आधा खर्ब नाघ्यो वाणिज्य बैंकहरूको नाफा  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आधा खर्ब नाघ्यो वाणिज्य बैंकहरूको नाफा 


४ असार २०८०, सोमबार


काठमाडौँ । नेपालमा अस्तित्वमा रहेका २१ वाणिज्य बैंकको नाफा आधा खर्ब नाघेको छ । चालू आर्थिक वर्षको १० महिनामा (वैशाखसम्म) वाणिज्य बैंकहरूले ५७ अर्ब १६ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार नाफाका आधारमा नबिल बैंक सबैभन्दा अगाडि छ । नेपाल बङ्गलादेश बैंकलाई गाभेर बनेको नबिलले १० महिनामा ६अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको हो । यो बैंकले एक महिनामै एक अर्ब नाफा बढाएको छ । चैतसम्म नबिलको नाफा ५ अर्ब ११ करोड थियो ।

दोस्रो बढी नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक छ । यस बैंकले ५ अर्ब ३४ करोड रुपैयाँ नाफा गरेको छ ।

एक महिनामै बैंकहरूको नाफा ८ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार, चैतसम्म यस्तो नाफा ४७ अर्ब ७३ करोड थियो । तेस्रो स्थानमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक रहेको छ । यसले ४ अर्ब बढी नाफा कमाएको छ । यसले एक महिनामा ४७ करोड रुपैयाँ नाफा बढाएको छ ।

सबैभन्दा कम नाफा कृषि विकास बैंकले कमाएको छ । सरकारी स्वामित्वकै कृषि विकास बैंकले १० महिनामा १ अर्ब २२ करोड रुपैयाँ मात्र नाफा कमाएको छ ।

एनआईसी एसियाले ४ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाउँदा मेगा बैंकलाई गाभेर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३ अर्ब ८९ करोड रहेको छ ।

नाफा बढी कमाउनेमा मर्जर र एक्विजिसनमा गएका बैंकहरू देखिएका छन् । मर्जरमा नगएका बैंकहरूको नाफा भने न्यून देखिएको छ । सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले २ अर्बभन्दा कम नाफा गरेका छन् । एनसीसी बैंकलाई गाभेको कुमारीले पनि नाफा २ अर्ब कटाउन सकेका छैनन् । 

Tags :
प्रतिक्रिया दिनुहोस