प्रधानमन्त्री रोजगार कार्यक्रम : जीवन निर्वाह गर्न सहज, निरन्तरता हुनेमा आशावादी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री रोजगार कार्यक्रम : जीवन निर्वाह गर्न सहज, निरन्तरता हुनेमा आशावादी


१ असार २०८०, शुक्रबार


बर्दिया । कोरोनाको महामारी यत्रतत्र चलिरहेको थियो । शहर बजारदेखि गाउँघरसम्म यसले निकै प्रभावित पारेको थियो । शहर बजारका मानिसलाई त दैनिक जीवन गुजारा गर्न कठिन भइरहेका बेला त्यसले गाउँका मानिसलाई प्रभाव नपार्ने त कुरै भएन । त्यसैमा पनि दैनिक मजदुरी गरेर घर चलाउने परिवार झनै प्रभावित हुने अवस्था थियो । यही कोरोनाको प्रभावले प्रत्यक्ष प्रभावित थियो बर्दियाको बारबर्दिया नगरपालिका ६ का वीरबहादुर सुनारको परिवार पनि । 

दैनिक मजदुरी गरेर घर खर्च चलाउने उनको परिवारमा कोरोना महामारीकै कारण असर पुराएको अवस्था थियो । घर परिवार कसरी पाल्ने भन्ने उनमा चिन्ता थियो । यही बेला उनका लागि सुवर्ण अवसर बनेर आयो प्रधानमन्त्री रोजगार कार्यक्रम । संघीय सरकारबाट सञ्चालित यो कार्यक्रम बेरोजगार, अति विपन्न र असहाय परिवारको जीवन उकास्नका लागि सञ्चालित कार्यक्रम हो । जुन बारबर्दिया नगरपालिकामा पनि सञ्चालनमा रहेको छ । यसै कार्यक्रमका माध्यमबाट कोरोनाको समयमा सुनारले पनि काम गर्ने अवसर प्राप्त गरे । जसका माध्यमले कोरोनाको समयमा उनलाई परेको समस्या टार्न निकै सहज भइदियो । 

असहज बेलामा घरमै बसेर काम गर्न पाउँदा आफूलाई निकै सहज भएको उनको अनुभव छ । “कोरोनाको समयमा मैले यो काम गर्न पाउँदा निकै सजिलो भयो । त्यो बेला निकै प्रभावित थियौँ महामारीको बेला यो काम पाएर निकै सहज भयो । बाहिर काम गर्न जान सक्ने अवस्था थिएन तर, घर नजिकै काम गर्न पाउँदा धेरै राहत मिल्यो” उनले अनुभव सुनाउँदै भने, “हामीले साबुन पानी, स्यानिटाइजर, मास्क लगाएर सामाजिक दुरी कायम गरेर पनि काम गर्‍यौँ । छाक टार्न निकै त्यति बेला समस्या थियो यो कार्यक्रमको माध्यमबाट हामीलाई निकै सहज भयो । समयमा नै हामीले पारिश्रमिक पायौँ ।” त्यति बेला यो कार्यक्रममा सहभागी भएर कमाएको पैसाले दैनिक साँझ बिहान छाक टार्न निकै सहज भएको उनले बताए । उनी यो कार्यक्रम सय दिन मात्र नभइ कम्तिमा ६ महिनाको अवधिका लागि सञ्चालन हुनुपर्ने बताउँछन् । “एक त ज्याला रकम केही कम छ । त्यसमा पनि वर्षभरि मजदुरी गरेर खानेलाई सय दिनले केही राहत त मिल्ला तर, समस्या नै हुन्छ । सरकारले सय दिनको ठाउँमा कम्तिमा ६ महिनासम्म कार्यक्रम चलाइदिए म जस्ता धेरै परिवारलाई जीवन निर्वाह गर्न राहत मिल्ने थियो” उनले भने, “रोजगार नपाउनेहरूका लागि यो कार्यक्रम राम्रो छ तर, समय निकै कम भयो । यो समय बढाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ । ठूलो परिवार हुनेहरूका लागि सुदिन मात्र काम गरेर खान लाउन पुग्दैन । त्यसका लागि पनि सरकारले ध्यान दिनुपर्छ ।”

उनले अहिलेको महँगीमा कार्यक्रमामार्फत् पाउने ५७७ रुपैयाँ धेरै कम रकम भएको बताए । “सरकारी कर्मचारीको ज्याला बढ्छ तर, दैनिक ज्याला मजदुरी गर्नेहरूको पनि ज्याला बढाइदिएको भए अझ राम्रो हुने थियो । हामीले पाउने पैसा सबै खर्च भएर जान्छ,”उनले भने,“सरकारले कामको समय र ज्याला पनि बढाएर यो कामलाई प्रभावकारी रूपमा अघि बढाउन सक्यो भने विकास निर्माणको काममा पनि निकै सहज हुन्छ । यसतर्फ आगामी दिनमा ध्यान दिनुपर्छ की ।”  

वडा नम्बर ५ कै कल्पना कुमारी थारु दैनिक जीवन पनि मजदुरी र परिवारमा कृषि गरेर नै चल्ने गरेको छ । घरधन्दा गरेर काम गरेर केही आयआर्जन गर्न कार्यक्रमले उनलाई सजिलो त बनाएको छ । तर, उनको गुनासो पनि काम गर्ने समय र ज्याला कम भएकोमा नै छ । “पहिले काम पाउन निकै कठिन थियो तर, घरमै बसेर काम गर्न पाउँदा सजिलो भएको छ । बालबच्चालाई पढाउने र घरको खर्च पुराउनका लागि निकै राम्रो भएको छ,”उनले भनिन्,“ज्याला थोरै छ तर, पुरुष र महिलालाई बराबर पैसा दिँदा राम्रो छ । घरमै बसेर सबै घरधन्दा सकेर बाहिर काम गरेर पैसा कमाउन पाउँदा राम्रो भएको छ ।” 

उनको परिवारले कृषि खेती गरेर घर खर्च चलाउँदै आएका थियो तर, अहिले यो कार्यक्रममा जोडिएपछि उनी र उनको परिवारलाई नै राम्रो भएको छ । आफ्नै गाउँमा बसेर विकास निर्माणको काममा सहभागी भए बापत त्यसबाट थोरै भए पनि पारिश्रमिक पाउँदा त्यसले दैनिक जीवनयापन गर्न सहज बनाएको उनको पनि अनुभव रहेको छ । उनले पनि सरकारले यो कार्यक्रमलाई थप परिमार्जन गरेर लैजान सके सबैलाई सहज हुने धारणा राखिन् । 

थारू समुदायको बाहुल्यता रहेको क्षेत्रमा पर्दछ बारबर्दिया नगरपालिका । यहाँका मानिसहरूले मजदुरी गरेरै आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । त्यसमध्येकै अर्का हुन् दिपक थारु । वडा नम्बर ५ बस्ने थारूले दैनिक मजदुरी गरेर घर चलाउँदै आएका थिए । उनी पनि पहिलो पटक यो कार्यक्रममा जोडिएका हुन् । पहिलो पटक घरमै साँझ बिहान बसेर दिउँसोमा काम गरेर केही रकम आम्दानी गर्न पाउँदा उनलाई पनि निकै सहज त भएको छ । तर, उनको गुनासो काम गर्ने समय कम भएको र ज्याला पनि कम भएको मै छ । उनी पनि सरकारले काम गर्ने समय बढाएर अहिलेको महँगी अनुसार ज्यालामदजुरी रकम केही बढाउनुपर्ने बताउँछन् । “मजदुरी गरेरै घर खर्च चलाउने गरेको थिए । यो काम गर्न पाउँदा गाउँ घरको विकास पनि भएको छ अनि आफ्नै ठाउँमा काम पाउँदा धेरै सुविधा भएको छ,”उनले भने,“यो पैसाले घर चलाउने बच्चा पढाउने काममा खर्च गरेको छु । यतिकै पैसा कमाउन विदेश जान पनि गाह्रो हुन्छ ।” वडा कार्यालयबाट बेरोजगार सूचिकृतको फारम भर्ने सूचना आएपछि सोही अनुसार उनलेपनि निवेदन दिएका थिए। पछि छनोट भएर यो काम गर्न थालेका हुन् । उनलाई अहिले यो कार्यक्रम निरन्तरता भएर समय अझै बढाइदिएको भए अन्यत्र काम खोज्दै हिँड्नुपर्ने अवस्था नआउने बताउँछन् । 

वडा नम्बर ५ जबदहवा की मिना थारुको चार जनाको परिवार छ । उनकोपनि घरको आर्थिक स्थित कमजोरी नै हो । दैनिक ज्याला मजदुरी गरेर उनको परिवारको जीवन चल्दै आएको थियो। गाउँमा काम खोज्दै जानुपर्ने स्थिति विद्यमान थियो । जब गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भयो । उनले पनि निवेदन दिएर छनोट भएपछि काम गर्ने अवसर पाइन् । त्यसबापत उनले गाउँको विकासमा सहयोग पुराउने र त्योसँगै केही रकम आर्जन गर्ने अवसर पनि प्राप्त गरिन जसले उनलाई निकै सहज तुल्याएको छ । “मैलाइ यो कार्यक्रमबाट आएको रकमबाट बच्चा पढाउन र घर खर्च चलाउनका लागि निकै धेरै राम्रो भएको छ,”उनले भनिन्,“सय दिनका लागि मात्रै होइन अझै कार्यक्रमको समय र ज्याला बढाइदिएको भए धेरै राम्रो हुने थियो ।” गाउँमै पहिला काम गर्दा पुरुष र महिलालाई दैनिक दिने ज्याला रकममा विभेद हुने गरेको भए पनि यो कार्यक्रमले सबैलाई समान ज्याला दिँदा भने आफूलाई खुसी लागेको उनको अनुभव छ । 

“बराबर काम गरेकाले ज्याला पनि बराबर नै पाएको हो” उनले भनिन्,“ज्याला बराबरी पाउँदा त निकै राम्रो भयो । तर, ज्याला कम छ यो बढाइदिएको भए अझ राम्रो हुने थियो ।” घरको काम धन्दा सकेर काम गर्न पाउँदा सजिलो भएको उनको बुझाइ छ । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्राप्त गरेको पैसाले छोराको स्कुलमा पढाइ खर्च व्यहोरेको र केही रकमले घर चलाएको बताइन् । सरकारले यो कार्यक्रमलाई वर्षभरि नै निरन्तरता दिन सके अझ राम्रो हुने उनको बुझाइ छ । 

जुलुकुमारी थारुले अहिलेसम्म दुई पटक प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएर काम गरिसकेकी छन् । उनका श्रीमान्ले डकर्मी पेसा गरेर घरपरिवार चलाउँदै आएका थिए। एक जनाको आम्दानीले घर चलाउन कठिन भइरहेका बेला गाउँमै आएको यो कार्यक्रममा जोडिन पाएर केही रकम आम्दानी गर्न पाएपछि उनलाई पनि दैनिक घर चलाउन केही सहज भएको छ । आफैँ कार्यक्रममा सरिक भएर पैसा आर्जन गर्न सहज भएको छ । त्यहाँबाट आएको पैसाले छोराछोरीलाई पढाउन र दैनिक छाक टार्नका लागि धेरै नै सहयोग पुगेको उनको पनि बुझाइ छ । बारबर्दिया वडा नम्बर ५ की थारुलाई गाउँमा काम गर्दा पुरुष भन्दा महिलाले ज्याला कम पाइरहेको अवस्थामा यो कार्यक्रमले बराबर ज्याला दिँदा भने निकै राम्रो लागेको छ । “सबैले काम गरे बापत बराबर पैसा पाउने गरेका छौँ यो राम्रो हो । काम अझै बढाएर ज्याला बढाएको भए राम्रो हुने थियो” उनले भनिन्,“मैले दोस्रो पटक प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गरेको छु । समयमा नै हामीले पैसा पाउने गरेका छौँ । चामल, गहुँ किने अनि बच्चाको स्कुल खर्च तिरे । समयमा नै पैसा पाएको थिएँ ।” अन्त काममा जाँदा घर छोडेर जानुपर्ने अवस्था पहिला भए पनि यो कार्यक्रमले भने घरको काम सकेर दिउँसो काम गर्न सहज बनाएको उनको भनाइ छ । उनले यो कार्यक्रमबाट छोराछोरीको स्कुल खर्च तिर्न र घरमा खानेकुरा किन्नका लागि आफूलाई सजिलो भएको बताइन् ।  

बारबर्दिया ६ मनिकापुरकी सिता थारुलाई पनि पहिले भन्दा हिजोआज घर परिवार चलाउन सजिलो भएको छ । घरको काम पनि गर्न पाइने र दिउँसो गएर काम पनि गर्न पाउँदा धेरै खुसी लागेको उनको अनुभव छ । “घर नजिकै काम पाउँदा सजिलो भएको छ अलि–अलि व्यवसाय पनि चलाउन सकेका छौँ । महिला र पुरुषलाई बराबर काम गरेको बापत रकम दिने गरेको छ। यो राम्रो भएको छ,”उनले भनिन्,“मैले ६ वर्षअघि नै यो काम गरेको हुँ। पैसा समयमा नै दिने गरिएको छ । त्यहाँबाट आएको पैसाले घर चलाउन सजिलो भयो।” उनले आफ्नै गाउँ घरमा काम गर्न पनि पाइने र विकास निर्माणमा पनि सहभागिता हुँदा त्यसले राम्रो गरेको बताइन। “काम गर्न सहज त छ तर, हामीलाई यस बापत पाउने ज्याला रकम भने निकै कम छ सरकारले अझै यो ज्याला बढाइदिएको भए धेरै राम्रो हुने थियो,”उनले भनिन्,“काम गर्ने औजार, खानेपानी, औषधि लगायतको पनि व्यवस्था गरिदिएको भए अझै हामीलाई राम्रो हुने थियो ।”

वडा नम्बर ६ कै हेलन घर्तीमगरलाई पनि यो कार्यक्रमले जीविकोपार्जनमा निकै सहज बनाएको छ । उनकोपनि आर्थिक अवस्था निकै कमजोर थियो । दैनिक मजदुरी गरेर नै घर खर्च चलाउने गरिन्थ्यो। आयआर्जन गर्ने अन्य कुनै माध्यम थिएन। तर, यो कार्यक्रममा छनोट भएर काम गर्न पाएपछि उनलाई पनि निकै सहज भएको छ । “केटाकेटी पढाउन सजिलो भएको छ । बिहान बेलुका घरमै खाना खाएर आफ्नो ठाउँको विकास गर्न पाइएको छ भने अर्कोतर्फ काम गरे बापत पैसा पाइन्छ त्यसले छोरा पढाउन र साँझ बिहान घरको खर्च टार्न सजिलो भएको छ” उनले भनिन्,“ सरकारले यो ज्याला बढाइदिएको भए अझ राम्रो हुने थियो ।” उनले सुदिन काम गरेर फेरी रोजगारीका लागि भतारिनुपर्ने अवस्था बन्ने भन्दै कामसँग सँगै सरकारले यस कार्यक्रममार्फत सिपमूलक काममापनि जोड दिन सक्नुपर्ने धारणा राखिन् । “सरकारले यसै काम मार्फत सिपमूलक काम पनि सिकाइदिए त त्यसले पछि केही व्यवसाय गरेर पनि काम गर्न सकिन्थ्यो । कि त यो काम वर्षभरि गर्न पाए हामीलाई राम्रो हुने थियो” उनले भनिन्,“यो काम बढाउनेतर्फ सरकारलेपनि ध्यान दिन सक्नुपर्छ ।”

बारबर्दिया नगरपालिका रोजगार संयोजक रामबहादुर थापा बेरोजगार व्यक्तिलाई निवेदन दिन प्रत्येक फागुन महिनामा आह्वान गर्ने गरिएको बताउँछन्। वडामा निवेदन दिएपछि त्यसको छनोट प्रणालीमार्फत हुने गर्दछ । प्रत्येक वर्ष बेरोजगारहरूको सूचीकृत गर्नका लागि निवेदन आह्वान हुने गर्दछ । र सूचीकृत सूचीमा रहेकाहरूलाई मापदण्डका आधारमा काम दिने गरिन्छ । “स्थानीयले वडामा गएर निवेदन दिनुहुन्छ । चैतमा नगरपालिकाको रोजगार कार्यालयमा फारम आउँछ। सफ्टवेयर प्रणाली मार्फत फारम इन्ट्री गर्छौँ। बजेट बाँडफाँड गरेपछि कति बजेट आउँछ । त्यसै अनुसार प्राथमिकता अनुसार ९ वटा मापदण्ड अनुसार हेरेर वडामा पठाउँछौँ”उनले भने,“सिस्टमले नै प्राथमिकता निर्धारण गरिसकेको हुन्छ । त्यस अनुसार नै केन्द्रबाट आएको बजेटका आधारमा लाभग्राही छनोट गरेर योजना निर्धारण गरेर काम अघि बढाइन्छ ।” चालु आर्थिक वर्षको बजेट अनुसार नगरपालिका क्षेत्रमा २१३ जनाले रोजगारी पाएर यो कार्यक्रममा आबद्ध भएको उनी बताउँछन् । “वडाले निर्णय गरिसकेपछि वास्तविक गरिबहरूको सङ्ख्यालाई हेरेर हामीले काममा लगाउने गरेका छौँ । हाम्रोमा बाटोघाटो नै निर्माणको काम भइरहेको छ। योजना के हो त्यस विषयमा प्राविधिकले तयार गर्छन्। यसमा अदक्ष कामदार मात्रै हामीले लगाउने हो,”उनले भने,“योजना सम्पन्न भइसकेपछि त्यसको गुणस्तर लगायतका विषय प्राविधिक टोलीले हेरेर निर्णय गरिसकेपछि लाभग्राहीलाई रकम भुक्तानी गर्छौँ ।” 

उनले सबै प्रक्रिया पुरा भइसकेको कम्तिमा साता दिनभित्रमा उनीहरूकै खातामा रकम जम्मा हुने गरेको बताए। योजनाको अनुगमन र मूल्याङ्कन गर्नका लागि उपमेयरको संयोजकत्वमा समिति निर्माण गरिएको छ । प्राविधिक, रोजगार संयोजक लगायत सबैको सहभागितामा अनुगमन गरेर योजना प्रक्रिया पुरा भएको देखिएपछि भुक्तानी हुने गरेको छ । 

उनले रोजगार कार्यक्रम अन्तर्गत गत वर्ष ३५ किलोमिटर सडक खन्ने काम भएको बताए । भने यस वर्ष २५ किलोमिटर जति सडक खन्ने काममा श्रमिक लागिरहेको उनको भनाई छ । गत वर्षका साँघुरो बाटोलाई चौडा गर्ने काममा केन्द्रित हुने गरेका छौँ । वडामा रहेका प्रतिनिधिले नै लाभग्राहीका विषयमा जानकार हुन्छन् र त्यसै अनुसार उनीहरू प्राथमिकतामा पर्ने गरेको उनी बताउँछन् । “कोही प्राथमिकतामा नपर्ने अवस्था छ तर, घरमा असहज छ भने वडाले निर्णय गरेर पठाए कार्यपालिकाको बैठकबाट निर्णय गरेर पनि हामीले काममा लगाउँछौँ”उनले भने,“यो कार्यक्रममा सूचिकृत हुन आउने भनेको सुकुम्वासी परिवार दलित परिवार अपाङ्ग पनि रहेका छन् ।” सूचीकृत भइ काम गर्नेहरूले यो कार्यक्रमको माध्यमबाट सानो रकम लगानी गरेर भए पनि कतिपय घरमै व्यवसाय गरिरहेको उनको भनाई छ । “कतिपय प्लस टु गरेका व्यक्तिले पनि यसमा सहभागी भएर काम गरेको देखिन्छ । शिक्षित बेरोजगारलाई हामीले समेटन सकेका छैनौँ। सुरुमा धेरै फारम भर्नेहरू परेका थिए । बेरोजगारी समस्या भएकालेपनि होला । तर, पछि त्यो घट्दै गएको देखियो,”उनले भने,“यो कार्यक्रम अलिकति सिपमूलक भइदिए सहज हुने थियो। सय दिनको काम गरेको पैसा आउँछ तर, त्यो दैनिक खर्च टार्नमा नै सकिन्छ ।” सिपमूलक काममा लगाउन सकेको भए बेरोजगारी समस्या समाधान गर्न झनै सहज हुने बुझाइ उनको पनि छ। “यहाँ ७० प्रतिशत थारु समुदाय रहेको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बाटो चौडा गर्ने, मर्मत गर्ने लगायतका धेरै काम हुने गरेकाले धेरै मानिस यसमा आबद्ध भएको देखिन्छ। सिपमूलक तालिम भएको भए झन् सहज हुन्थ्यो,”उनले भने, “बाटो बनाउने काम गरेका छौँ त्यहाँ ह्युमपाइप हाल्नुपर्ने अवस्था आए त्यसमा समस्या हुन्छ। लाभग्राहीले नै भन्छन् सय दिन मात्र गरेर के गर्ने नियमित भइदिए हुन्थ्यो भन्छन्। सय दिनको सट्टा ६ महिनासम्म भएको भए पनि धेरै राम्रो हुन्थ्यो भन्ने हो ।” कार्यक्रमलाई प्रभावकारी बनाएर अझै व्यवस्थित बनाउनेतर्फ नगरपालिकामा रहेको रोजगार कार्यक्रमले पनि ध्यान दिइरहेको उनले बताए । 

वडा नम्बर ५ का अध्यक्ष लालबहादुर चौधरी प्रधानमन्त्री रोजगार कार्यक्रमले आफ्नो वडामा निम्न आयस्रोत भएका परिवारलाई अलिकति भए पनि आर्थिक सहयोग पुगेको बताउँछन् । “काम गर्ने मौका पनि हुने आयस्रोत पनि हुने। वडाको विकास पनि हुने। वडाले काम गर्नैपर्छ यो कार्यक्रमबाट ज्याला मजदुरी गर्ने मानिस पनि हुँदा सहज भएको छ,”उनले भने,“मेरो वडामा बाटोघाटो निर्माणमा धेरै सजिलो भएको छ।” अहिले वडामा रहेका अति विपन्न परिवारका सदस्य कामकै लागि बाहिर जानुपर्ने अवस्था नरहेको उनी बताउँछन्। “एकसयदिन आफ्नै परिवारमा बसेर काम गर्न पाएका छन् । साँझ बिहान घरपरिवार पनि हेर्न सक्ने र दिउँसो यो कार्यक्रमबाट आयआर्जन गर्न पनि सहज भएको छ,”उनले भने,“सरकारले यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । ज्याला दर र कामको समय पनि बढाउन सके अझ राम्रो हिसाबले कार्यक्रम अघि बढ्छ ।” यसलाई थप प्रभावकारी बनाएर लैजान सकियो भने गाउँको विकासमा महत्त्वपूर्ण हुने भन्दै सरकारले योजना बनाएर अघि बढाउनेतर्फ ध्यान दिनुपर्ने उनी बताउँछन् । 

रोजगार कार्यक्रममा प्राविधिक भूमिका निर्वाह गरिरहेका रमेशकुमार थारु आयोजनाको गुणस्तर कायम गर्न वडाबाट नै सुचारु गर्दै आएको बताउँछन् । “समन्वय गरेर समय समयमा अनुगमन गरेर बाटोको गुणस्तर कायम गर्ने काम गर्छौँ। हामी उपभोक्ता र नगरपालिकाबाट नै समन्वय गरेर अनुगमन गरेर भुक्तानीको प्रक्रियामा जाने गर्दछौँ,” उनले भने । जनताहरूमनि कार्यक्रमबाट आम्दानी पनि हुने र बाटोघाटो लगायतको विकास पनि हुने भएकाले निकै खुसी रहेको उनको बुझाइ छ । उनले कृषियोग्य जमिन क्षेत्रमा पनि बाटोको निकास भएकाले त्यसले कृषकलाई काम गर्न आउन जान सहज भएको बताए । “कतिपयको जमिन कम छ उनीहरूको बाटो निकास गर्दा जमिन काटिने गर्दा समस्या भएको छ । काम गर्दा उपभोक्ता र कामदारको कुरा सुन्दा खेरी काम अनुसार ज्याला कम भएको गुनासो धेरै रहेको छ। काम गराउँदा पनि केही असहज भएको छ”उनले भने,“यसमा सरकारले अहिलेसम्म यो कार्यक्रमले पारेको प्रभाव र अब गर्नुपर्ने कामका बारेमा अध्ययन गरेर काम गर्न सके अझ राम्रो हुन्छ होला ।”

बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला यो कार्यक्रम रोजगारी सिर्जना गर्ने र बेरोजगार व्यक्तिलाई श्रममार्फत अनुदान दिने कार्यक्रमका रूपमा रहेको बताउँछन्। “हाम्रो नगरपालिकाको हकमा हामीले नयाँ बाटो खोल्ने सम्बन्धी बढी काम गर्दै आएका छौँ । गाउँपालिका र नगरपालिकाको हकमा फरक भए पनि हामीले बाटो खोल्ने काम गरेका छौँ,”उनले भने,“अहिलेसम्म ३० वटा योजनामा २४ सम्पन्न भइसके ६ सम्पन्न हुने क्रममा छन्।” रोजगारी मात्र दिने भन्दा पनि भौतिक पक्षलाई पनि समेट्ने खालको भएमा अझ प्रभावकारी हुन सक्ने उनी बताउँछन् । “यहाँका धेरै जसो पुरुष घरपरिवार चलाउनका लागि रोजगारी गर्न भारत लगायत बाहिर जाने गर्छन् । तर, यो काममा धेरै महिलाहरूको सहभागिता धेरै भएको हामीले पाएका छौँ,”उनले भने,“यसलाई सरकारले प्रभावकारी बनाउनुपर्छ । र नगर स्तरबाट पनि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ भन्ने हामीले सोचेका छौ ।”   

बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारु प्रधानमन्त्री रोजगार कार्यक्रम समय सान्दर्भिक रहेको बताउँछन् । “यो कार्यक्रमको माध्यमले विकास निर्माणमा टेवा पुगेको छ। गाउँ समुदायमा रोजगारी सिर्जनामा पनि भएको छ,”उनले भने,“स्थानीय तह र रोजगार कार्यक्रमबीच साझेदारी भएर यस विकास निर्माणको कामलाई सहज बनाएको छ ।”

उनले आफू नेतृत्वको नगरपालिकाका ११ वटै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा रहेको बताए। “एउटा वडाबाट अर्को वडामा जाने बाटोहरू निर्माण भएका छन् । पहिले निर्माण हुन सक्ने स्थिति थिएन अहिले त्यो सहज भएको छ । गाभ्रेल चाहिने र ह्युमपाइप चाहिने ठाउँमा नगरपालिकाले काम गरिरहेको छ,”उनले भने,“समग्रमा भन्दा यो कार्यक्रमले विकास निर्माणको कामलाई निकै सहज बनाएको छ ।”

सुरुवातमा गाउँमा सडक निकासको समस्या धेरै भए पनि अहिले कार्यक्रमले त्यसलाई निकै सहज बनाएको उनी बताउँछन्। “जनतालाई प्रत्यक्ष सुविधा भएको छ भने स्थानीय गरिब विपन्नले रोजगार पाइरहेको छ । रोजगार र विकास सँग जोडिएको छ। यसलाई निरन्तरता दिनुपर्छ भन्ने हो तर, सधैँभरि यसैबाट हुन्छ भन्ने त हुँदैन,”उनले भने,“यो कार्यक्रमलाई समयानुकूल हिसाबले अझै व्यवस्थित बनाएर लैजानेतर्फ संघीय सरकारको ध्यान जानुपर्दछ ।” भोलीका दिनमा भौतिक संरचना लगायतका विकास निर्माणका काममा पनि सिपमूलक जनशक्ति उत्पादनतर्फ ध्यान दिएर परिचालन गर्न सकियो भने त्यसले थप प्रभावकारी काम हुने उनको बुझाई छ । “पढे लेखेका मानिसका लागि यो काम गर्न असहज भएको छ उनीहरूका लागि पनि सहज हुने गरेर यो कार्यक्रमलाई अघि बढाउन सकियो भने यसले निश्चय पनि निकै राम्रो गर्छ,”उनले भने,“ हाम्रो नगरपालिकामा फारम भरेका धेरै हुनुहुन्छ एकै पटक रोजगार दिन सक्ने स्थिति पनि छैन ।” उनले फारम भरेका जतिलाई बजेट अनुसार प्राथमिकरणमा राखिने भन्दै सबैले धैर्य गर्नुपर्ने बताए। “यो कार्यक्रम मात्र होइन हामीले अन्य वैकल्पिक आयआर्जनका कामसँग नगरवासीलाई जोड्ने काम गर्ने योजनामा छौँ त्यसको तयारी पनि गरिरहेका छौँ,”उनले भने । 

लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा पर्ने बारबर्दिया नगरपालिका २०७३ साल फाल्गुन २७ गते बनेको नगरपालिका हो। साविक बानियाभार, पदनाहा, मगरागाडी र धधवार सहित ४ गाविस समाहित गरी यो नगरपालिकाको निर्माण भएको हो । यस नगरपालिकामा जम्मा ११ वटा वडाहरू छन् । बारबर्दिया नगरपालिका बर्दिया जिल्लाको मध्य भागमा २८ डिग्री २६ मिनेट देखि २८ डिग्री ३६ मिनेट उत्तर अक्षांश सम्म र ८१ डिग्री ३० मिनेट देखि ८१ डिग्री ५० मिनेट उत्तर देशान्तर सम्ममा अवस्थित रहेको छ। यस नगरपालिकाको सिमाना पूर्वमा बाँसगढी नगरपालिका, पश्चिममा मधुवन नगरपालिका, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र ठाकुर बाबा नगरपालिका तथा दक्षिणमा गुलरिया नगरपालिका रहेको छ । राष्ट्रिय जनगणना २०७८का अनुसार नगरपालिकाको घरधुरी संख्या १६८९७ र कुल जनसङ्ख्या ७२५३३ रहेको छ । २२६.०९ वर्ग किमी क्षेत्रमा फैलिएको नगरपालिकाको उचाइ समुन्द्री सतहदेखि करिव १७५ मिटरमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस