प्रचारबाजीभन्दा एक्सनमा जोड दिन बालेनलाई स्वास्थ्यमन्त्रीको सुझाव « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रचारबाजीभन्दा एक्सनमा जोड दिन बालेनलाई स्वास्थ्यमन्त्रीको सुझाव


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई प्रचारबाजीभन्दा एक्सनमा जोड दिन सुझाव दिएका छन् । 

सबैलाई सचेत गराउनुपर्ने कुरामा मात्रै प्रचार गर्न र गोप्य अनुगमन गर्नुपर्ने कामहरूमा पहिल्यै प्रचार नगर्न मन्त्री बस्नेतले आग्रह गरेका छन् । 

अस्पतालहरूमा १० प्रतिशत शैया विपन्न वर्गलाई छुट्याउनुपर्ने र निःशुल्क उपचार गर्नुपर्ने विषयमा भइरहेको अनुगमन प्रक्रियालाई जोडेर मन्त्री बस्नेतले यस्तो अभिव्यक्ति दिएका हुन् । 

गत बुधबार मेयर बालेनले स्वास्थ्यमन्त्रीलाई भेटेर १० प्रतिशत शैया नछुट्याउने र विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्न सातदिने अल्टिमेटम दिएका थिए । ६८ अस्पतालको सूची बुझाउँदै उनले सात दिनभित्र मन्त्रीले कारबाही नगरे अस्पताल प्रशासन बन्द गराउने समेत बताएका थिए । 

महानगरको ध्यानाकर्षणपछि मन्त्रालयको टोलीले गरेको अनुगमन र सङ्कलित तथ्यहरूबाट अधिकांश निजी अस्पतालले १० प्रतिशत शैया नछुट्याएको पाइएको मन्त्री बस्नेतले बताए । 

यसमा गोप्य अनुगमन गर्नुपर्ने भएकाले सञ्चारमाध्यममा प्रचार गर्नुभन्दा गोप्य अनुगमनबाट एक्सन लिनुपर्ने र त्यसमा मेयर बालेनको पनि साथ चाहिने मन्त्री बस्नेतको आशय छ । 

Tags :
प्रतिक्रिया दिनुहोस