बजेटले नसमेटेको भन्दै सामुदायिक विद्यालयका शिक्षक कर्मचारी आन्दोलित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बजेटले नसमेटेको भन्दै सामुदायिक विद्यालयका शिक्षक कर्मचारी आन्दोलित


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटबाट आफूहरूको माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकलगायत कर्मचारीहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

आइतबार काठमाडौँको माइतीघरबाट नयाँबानेश्वरसम्म थाल थटाएर उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलबमान कायम गर्नुपर्ने आफूहरूको मागमा बजेटले कुनै सम्बोधन नगरेकाले प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरूले संघीय शिक्षा ऐन तत्काल जारी गर, मानवअधिकार रक्षा गर, निःशुल्क शिक्षा लागु गर, सहमति सम्झौता कार्यान्वयन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले विद्यालयमा काम गर्ने कर्मचारीहरू खानका लागि समस्या भएको अवस्थामा सरकारले आफूहरूको कुनै माग सम्बोधन गर्न नसकेको गुनासो गरे । सरकारले खाली थालमा खाना राख्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

आफूहरूको मागका विषयमा सरकारसँग औपचारिक रूपमा कुनै कुराकानी नभएको र अनौपचारिक कुराकानीमा भने आफूहरूलाई घर जाने वातावरण बनाउन सुझाव दिएको तिवारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस