प्रधानमन्त्री रोजगार कार्यक्रम : गाउँघरमै काम, समयमै पैशा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री रोजगार कार्यक्रम : गाउँघरमै काम, समयमै पैशा


६ असार २०८०, बुधबार


गैँडाकोट । गैँडाकोट नगरपालिकाका सोमनाथ विक विगतमा कामको खोजीका लागि भारतसम्म गएर मजदुरी गर्दै आएका थिए । उनले मिस्त्रीको काम सिकेका छन् । जसका कारण भारतमा गएर उनलाई काम पाउन केही सहज त हुन्थ्यो नै तर, पनि घरपरिवार छोडेर बाहिर गएर काम गर्दा मन खल्लो सधैँ भइरहन्थ्यो । उनले मिस्त्री बाहेकका अन्य थुप्रै काम यसअघि गरेका थिए । केही वर्ष यता गाउँघरमै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएर काम गर्न पाउँदा उनलाई पनि निकै सहज भएको छ । तर, नियमित काम नहुँदा भने समस्या हुने गरेको उनको दुखेसो रहेको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उनले काम गर्दा समयमा नै पैसा पाएका छन् । काम पनि समयमा नै सम्पन्न गरिएको उनी बताउँछन् । “विदेश जान परेन यहाँ काम पाएपछि । नियमित काम पाएको भए अझै सहज हुने थियो । अहिले वर्षमा १-२ पटक यस्ता कार्यक्रम आएका छन्। हामीले यो कार्यक्रम नगरपालिकाबाट थाहा भएको हो,”उनले भने,“प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले हामीलाई सहज बनाएको छ। खाना जुटाउन र बालबच्चा पढाउन सहयोग मिल्यो । यो कार्यक्रमबाट आउने ज्याला बढी आएको भए हुन्थ्यो ।” उनी यो कार्यक्रममा जोडिएपछि गाउँघरमै अहिले अरू काम गर्नका लागि पनि सहज भएको छ । पहिलेभन्दा केही बढी नै काम पाउने गरिएको उनको अनुभव छ । 

गैँडाकोट नगरपालिका ९ कै बबिता सुनारलाईपनि गाउँघरमै काम पाउँदा काम गर्न निकै सहज महसुस भएको छ । गाउँमा पहिले काम गर्दा पुरुषलाई बढी ज्याला र महिलालाई कम ज्याला दिने गरिएको थियो। तर, प्रधानमन्त्री रोजगार कार्यक्रममा समान काम र समान ज्याला पाउँदा भने उनी दङ्ग देखिन्छन् । “गाउँघरमा काम नपाइरहेका बेला यो कार्यक्रममा सहभागी भएर काम गर्न पाइयो । यसले मेरो परिवारको दैनिक खर्च टार्न निकै सहज भयो” उनले भनिन्,“पहिले ज्याला समान थिएन । अहिले समान ज्याला पाउँदा खुसी लागेको छ। मैले काम गरेबापत समयमै पारिश्रमिक पाएका छु ।” आफ्नै घरको खाना खाएर गाउँघरमै विकास निर्माणको काममा सहभागी हुन पाउँदा सहज भएको उनको बुझाइ छ । “काम गरेबापत पाएको भुक्तानीले घरमा रासन पानी ल्याएँ। यो कार्यक्रम अहिले सय दिनको मात्रै छ । कार्यक्रम अवधि बढाएको भए हुन्थ्यो । ज्याला दर पनि बढाएको भए हुन्थ्यो,”उनले भनिन्,“यस विषयमा सरकारले ध्यान दिएर आगामी दिनमा कार्यक्रम सञ्चालन गरेको भए हुने थियो ।” 

गैँडाकोट ९ कै पार्वती गुरुङलाई पनि परिवार धान्न निकै सहज भएको छ । उनका श्रीमान् काम गर्न सक्दैनन् । जसका कारण परिवार चलाउने जिम्मा पार्वतीकै काँधमा रहेको छ । गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रम आएपछि उनलाई परिवारको खर्च जुटाउनका लागि मद्दत मिलेको छ । “यो कामले बालबच्चालाई पढाउन र खान पुगेको छ। महिला र पुरुषबिच पहिले ज्यालामा विभेद थियो। अहिले समान ज्याला पाउँदा मलाई खुसी लागेको छ । काम गरेबापत पारिश्रमिक समयमै पाएका छु” उनले भनिन्, “काम सम्पन्न भइसकेपछि समयमा नै पैसा हाम्रै बैंक खातामा आउने गरेको छ ।” उनलाई काम गरे बापत प्राप्त गरेको रकमबाट छोरीहरू पढाउन पनि सहज भएको छ । “छोरीहरूको स्कुलमा फिस तिर्न र उनीहरूलाई ड्रेस, जुत्ता, कापिकिताब किन्न पनि मलाई सजिलो भएको छ। आफ्नै घरमा खाना खाएर काम गर्न पाउँदा निकै सजिलो छ” उनले भनिन् । उनले नगरपालिकाबाट कामका बारेमा आफूहरूले जानकारी पाएपछि फारम भरेर काम गर्न गएको बताइन् ।

गैँडाकोटकै भगवान् सिंह थापा केही समय अघि कामको सिलसिलामा बिदेसिएका थिए। विदेशमापनि भने अनुसार काम गर्न नसक्ने स्थिति भएपछि उनी घर फर्किए । घरमा उनी यतिकै बसेको समयमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुने अवसर पाए। उनले सोही अनुसार फारम भरेर काममा लागे। त्यहाँबाट आएको पैसाले घरपरिवारको खर्च चलाउन सहज भएपछि उनी दङ्ग भएका छन् । “आफ्नै ठाउँमा काम पाउँदा धेरै सहज हुँदो रहेछ। परिवारको रेखदेख पनि गर्न पाइयो । बाहिर रोजगार गर्दा पारिश्रमिक नपाउने समस्या थियो । काम लगाउनेहरूले हामीलाई दिनुपर्ने पैसा खाइदिन्थे। यो कार्यक्रमअन्तर्गत काम गर्दा हाम्रो पारिश्रमिक सिधै बैंकमा आउँछ” उनले भने,“यो कार्यक्रम वर्ष भरी नै चलेको भए राम्रो हुन्थ्यो । काम गरेर ल्याएको पैसाले बालबालिकालाई हेरचाह गर्न पाइयो ।”   

गैँडाकोट ढोडेनीकी भिमकुमारी परियारलाई पनि बिहान बेलुका घरकै खाना खाएर काम गर्न पाउँदा निकै सजिलो महसुस भएको छ । उनलाई यो कार्यक्रमबाट पाएको पैसाले घर खर्च चलाउन निकै मद्दत भएको छ । “काम गरेबापत आएको पैसाले घर खर्च चलाउन पाइयो। पैसा पनि बचत गर्न पाइयो । भुक्तानी पनि समयमै पाइयो । यो काम पाउनु भन्दा पहिले हाम्रो गाउँमा महिला र पुरुषलाई फरक–फरक पारिश्रमिक दिइन्थ्यो । यस्तै कार्यक्रम सधैँ पाइयोस् भन्ने चाहेको छु,”उनले भनिन् । 

गैँडाकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रत्नप्रसाद सापकोटा यो कार्यक्रम सुरु भएपछि त्यसले विपन्न परिवारको दैनिक घर खर्च चलाउन सहज भएको बताउँछन् । “हाम्रो नगरपालिकामा साँझ बिहान छाक टार्न मुस्किल पर्ने मानिसहरू पनि छन्। उनीहरूलाई यो कार्यक्रमले राहत दिएको छ। काम गरेर खानुपर्छ भन्ने मान्यताको विकास भयो,”उनले भने,“विपन्नलाई काम पाइएको छ । भने वडामा विकास निर्माणका काममा सहयोग पुगेको छ । थोरै बजेटले धेरै काम भएको छ।” उनले आफ्नो वडा कार्यालयमा बाटोघाटो निर्माण गर्ने, विद्यालयमा रंगरोगन लगाउने जस्ता कार्यक्रम सम्पन्न भएको बताए । “यो कार्यक्रमको समयावधि बढाउनु राम्रो हो। सय दिन निकै कम भयो । सकिन्छ भने १२ महिना नै चलाएको भए हुन्थ्यो । कामदारले पाउने पारिश्रमिक पनि निकै कम छ। त्यो बढाउन आवश्यक छ,”उनले भने,“यो कार्यक्रममा सिप नभएकालाई मात्रै सहभागी गराइएको छ भन्ने गुनासो छ। त्यो गुनासो पनि हटाउनु राम्रो होला ।” 

नगरपालिकाका रोजगार संयोजक तारा उपाध्याय कार्यक्रमको निर्देशिका अनुसार नै सञ्चालन भइरहेको भन्दै स्थानीय तहमा रहेका बेरोजगार समुदायलाई रोजगारीमा ल्याउने प्रयास भइरहेको बताउँछिन् । “जहाँसम्म समयमै पारिश्रमिक नपाएको गुनासो छ। उहाँहरूले सम्झौता गरिसकेपछि कस्तो काम गर्नु भयो भन्ने हेर्छौ र बजेटको पाटो के छ त्यो पनि हेर्छौ। उहाँहरूले कार्यसम्पादन गरिसकेपछि हामीले त्यसको अनुगमन पनि गर्छौ। अनुगमन सकिएपछि हामीले छिटोभन्दा छिटो उहाँहरूले पारिश्रमिक दिने गरेका छौँ,”उनले भनिन्,“यो कार्यक्रमको आफ्नै प्रक्रिया छ। प्रक्रिया पुरा भएपछि मात्रै हामीले पारिश्रमिक दिने गरेका छौँ। कार्यसम्पादन गर्नु भएका सबैले पारिश्रमिक पाएकै अवस्था छ । यो कार्यक्रम अन्तर्गत सडक निर्माण, वृक्षारोपणलगायत कामहरू गर्न लगाएका छौँ ।” 

वडामा योजना बन्ने बेला नै रोजगारीलाई कसरी समावेश गर्न सकिन्छ भन्नेमा छलफल हुने गरेको उनले बताइन् । “प्रधानमन्त्री रोजगार कार्यक्रममा लक्षित समुदायको निवेदन सङ्कलन गर्ने गरेका छौँ । विभिन्न समुदायलाई सबैभन्दा धेरै लक्षित यो कार्यक्रम हो। त्यसका लागि विभिन्न समुदायको समिति नै गठन गरेर काम गरिएको छ”उनले भनिन्,“हामी आफैले पनि फिल्डमा गएर विभिन्न व्यक्ति छान्न सकिन्छ। कार्यक्रम सुरु हुनु भन्दा पहिले हामीले यो कार्यक्रमबारे लक्षित समुदायलाई विस्तृत जानकारी दिने गरेका छौँ । त्यो बेला हामीले कार्यक्रम किन सुरु गरिन्छ, के गर्नुपर्छ र कसरी भुक्तानी लिने भन्नेबारे हामीले जानकारी दिन्छौँ । यसमा समूह नेता को हुन्छ, उसले कसरी काम गर्छ भन्नेबारे पनि जानकारी दिन्छ ।” स्थानीयको समुदायमा गएर कार्यक्रमको बारेमा जानकारी दिइसकेपछि विपन्न पहिचान गरेर काम सुरु गर्ने गरिएको उनको भनाइ छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रममा विशेष गरी निर्माण र मर्मत सम्बन्धी कार्यक्रमका लागि साझेदारी भएको छ। यो साझेदारी वडाले नै गरिरहेको छ । निर्माण सम्बन्धी कार्यक्रमका लागि वडाले योजना तर्जुमा गदै आएको छ । “हामीले उपभोक्तामार्फत सम्झौता गर्ने बेला तपाईँहरूले निर्माण सामाग्रीको लागि मात्रै सम्झौता गर्नुहोला, बाँकी रहेको काम चाही प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बजेट थप गरेर काम गर्ने छौँ र त्यो भन्दा पनि बढी कार्यक्रम पनि गर्न सकिन्छ है भनेका हुन्छौँ,”उनले भनिन्,“अहिलेसम्म हामीलाई नगरस्तरबाट बजेट प्राप्त भएको छैन। तर, यो वर्ष पालिकाले श्रम तथा रोजगार उपशाखा बनाएको छ । पालिकाले श्रम तथा रोजगारका लागि भिन्नै उपशाखा बनाउनु आफैमा महत्त्वपूर्ण उपलब्धी हो। अब आन्तरिक रूपमा बजेट छुट्याएर तालिमसमेत प्रदान गर्ने योजना बनाइएको छ ।” वडामा सुरूवातको समयमा शैक्षिक बेरोजगार मानिसहरूले पनि फारम भर्दै आए पनि यो कार्यक्रमको औचित्यका बारेमा बुझेपछि त्यसमा कमी आएको नगरपालिकाको भनाइ छ ।  

“हामीसँग कोरोना महामारी भएका बेला अरू नै काम गरिरहनु भएको जस्तो, कुकको, गाडी चालक, सहचालकहरू पनि सूचीकृत हुनु भएको थियो। अहिले निर्माणसँग सम्बन्धित काम गर्नुपर्ने भएकाले यसबारे जानकारी त्यही कोर टिमलाई पुर्‍याउन खोजेका छौँ,”उनले भनिन्,“प्रधानमन्त्री रोजगार कार्यक्रममा अहिले सिप नभएका मजदुरहरूको हकमा मात्रै काम आइरहेको छ । एउटा योजनाको धेरै पाटोहरू हुन्छन्। अहिलेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रमको योगदान योजनामा कम भएको छ । ६० देशी ७० प्रतिशत सामग्रीमा खर्च हुन्छ। बाँकी रहेको पैसा स्किल्ड लेबरमा खर्च हुन्छ । हाम्रो पाटो जम्मा २० प्रतिशत जस्तो हुन्छ। त्यसले गर्दा समस्या भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रममा स्किल लेबर सहभागी गराए गुणस्तरीय काम हुन्छ ।” 

गैँडाकोट ५ स्थित मातृभूमि टोल उपभोक्ता समितिका कोषाध्यक्ष कमला कँडेल प्रधानमन्त्री रोजगार कार्यक्रमका कारण आफूहरूलाई धेरै नै सहयोग मिलेको बताउँछिन्। “यस वर्ष लेवर कष्ट साढे २ लाख बच्यो । नत्र हामी आफैले दिनुपर्ने थियो। प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएपछि यस कार्यक्रमका प्रतिनिधिहरू बेलाबखतमा अनुगमनमा आइरहनु भएको छ । वडाध्यक्षका कारण पनि हामीलाई कार्यक्रम गर्न सहज भएको छ। उहाँ यहाँ आइरहनु भएको छ,”उनले भनिन्,“ हामीलाई योजना सम्पन्न गर्न दुःख भएन, भाइहरूले पनि राम्रो काम गरिदिनु भयो। बजेट त अब आउने होला। बजेटबारे त्यति जानकारी भएन ।” यो कार्यक्रमको गुणस्तर पनि राम्रो रहेको भन्दै उनले नगरपालिकाले दिएको बजेट अपुग हुने गरेको बताइन् । “प्रधानमन्त्री कार्यक्रमबाट लेवर मिलाउँदा राहत भएको छ । मलाई यो कार्यक्रम राम्रो लागेको छ। हामी खुस छौँ,”उनले भनिन् ।

स्थानीय प्रजानाथ कँडेल प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँ समुदायमा विकास निर्माणका काम गर्न सहज भएको बताउँछन् । स्थानीय विद्यालयमा प्रधानाध्यापकसमेत रहेका कँडेल गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विद्यालयको नवनिर्मित भवनको पछाडि पट्टी कम्पाउन्ड वाल लगाउने काम भएको बताउँछन् । “वडा नम्बर ८ ले एक लाख ५० हजार रुपैयाँ मात्रै दिएको थियो । त्यसले हामीलाई काम गर्न सक्ने स्थिति थिएन। जनशक्ति प्रधानमन्त्री स्वरोजर कार्यक्रमबाट हामीलाई उपलब्ध भयो । त्यसले गर्दा डेढ लाख रुपैयाँमा सय मिटर कम्पाउन्ड वाल र बाल कक्षा अगाडि फूल क्यारी पनि निर्माण गर्न सहज भयो,”उनले भने,“थोरै बजेटबाट धेरै काम गर्न सहयोग मिलेको थियो ।” उनी यो कार्यक्रमलाई भौतिक संरचनासँग मात्रै जोड्दा उपयुक्त नभएको भन्दै अन्यत्र पनि ध्यान दिन सक्नुपर्ने बताउँछन् । “विद्यालय मात्रै नभएर सङ्घसंस्था, चौतारी, यही नगरपालिकाका पनि धेरै काम हुन सक्छन्। भौतिक संरचना निर्माण नहुने तर जनशक्ति आवश्यक हुने कार्यक्रम पनि हुन सक्छ,”उनले भने ।   

गैँडाकोट नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमका प्राविधिक सहायक सुरज खनाल आयोजनाको गुणस्तरमा कुनै सम्झौता नगरिने बताउँछन् । “आयोजनाको गुणस्तर कायम गर्ने काममा छौँ । बाटोको केस छ भने त्यसैअनुसार गरिन्छ । हाम्रो योजनाबाट ठूलो बाटो होइन, स–साना बाटो पनि बनाउने योजना हुन्छ । अन्य निर्माणका काममा फिल्डमा टेस्ट गर्छौ । सिपालु कामदार कम हुनुहुन्छ। नियमित फिल्ड भिजिट गरेर उनीहरूलाई सिप सिकाउन सहयोग गरेका छौँ” उनले भने,“ कुनै पनि योजना कार्यान्वयन गर्नुअघि समितिका मानिसहरूलाई भेला गराएर जानकारी दिन्छौँ । त्यसपछि काम गर्ने बेला निरन्तर अनुगमन गछौं । कामदारलाई भुक्तानी गर्न कागजात सङ्कलन गर्छौ । कार्यक्रम सुरु गर्नु पूर्व र सकिएपछि हामीले कार्यक्रमबारे जानकारी दिन्छौँ । त्यसले गर्दा कामदारलाई यो कार्यक्रममा सहभागी हुन सहज भएको छ ।” यो कार्यक्रममा सामग्री खरिदका लागि पैसा उपलब्ध नहुने गरेको भन्दै जनशक्तिमा मात्रै पैसा खर्च गरिँदै आइएको उनको भनाइ छ ।   

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न तथा युवाहरूलाई आर्थिक रोजगारी सिर्जना गर्नमा सहयोग गरेको बताउँछन् । “युवाले आफ्नै स्थानमा रोजगारी पाएका छन्। विपन्नहरूलाई पनि जीविकोपार्जनमा सहयोग पुगेको छ । यो कार्यक्रम अहिलेका लागि उपयुक्त मानिएको छ,”उनले भने,“वडा मार्फत बजेट साझेदारी गरिएको छ । आगामी दिनमा श्रम तथा रोजगार अन्तर्गत केही थप बजेट नगरपालिकाले विनियोजित गर्ने योजनामा छौँ ।” प्रधानमन्त्री रोजगार कार्यक्रमले ज्यालामा साझेदारी गरेर विकास निर्माणका कार्यमा सहयोग गरेको उनको भनाइ छ । 

गैँडाकोट नगरपालिका नेपालको मध्य भागमा अवस्थित साविक नवलपरासी जिल्लाबाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी सहर काठमाडौँबाट १५० कि.मी. दक्षिण पश्चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित रहेको छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला (भरतपुर महानगरपालिका), पश्चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदी र पश्चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदीवेष्ठित नगरपालिका भन्न सकिन्छ। २०७१ वैशाख २५ गते नगरपालिका घोषणा भएपछि २०७१ जेठ ७ मा यो नगरपालिका कार्यान्वयनमा आएको हो । गैँडाकोट नगरपालिका साविक गैँडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर सहित जोडेर बनेको हो। गैँडाकोट नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको उत्तर तर्फ रहेको र यहाँ बस्ती बस्नु भन्दा अगाडी गैँडा रहने स्थान भएकाले नगरपालिकाको नामकरण गैँडाकोट रहेको स्थानीयवासी बताउँछन् ।

पर्यटन, उद्योग÷व्यवसाय÷सहकारी, कृषि, पशु सेवा, शिक्षा, स्वास्थ्यलाई विकास पूर्वाधारका मुख्य आधारस्तम्भका रूपमा मानेको यस नगरपालिका क्षेत्र औद्योगिक क्षेत्रका रूपमासमेत रहेको छ । नगरभित्र साना ठुला गरी २७८ वटा उद्योगहरू रहेका छन। नगरभित्र ८ वटा क वर्गका वाणिज्य बैंक, ७ वटा ख वर्गका विकास बैंक, एउटा फाइनान्स, ७ वटा लघुवित्त संस्थाहरू सञ्चालित छन भने देशकै उत्कृष्ट मध्येका विकू, किसान, गैँडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था सहित २३ वटा बचत तथा ऋण सहकारी संस्था, ७ वटा कृषि र ३ वटा दुग्ध गरी १० वटा उत्पादक सहकारी संस्था, ३ वटा उपभोक्ता÷सेवा सहकारी संस्था र ४ वटा बहुउद्देश्यीय सहकारी संस्था गरी४० वटा सहकारी संस्थाहरूको सञ्चालनबाट नगरको आर्थिक गतिविधि चलायमान रहेको छ । धान, सुन्तला, मकै र केरा पकेट क्षेत्र रहेका र कृषि, पशु उत्पादनमा आत्मनिर्भर छ । गैँडाकोट नगरपालिकाका अनुसार नगर क्षेत्र भित्र राष्ट्रिय राजमार्ग बाहेक ३२ किलोमिटर कालोपत्रे ३६ किलोमिटर ग्राभेल, ३४ किलोमिटर कच्ची र १५ किलोमिटर गोरेटो सडक निर्माण भएको छ। सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाउँदै लगिएको नगरपालिकाले जनाएको छ । उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाको लागि योजना सफ्टवेयर सञ्चालन गरिएको छ । 

  

Tags :
प्रतिक्रिया दिनुहोस