स्थापनाको ९ वर्षमै विकासले गति लिएको टोखा नगरपालिका « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

स्थापनाको ९ वर्षमै विकासले गति लिएको टोखा नगरपालिका


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । टोखा नगरपालिका स्थापना भएको ९ वर्ष पुगेको छ । २०७१ माघ १६ गते सरकारले साविक झोरमहांकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोगंवु गाविस मिलाएर टोखा नगरपालिका बनाउने निर्णय गरेको थियो । यस नगरपालिका अन्तर्गत काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. ५ र ६ को केही भागहरू समेटिएका छन् । 

२०७२ मा संविधान जारी भइसकेपछि मुलुक संघीय संरचनामा गयो । र, २०७४ मा नगरपालिका भइसकेपछि पहिलो पटक स्थानीय जनप्रतिनिधि निर्वाचित भएर आएका थिए । पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको पहिलो वर्ष जनप्रतिनिधिले काम गरिसकेका छन् । विगतमा विकास निर्माणका क्षेत्रमा पछि परेको यो क्षेत्र नगरपालिका बनेर स्थानीय सरकारका रूपमा रूपान्तरण भएसँगै विकास निर्माणले गति लिएको छ । 

नगरक्षेत्रभित्र प्रत्येक ठाउँमा बाटोघाटो, खानेपानी र विद्युत पुगेको छ । जसबाट नगरवासी उत्साहित भएको देखिन्छ । टोखा नगरपालिका १ का स्थानीय डोलप्रसाद अधिकारी नगरपालिका निर्माण भएर जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि पहिलेको भन्दा विकास निर्माण धेरै भएको बताउँछन् । “बाटो, खानेपानी, बिजुलीको राम्रो विकास भएको छ । सडकहरू सबै पक्की बन्न नसके पनि घरैपिच्छे बाटो पुगेको छ,” उनले भने ।

वडा नम्बर ६ का प्रमोद गौतम पनि पहिले धापासी गाविस मात्रै हुँदा विकास निर्माण खासै हुन नसकेको बताउँदै अहिले नगरपालिका भइसकेपछि धेरै काम भएको बताउँछन् । “जसरी हुनुपर्ने हो त्यसरी नभए पनि फरक धेरै भएको छ । विकास निर्माणको गति अझै बढाउनुपर्छ,” उनले भने । 

उपत्यकामा रहेका स्थानीय तहमध्ये टोखालाई सबैभन्दा व्यवस्थित र सुविधा सम्पन्न बनाउने अभियानको नेतृत्व गरिरहेका छन् नगरप्रमुख प्रकाश अधिकारीले । २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएर पहिलो पटक नगरप्रमुख बनेका अधिकारी २०७९ मा भएको निर्वाचनमा पनि नगरप्रमुखमा दोहोरिएका छन् । नगरवासीले नगरको समग्र हितमा अधिकारीले पहिलो कार्यकालमा उत्कृष्ट काम गरेकै कारण दोस्रो कार्यकालमापनि उनलाई नै जिताएर पठाएका हुन् ।

नगरप्रमुख अधिकारी पनि आफूले पहिलो कार्यकालमा गरेको राम्रो कामकै कारण दोस्रो कार्यकालमा पनि निर्वाचित गराएको प्रष्ट पार्छन् । “पहिलो कार्यकालमा पनि अत्यधिक मत ल्याएर विजयी भएको थिएँ । पूर्वाधार विकासमा ठूलो फड्को मारेकै कारण दोस्रो कार्यकालका लागि पनि निर्वाचित हुन सकेको हुँ,” उनले प्रशासनसँग भने,“जनसमुदायको हितमा रहेर उनीहरूसँग समन्वय र सहकार्य गरेरै नगरपालिकाले काम गरिरहेको छ ।” उनले नगरपालिका अन्तर्गत लाइफलाइन सडक अन्तर्गत ४÷५ वटा सडकहरू अहिलेसम्म निर्माण भएको बताए । 

“पूर्वाधारसँग जोडिएका विषय सडक, ढल र खानेपानी नै हो । अहिले नगरक्षेत्रभित्र साना–ठुला गरेर ६/७ सय वटा बाटाहरू छन् । सबै स्तरोन्नति र विकसित बनाउन चाहिरहेका छौँ,”उनले थपे, “पहिलो वर्ष पुरा गर्न नसकिएका काम दोस्रो कार्यकालको अवधिमा सम्पन्न गराइने छ ।”

उनले पहिलो आवश्यकता भनेको पूर्वाधार विकास नै भएको भन्दै त्यो पुरा गर्नका लागि टोखा नगरपालिकाको स्रोत परिचालन गर्न आफू तयार रहेको बताए । अन्य जनप्रतिनिधिलाई पनि त्यसै अनुसार काम गर्न निर्देशन दिइएको उनी बताउँछन् । टोखा नगरपालिकाले पहिलो कार्यकालमा चीनको एउटा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न सकेको थियो । त्यही सम्बन्धका कारण कोरोनाको सङ्क्रमणको बेला टोखा नगरपालिकाले स्वास्थ्य उपकरण र सामग्री प्राप्त गर्न सकेको थियो । जसले गर्दा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी बनेको अधिकारी प्रष्ट पार्छन् । 

मेयर दीर्घायु जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम 

नगर प्रमुख अधिकारीले पहिलो कार्यकालमै सुरू गरेको कार्यक्रम हो ‘मेयर दीर्घायु जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’, जुन कार्यक्रमले अहिले पनि निरन्तरता पाएको छ । “धेरै नगरवासीका छोराछोरी परिवारको स्वर्णिम भविष्यका लागि बाहिर छन् । कामको व्यस्तताका कारणले घरमा बाबुआमाको स्वास्थ्य कस्तो छ भन्ने बुझ्न पनि नपाउने अवस्था छ । हामीले सर्भे गर्‍यौँ, जनचेतना होस भनेर समयमा रोग पत्ता लागोस् भनेर हामीले यो परियोजना अघि सारेका हौँ । ६० वर्ष माथिको नागरिकले निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउनुहुन्छ,”उनले भने,“त्यसबाट सबै लाभान्वित भएका छन् ।”  

स्थानीय डोलप्रसाद अधिकारी पनि मेयर दिघार्यु कार्यक्रमले धेरै राम्रो गरेको बताउँछन् । “उमेर भइसकेका हामीलाई कुनै न कुनै रोग त देखिन्छ नै । अस्पतालमा पनि डाक्टरले राम्रो गर्छन् । टाढा महँगो अस्पतालमा जान पनि सक्दैनौँ । त्यस कारण हामीलाई राहत मिलेको छ । घरपिच्छेका बूढाबूढीले सम्झिनुपर्छ । हाम्रा लागि त्यति योग्य काम भएको छ,” उनले भने ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी. पनि मेयर दीर्घायु कार्यक्रम प्रभावकारी रूपमा अघि बढिरहेको बताउँछन् । नगरपालिकाका जन स्वास्थ्य निरीक्षक राधाकृष्ण श्रेष्ठ गुणस्तरीय स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुग्न नसकेको तथ्यप्रति टोखा नगरपालिका सजग रहेको बताउँछन् । “नगरपालिकाले ५० वर्ष माथिका मधुमेह र उच्च रक्तचापका दीर्घ बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउने तयारी गरिरहेको छ । अर्कोतर्फ उपचारको क्रममा रगत आवश्यक पर्दा रगतका लागि निश्चित शुल्क तिर्नु पर्ने व्यवस्था रहेकोमा यस नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरी नगरवासीलाई कुनै शुल्क नलाग्ने व्यवस्था मिलाएको छ,” उनले भने, “समग्रमा भन्दा टोखा नगरपालिकाले ‘स्वस्थ टोखा र स्वस्थ टोखा बासी’ नाराका साथ सबैको पहुँचसम्म सहज र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने नीति लिएको छ ।” 

मेयर दिवा खाजा कार्यक्रम

नगरपालिकाले सुरू गरेको अर्को प्रभावकारी कार्यक्रम हो ‘मेयर दिवा खाजा कार्यक्रम’, जुन कार्यक्रमका माध्यमबाट गरिब, असहाय बालबालिकाको पठन पाठनमा सहजता ल्याएको छ । यो कार्यक्रम पनि पहिलो कार्यकालमै सुरू गरिएको थियो । नगरपालिका क्षेत्रभित्रका ८ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूका लागि यो कार्यक्रम लागू गरिएको नगरप्रमुख अधिकारी बताउँछन् । “मैले पहिलो कार्यकालकै अवधिमा विद्यालयको अनुगमन गर्न जाँदा मध्यमस्तरको बालबालिकाले खाजा खाइरहेको तर, श्रम गर्नेका बालबालिकाले टुलुटुलु हेरेको देखेपछि मैले निर्णय गरेर अघि बढ्नुपर्छ भनेर मेयर दिवा खाजा कार्यक्रमको निर्णय गराएको थिए । दोस्रो कार्यकालमा पनि त्यसलाई निरन्तरता दिएको छु। खाजामा बराबर होस भनेर त्यो कार्यक्रम ल्याइएको हो” उनले भने । 

त्यस्तै नगरपालिका क्षेत्रमा मेयर उज्यालो कार्यक्रम, मेयर शिक्षा, स्वास्थ्य कार्यक्रम लगायतका कार्यक्रम पनि सञ्चालित रहेका छन् । “गरिबीका कारण कसैलेपनि बच्चालाई पढाउन पाएन भनेर वञ्चित हुनुपर्ने अवस्था छैन। गरिबहरूका लागि मात्रै यो कार्यक्रम हो। शिक्षालाई अनिवार्यता गरिएको छ । धेरै लाभान्वित भएका छन् । पैसा नै नभएका कारणले कोही पढ्नबाट वञ्चित हुनुपर्दैन,”उनले भने । 

नगर शिक्षा शाखा प्रमुख बाबुराम गौतम शिक्षा क्षेत्रलाई मानिसको क्षमता विकासको मुख्य आधारशिला मानेर नगरपालिकाले काम गरिरहेको बताउँछन् । “यो तथ्यलाई आत्मसात् गर्दै टोखा नगरपालिकाले पनि गुणस्तरीय शिक्षामा सबैको पहुँच पु¥याउन पूर्वाधार निर्माण, गुणस्तर सुधार र वालमैत्री शिक्षण सिकाइलाई जोड दिइरहेको छ,” उनले भने,“जसका कारण पछिल्लो समय सामुदायिक विद्यालयहरूमा आशा लाग्दा सुधारहरू देखिएका छन् ।”

कृषि, उद्योग, पर्यटन र अन्य क्षेत्र पनि प्राथमिकतामा

टोखा नगरपालिकाले नगरको वृहतहितलाई ध्यानमा राख्दै कृषि, उद्योग, पर्यटन, युवा तथा महिला सशक्तीकरण लगायतका कामला पनि प्राथमिकतामा राखेको छ । नगरप्रमुख अधिकारी आफूहरूको परिकल्पना एक वडा एक उद्योग चलाउने रहे पनि सीमित स्रोतसाधनका कारण त्यो सम्भव हुन नसकिरहेको बताउँछन् । तर, पनि युवा वर्गलाई सिपमूलक र दक्ष बनाउनका लागि नगरपालिकाले काम गरिरहेको उनको भनाइ छ। “२० हजार युवालाई तालिम दिन तयार छौँ । इलेक्ट्रिक, पलम्बिङ लगायतका सबै तालिमको अवसर प्रदान गरेका छौँ । त्यो भन्दा पनि अझ प्रभावकारी तालिमका लागि हामी योजना बनाउँदै छौँ। नगरको विकास मात्रै होइन नगरवासीको व्यक्तिगत विकास गर्नका लागि पनि हामी तयार छौँ,” उनले भने ।  

वडा नम्बर ६ की अध्यक्ष शान्ता खनाल महिलालाई आत्मनिर्भर बनाउनका लागि योजनामा राखिएको र आवश्यक तालिम सञ्चालन गर्ने लगायतका भइरहेको बताउँछिन् । “योजना तर्जुमा भनेको वडाबाटै चरणबद्ध छान्दै जाने हो । आएको योजनालाई प्राथमिकतामा राखेर काम गर्छौँ । महिला हिंसा न्यूनीकरणका लागि वडा तहसम्मै समिति बनेर काम भइरहेको छ,” उनले भनिन् । वडा नम्बर ६ की महिला सदस्य तन्जु नेपाल लुइँटेल महिलाहरूका लागि सिपमूलक कार्यक्रम चलाइरहेको बताउँछिन् । “ब्युटी पार्लर, सिलाई बुनाइ, उद्घोषण, मन्टेश्वरी, मोतीको माला बनाउनेलगायतका सिपमूलक तालिम दिने गरेका छौँ । महिलालाई सक्षम बनाउनका लागि नगरपालिकाले काम गरिरहेको छ,” उनले भनिन् । 

नगर उपप्रमुख मुरारी तामाङ नगरको विकासलाई प्रभावकारी बनाउन विकास निर्माणको गुणस्तरमा ध्यान दिने गरिएको बताउँछन् । “विकास निर्माणको काममा गुणस्तरीयता हेर्ने गर्छौँ। अनुगमन र मूल्याङ्कन गरेर मात्रै भुक्तानी दिने गरिएको छ,” उनले भने । उनका अनुसार न्यायिक समितिले पनि त्यहाँ आउने उजुरीको उचित सम्बोधन गर्दै आएको छ । “जग्गा, साँधसीमानाको किचलो, घर झगडा, सम्पत्ति लगायतका विषयकै विवाद आउँछन् । कानुनी सल्लाहकारसँग जटिल मुद्दामा सल्लाह लिएर काम गर्छौँ । पहिलो कुरो मेलमिलाप नै हो । अदालतमा पठाएर कसैले मुद्दा जितेर आए पनि त्यो समाधान हुँदैन । त्यसैले मेलमिलापको नीतिलाई पहिलो प्राथमिकतामा राखेका छौँ” उनले भने । 

प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी. स्थानीय सरकारलाई संविधान र कानुनले प्रदान गरेको अधिकारलाई प्रयोग गरेर नगरपालिकाले काम गरिरहेको बताउँछन् । “पहिलो कुरा जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने नै दायित्व हो । न्याय सम्पादन गर्ने कुरा हो । १३ वटा विषयगत शाखाबाट सेवा प्रदान गराउँदै आएको छ । सबै विषयसँग जोडिएका सेवाहरू प्रदान गर्दै आइरहेको छ” उनले भने, “विकासका पूर्वाधारलाई समयमा सम्पादन गर्ने, आधारभूत आवश्यकतासँग जोडिएका विषयलाई बजेट र कार्यक्रमले गरेको आदेश कार्यान्वयन गर्ने काम गरिरहेको छ। स्वास्थ्यसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेको छ”

उनले कृषि क्षेत्रको अधिकतम उपयोग गर्ने नीति अनुसार काम भइरहेको बताए । त्यस्तै उनले राष्ट्रिय भवन निर्माण आचारसंहितालाई नै प्रभावकारी रूपमा कार्यान्वयन गरिएको बताए । टोखा नगरपालिकाले आफूलाई आवश्यक पर्ने ५० वटा ऐन निर्माण गरिसकेको छ । त्यसै गरी पूर्वाधारतर्फ कल्भर्ट, खेल मैदान, वडा कार्यालय र सार्वजनिक भवनहरू, ह्ुामपाईप बिस्तार, पुरातात्त्विक र ऐतिहासिक सम्पदाहरूको पुन निर्माण र जीर्णोद्धार, सडक बत्ती र सी.सी.टिभी जडान, पदमार्गहरूको निर्माण लगायतको काम पनि भइरहेको छ । नगरभित्र पर्ने विष्णुमती, साङ्ले खोला, सपनतीर्थ लगायतका नदीनालाहरूको नियन्त्रण र ताल र पोखरीहरूको संरक्षण, सार्वजनिक जग्गाहरूको खोजी र संरक्षण लगायतका कार्यहरू समेत तीव्र गतिमा भएका छन् । काठमाडौँ उपत्यका जस्तै टोखा नगरपालिका पनि खानेपानीको समस्याबाट अति प्रभावित छ । त्यसलाई ध्यानमा राखेर खानेपानीको समस्या समाधानलाई मुख्य प्राथमिकताको रूपमा अङ्गीकार गरिएको नगरपालिकाको भनाइ छ ।

विविध सम्भावना र सामर्थ्य रहेको टोखा नगरपालिकालाई समृद्ध र न्यायपूर्ण सहरको रूपमा विकास गर्न नगरपालिले विभिन्न योजना, कार्यक्रम र अभियानहरू कार्यान्वयन गरिरहेको छ । नगरले सडक, खानेपानी, ढल लगायतका पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर सँगसँगै सबैको पहुँच पुग्ने वातावरण निर्माण लगायतका कार्यलाई योजनाबद्ध रूपमा अगाडि सारेको छ । त्यसै गरी पर्यटन, कृषि, रोजगारी, महिला सशक्तीकरण, लगायतका क्षेत्रलाई समेत नगरपालिले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको छ । खास गरी सेवा प्रवाह, विकास निर्माण र स्थानीयको जीविकोपार्जनमा सुधार लगायतका कार्यलाई सहज, जनमैत्री र सन्तुलित रूपमा कार्यान्वयन गर्न/गराउन टोखा नगरपालिका प्रतिबद्ध रहेको देखिएको छ ।  

नगर प्रमुख अधिकारी टोखा नगरको स्वच्छता, पर्यावरण र सार्वजनिक जग्गाको संरक्षणलाई दृष्टिगतगरी नगरपालिकाले एक वडा एक पार्क निर्माणको अवधारणा कार्यान्वयन गरिरहेको बताउँछन् । जसअन्तर्गत वडा नम्बर १ को बौडेश्व, वडा नम्बर ४ को लाम्पाखा, वडा नम्बर ६ को सूर्य पार्क र लाखे डाँडा, वडा नम्बर ८ को रमण बस्ती लगायतका स्थानमा पार्क निर्माण भइसकेका छन्। टोखा नगरपालिका धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण थलो हो । यहाँ महेन्द्रेश्वर शिवालय, मनोहर तीर्थस्थल, पियाखेर महादेव, जालपा मन्दिर, चण्डेश्वरी मन्दिर, सपनतीर्थ मन्दिर र बौडेश्वर महादेव तथा झरना लगायतका धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका पर्यटकीय क्षेत्रहरू छन् ।  

नगर प्रमुख अधिकारी सीमित श्रोत साधनकावीच तीव्र जनआकाङ्क्षा र ठुला ठुला पूर्वाधार परियोजना निर्माणलाई सम्बोधन गर्न समस्या रहे पनि नगरवासी, जनप्रतिनिधि लगायतका सम्पूर्ण सरोकारवालाहरू एकताबद्ध भई प्रयास गर्ने हो भने सोचेको समृद्ध टोखा निर्माण सम्भव रहेको बताउँछन् । 

समुन्द्री सतहदेखि १ हजार २ सय ८० देखि २ हजार ६ सय ५० मिटरसम्मको उचाइमा फैलिएको टोखा नगरपालिकाको पूर्वमा बुढानीलकण्ठ नगरपालिका, पश्चिममा तारकेश्वर नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला र दक्षिणमा काठमाडौं महानगरपालिका रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार ३७ हजार ४ सय १३ पारिवारिक संख्या रहेको यस नगरपालिकाको जनसङ्ख्या १ लाख ३५ हजार ७ सय ४१ रहेको छ । ११ वटा वडामा विभक्त टोखा नगरपालिका नेपालको प्राचीन र मध्यकालीन इतिहासदेखि नै विशेष महत्त्वको क्षेत्र हो । 

यहाँ लिच्छवि राजा अंशुवर्माले सिचाइका लागि कुलो निर्माण गरेको, मल्ल राजा प्रताप मल्लले विक्रम संवत् १७२८ मा तपलाछी नारायणमन्दिरको गरुड स्थापना गरेको लगायतका विभिन्न ऐतिहासिक प्रमाणहरू पाइन्छन्। मध्यकालमा नुवाकोट तत्कालीन तिब्बत जाने व्यापारिक नाकाको रूपमा रहेको र उपत्यकाबाट नुवाकोट जाने प्रमुख मार्ग टोखा रहेको कारणले पनि यो क्षेत्र चर्चित थियो।

Tags :
प्रतिक्रिया दिनुहोस