानिसको मृत्यु पनि भयो भने स्थानीयले लगाएको सबै धान बाली माटो र हिलाम्मे हुन पुग्यो। त्यहाँ १५० रोपनी खेत धान काट्न नपाउँदै बगरमा परिणत भएको थियो। वर्ष भरी खान पुग्ने धान नै बाढीले बगाएपछि त्यस बस्तीका मानिसलाई निकै कष्टकर बन्यो। यस्तो विपत्तिको सामना गरेका घर्तीलाई यस वर्ष के गर्ने भन्ने चिन्ता थियो। 

तर, गाउँमै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत त्यहाँ तटबन्ध निर्माणको योजना समावेश भएपछि भने उनलाई निकै खुसी मिल्यो। उनी मात्रै होइन अन्य स्थानीय पनि खुसी भए। “एकातिर खोलामा तटबन्धन निर्माण हुने अर्कोतर्फ आफैले काम गरेर आम्दानी पनि हुने भएपछि धेरै राहत भयो,”घर्तीले भने,“अहिले यहाँ तटबन्ध निर्माण भएपछि निकै राम्रो भएको छ। किसानहरूले धान रोपाइ गर्न सुरु गरिसकेका छन्।” उनले तटबन्ध निर्माणले आफूहरूलाई निकै सजिलो भएको बताए। 

“अविरल वर्षाले पुरै धान बाली नष्ट गरेको थियो। तटबन्ध निर्माण भएपछि अहिले रोपाइ सुरु भएको छ। पहिले समस्या थिएन तर गत वर्ष ठूलो नोक्सान गर्‍यो। अहिले तटबन्ध निर्माण भएपछि धेरै राहत मिलेको छ,”उनले भने,“गरिब, अशक्तका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम निकै राम्रो छ। हामीलाई धेरै सहज भएको छ। आफ्नो गाउँघरको विकास पनि हुने र आम्दानी पनि हुने भएकाले हामीलाई राम्रो लागेको छ।”

स्थानीय सुपारी कँडारालाई घरमै बस्नु पर्दा समस्या थियो। तर, सरकारले न्यूनतम रोजगारी दिएपछि धेरै सजिलो भएको छ। उनलाई त्यहीबाट आएको पैसाले दैनिक जीविकोपार्जन गर्न निकै सहज भइरहेको छ। सिम्पाटी गाउँको टापूज्युला खेतीयोग्य जमिन बाढी, पहिरोले बगाएको ठाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु. ९ लाख २० हजार र कनकासुन्दरी गाउँपालिकाबाट रु.५ लाख ९० हजार रकम विनियोजित गरेर तटबन्ध निर्माण भएको हो।

“पहिले दैनिक मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका थियौ काम नपाइने समस्या पनि थियो। यो वर्ष यस रोजगार योजनामा काम गरेर केही महिनाको लागि घर खर्च जुटाउन सजिलो हुने भएको छ,” कनकासुन्दरी गाउँपालिका वडा नं. ५ कै दिपकला कडाराले भनिन्,“प्रधानमन्त्री रोजगार कार्यक्रमले केही राहत मिलेको छ। यस्ता कार्यक्रम हरेक वर्ष आउने हो भने हामी जस्ता एक छाक टार्न धौ धौ हुने गरिबलाई राहत मिल्ने थियो।” उनले त्यहाँबाट आएको रकमले आफूले चामल, दाल किनेर छाक टारेको बताइन्।

स्थानीय विर्ज सार्कीले आफ्नै ठाउँमा तटबन्ध पनि निर्माण भएको र काम गर्न पनि पाउँदा खुसी भएको बताइन्। “तटबन्धन निर्माण भएपछि यस वर्षबाट हामीले फेरी धान खेती गर्न पाएका छौँ,”उनले भनिन्,“यो त धेरै राम्रो कार्यक्रम लाग्यो।”

कनकासुन्दरी गाउँपालिका रोजगार संयोजक हंसराज न्यौपानेले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट विपन्न वर्गलाई घर खर्च चलाउन सजिलो भएको बताए। “यो कार्यक्रम निकै प्रभावकारी छ। विपन्न परिवारका मानिसले रोजगारी पाएर दैनिक जीविकोपार्जन गर्न सहज भएको छ। बाहिर गएर श्रम गर्न नसक्नेकालागि निकै सहज छ,”उनले भने,“कार्यक्रमले ज्याला रकम मात्रै दिन्छन सामान खरिद गर्न मिल्दैन। भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक सामान खरिद गर्न असहज हुन्छ हाम्रो कार्यक्रमबाट श्रमिक पाए पनि अन्य समस्या छ।” उनले कार्यक्रममार्फत स्थानीयले विकास निर्माणको कामकोपनि अपनत्व लिएको बताए। श्रमिकहरूले पाउने ज्याला रकम उनीहरूकै नाममा खोलिएको बैंक खातामा समयमा नै पठाउने गरिएको उनी बताउँछन्।

कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर प्रसाद आचार्यले प्रधानमन्त्री रोजगार कार्यक्रमले गरिब तथा बेरोजगारहरूलाई १०० दिन बराबरको काम प्राप्त हुँदा स्थानीय स्तरमा निकै सहज भएको बताए। “प्रधानमन्त्री रोजगार कार्यक्रम उपलब्धि मूलक नै छ। पैसा सबै वडामा बराबर हाल्ने गरिएको छ। यो आवश्यकता अनुसार हालेको भए हुन्थ्यो,”उनले भने,“श्रमिकलाई ज्यालादारी र रोजगार सिर्जना गर्ने र विकास निर्माणका पूर्वाधारका लागि पनि बजेट विनियोजन भएको भए राम्रो हुने थियो।” उनले यहाँका धेरै मानिसहरू रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेकोमा यो कार्यक्रमले केही सुधार भएको बताए। 

कनकासुन्दरी गाउँपालिका वडा नं ७ का छक्क कामीलाई पनि काम पाउँदा घर चलाउन सजिलो भएको छ। “धेरै सजिलो भएको छ। गाउँको विकास पनि हुने र आम्दानी पनि हुने गरेको छ। यो कार्यक्रम निकै राम्रो छ,”उनले भने,“बिहान बेलुकीको छाक टार्न पनि समस्या छैन। त्यसबाट आएको पैसाले बालबच्चा पढाउन पनि सुविधा भयो। रोजगार नभएर त्यतिकै घरमा बसिरहेका बेला काम पाउँदा राम्रो भयो।”

कनकासुन्दरी गाउँपालिका रोजगार सहायक चन्द्र बहादुर कार्की आपत्कालीन विपद् अथवा कुनै पनि खाले तत्कालै गर्नुपर्ने कामहरू हुँदा खेरी प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई तुरुन्त खटाएर एकदम छिटो छरितो ढङ्गबाट काम गराउन पाउँदा यसले धेरै सहजता ल्याएको बताउँछन्। “प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निर्देशिका र कार्यविधि अनुसार मर्मत सम्भारसँग सम्बन्धित बाटो ढलान गर्ने, पर्यटकीय पदमार्ग निर्माण गर्ने काम गरेका छौँ। त्यस्तै जीर्ण हुँदै गएका कुलाहरूको मर्मत गरेर वर्ष भरी नै पानी सञ्चालन गर्दै सिँचाइको लागि सुविधा हुने रोपाई हुने  खालका काम गरेका छौँ,”उनले भने,“‘साझेदारीमा गरेको हुँदा त्यहाँका स्थानीयको दैनिक जीवनयापनमामा यसले प्रत्यक्ष सहयोग पुगेको छ।”

विद्यालयमा पर्खाल निर्माण भएपछि सुरक्षित

कनकासुन्दरी गाउँपालिका वडा नं. ४ धोविघाट गाउँमा रहेको श्री आधारभूत विद्यालय धोविघाट सिञ्जा जुम्ला खोलाको किनारमै छ। खोलामा आउने बाढीले कहिले विद्यालय बगाउँछ भन्ने सन्त्रासकै बीच विद्यालयको पठन पाठन हुँदै आएको थियो। तर, अब भने विद्यालय यो समस्याबाट मुक्त भएको छ। 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विद्यालयलाई खोलाबाट जोगाउनका लागि वरिपरि पर्खाल निर्माण भएपछि यहाँका शिक्षक र विद्यार्थीलाई निकै राहत मिलेको छ।

बिद्यार्थीहरु खोलाको किनारमा गई पानीमा खेलेर आउँदा भिजेर आउने, वर्षायाममा खोलो बढेको बेला अति जोखिम हुँदै आएको थियो। तर, अहिले पर्खाल निर्माणभएपछि भने निकै सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर्खबहादुर घर्ती बताउँछन्। “विद्यालय नजिकै खोला थियो। त्यसले बालबालिकालाई पढ्नका लागि निकै कठिनाइ भइरहेको थियो। अहिले त्यहाँ पर्खाल निर्माण भएपछि विद्यालय सुरक्षित बनेको छ,”उनले भने,“विद्यार्थीहरूका लागि पनि निकै राम्रो भएको छ। कक्षा ५ सम्म पढाइ हुने गरेको छ। खोलामा बगेर पहिले विद्यार्थी बगेर बेपत्ता हुने गर्थे। दुईजना त अहिलेसम्म बिते। बालबालिका खोलामा गइहाल्थे। बग्ने चिन्ता हुन्थ्यो। अब त्यो समस्याबाट भने मुक्ति पाइएको छ।”

रोजगार संयोजक हंसराज न्यौपाने पनि विद्यालयमा पर्खाल निर्माण भएपछि धेरै सहज भएको बताउँछन्। “बच्चाहरू बग्ने समस्या थियो। अहिले त्यो बनेपछि निकै सजिलो भएको छ,”उनले भने,“पहिले बालबालिका ब्रेक भएको बेला खोलामा जान्छन् भन्ने डरले एक जना शिक्षकले सधैँ हेर्नुपर्थ्यो।” 

अभिभावकलाई पनि विद्यार्थीहरू खोलामा बग्ने पिरले सताइरहन्थ्यो। अभिभावकहरू आफ्ना बालबालिकाहरूलाई डराइ डराइ स्कुल पठाउने गर्थे। “यस विद्यालय आसपासका समुदायका मानिसले यस्तो खोलाको नजिक विद्यालय भएकाले पर्खाल निर्माणका लागी विभिन्न निकायमा विभिन्न समयमा अग्लो र बालबालिकाहरू माथि नआउन सक्ने पर्खाल निर्माणको माग गरे तर कुनै पनि निकायबाट पर्खाल बन्न सकेको थिएन। रोजगार संयोजकले हाम्रो समस्या बारे गाउँपालिकामा सहजीकरण गरिदिएर अहिले समस्या समाधान भयो,”स्थानीय रन्नी बहादुर जिसीले भने। 

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आर्थिक वर्ष २०७८/२०७९ मा चार लाख र आर्थिक वर्ष २०७९/०८० चार लाख गरी जम्मा आठ लाख रुपैंया श्रमिकको ज्याला बापत र उक्त विद्यालय पर्खाल निर्माणका लागी चाहिने निर्माण सामाग्री खरिदको लागि कनकासुन्दरी गाउँपालिका र वडा नं.  ४ बाट चार लाख रकम विनियोजन भएको थियो।

नेपालको सङ्घीय संरचना अनुसार ७५३ स्थानीय तहहरू मध्ये कनकासुन्दरी गाउँपालिका नेपालको खस भाषाको उद्गम थलो मानिने जुम्ला जिल्लाको सिञ्जा क्षेत्रको केन्द्र विन्दुमा रहेको छ। यस गाउँपालिकाको नामाकरण गाउँपालिकाको प्रख्यात कनकासुन्दरी मन्दिरको नामबाट भएको हो। समुन्द्री सतह देखि २५१४ मिटरको उचाइमा यो रहेको छ। यो गाउँपालिका जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा देखि करिव ५५ किमि दुरीमा पश्चिम भागमा रहेको छ। यस गाउँपालिकाको पूर्वमा पातारासी गाउँपालिका पश्चिममा कालिकोट जिल्लाको पलाता गाउँपालिका उत्तरमा मुगु जिल्लाको खत्याड गाउँपालिका र दक्षिणमा सिञ्जा गाउँपालिकासँग सिमाना जोडिएको छ। जुम्ला जिल्लाको कुल भूभाग ८.११ प्रतिशत ओगट्ने यस गाउँपालिकाले २२५.३६ वर्ग कि.मि भू–भाग ओगटेको छ। जुम्ला जिल्लामा अवस्थित कनकासुन्दरी गाउँपालिका कर्णाली प्रदेश अन्तर्गतको उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो। साविक बुम्रमाडीचौर, मालिकाबोता कनकासुन्दरी विराट र पाण्डव गुफा गा.वि.स मिलेर बनेको यो गाउँपालिकामा ८ वडा कार्यालय सँगै यहाँको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी र प्राकृतिक तथा सांस्कृतिक उत्कृष्टता विकासका प्रचुर सम्भावना रहेको छ।

प्रसिद्ध मन्दिर कनकासुन्दरी देवीको मन्दिरको नामबाट नामाकरण भएको गाउँपालिका हो। कनकासुन्दरी मन्दिर यस क्षेत्रकै प्रसिद्ध धार्मिक पिठक हो। यसका साथै यस गाउँ पालिकामा विभिन्न ८ वडा मा रहेका प्राकृतिक तथा पर्यटक स्थल रहेका छन्। 

गाउँपालिकालाई मूल क्षेत्र बनाएर अविरल बगिरहने हिमा नदी महेन्द्र मल्ली खोला, छलसेरी खोला, धोविघाट खोला, लेतेगाड, जिउगाड, न्याउरिगाड खोलाहरू यहाँका प्रकृति सम्पदाको साथै सिचाइ कुलो गर्न महत्त्वपूर्ण रहेका छन। जैविक विविधताको हिसाबले उच्च पर्वतीय चिसो हावापानीमा पाइने जीव अर्ना, थार, कस्तुरी, सुँगुर, झारल, घोडल, डाँफे, कालिज, क्याडेभ्याकुर, आदि जीवहरू मुख्य रूपमा रहेका छन। जङ्गल क्षेत्रमा पाइने प्रमुख जडीबुटीहरू पाखनबेद, सतुवा, पाँचऔले, गुच्छिच्याउ, जटामसी, सिलाजित, बनलसुन, कुरिलो, खिरौँलो, सुर्कील्लो,टिपलाइटच्याउ आदि रहेका छन। यस गाउँपालिकाको माथिल्लो भेगमा अधिकांश स्थानमा बन तथा खर्कहरू रहेका छन्। गाउँपालिको उतरमा  देखिने रमणीय हिमाली शृङ्खलाहरूले यहाँको सुन्दरता बढाएको छ।

ऐतिहासिक महत्त्वको सिञ्जा क्षेत्र खस सभ्यता तथा हिन्दु सांस्कृतिक अनुपम सङ्गम रहेको छ। क्षेत्री ब्राह्मण, दलित, जातिहरूको मिश्रित बसोबास रहेको यस गाउँपालिकामा मुख्य बोलीचालीको भाषा खस नेपाली भाषा रहेको छ। धार्मिक रूपमा हिन्दु धर्मालम्बिको उच्च बाहुल्यता रहेको यो क्षेत्रमा मनाइने मुख्य चाडपर्वहरूमा दसैँ, तिहार, जनैपुर्णिमा, माघे संक्रन्ति,साउन पूर्णिमा, चैत्य दसैँ आदि रहेका छन्। धार्मिक तथा भाषिक रूममा एकरूपता रहेको यस गाउँपालिकामा सांस्कृतिक चाड पर्वको समयमा गरिने विभिन्न क्रियाकलापहरूले यहाँको सामाजिक र सांस्कृतिक उत्कृष्टता झल्काउने गर्दछ। 

Tags :
प्रतिक्रिया दिनुहोस