उज्यालो धनगढी बनाउने अभियानमा धनगढी उपमहानगर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उज्यालो धनगढी बनाउने अभियानमा धनगढी उपमहानगर


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ ।  सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित उपमहानगरपालिका यस प्रदेशकै एक मात्र उपमहानगर हो । 

२०७९ वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिको नयाँ नेतृत्व आइसकेपछि उपमहानगरले आफूलाई व्यावसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहरका रूपमा अगाडि बढाउन खोजिरहेको छ ।

यसको नेतृत्व धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले लिएका छन् । स्वतन्त्र रूपमा उम्मेदवारी दिएर धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका हमालले चुनावका समयमा गरेका प्रतिबद्धतालाई व्यवहारतः लागू गर्ने हिसाबले नै आफ्ना योजनालाई कार्यान्वयन गर्दै लगिरहेका छन् ।

‘हाम्रो धनगढी हामी बनाउँछौँ उज्यालो धनगढी’ अभियान नै चलाइएको छ । धनगढी उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माण, रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण लगायतका विषयलाई विशेष महत्त्व लिएर काम अघि बढाइरहेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्षको अवधिमा जनतालाई आशा जगाउने हिसाबले काम गर्न सकिएको नगर प्रमुख गोपाल हमाल दाबी गर्छन् ।  

“हामीले भरखरै एकबर्ष पुरा गरेका छौं । यो अवधिमा के-कति काम गर्न सक्यौँ त्यो जनताले नै मूल्याङ्कन गर्ने विषय हो” उनले भने, “तर, हामी निर्वाचनका बेला गरेको प्रतिबद्धता भन्दा दायाँबायाँ भएर काम गर्दैनौँ । त्यसमा हामी कटिबद्ध भएर लाग्छौँ ।”

मासिक रूपमा विशेषज्ञ वडा क्लिनिक

वैशाख ३० को निर्वाचनको प्रचार प्रसार सुरु हुँदै गर्दा मेयरमा उम्मेदवारी घोषणा गरेका हमालको चुनावी प्रतिबद्धता पत्रमा प्रत्येक वडामा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने विषय समावेश थियो । उनी निर्वाचित भएर आइसकेपछि पहिलो प्राथमिकतामा यो कार्यक्रम नै परेको छ । 

अहिले उपमहानगरका सबै वडाहरूमा मासिक क्यालेन्डर तयार गरेर विशेषज्ञ चिकित्सकसहितको वडा स्वास्थ्य क्लिनिक सञ्चालन भइरहेको छ । “सबै वडामा तालिका नै बनाएर निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरणको काम भइरहेको छ । 

विशेषज्ञ चिकित्सकसहित हामीले सेवा प्रदान गर्दै आइरहेका छौँ” उनले भने, “चिकित्सकको पारिश्रमिक भाटभटेनी सुपर मार्केटले उपलब्ध गराउँछ भने औषधि लगायतका अन्य सामग्रीको हकमा नगरपालिकाको व्यवस्थापनसँगै कतिपय दाताले नि सहयोग गर्नुहुन्छ ।” हालसम्म यसबाट ३४ हजार नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गराइसकेको उपमहानगरपालिकाले जनाएको छ । नगरप्रमुख हमाले देशभरमै धनगढी उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको यो कार्यक्रम पहिलो भएको बताए । 

क्लिनिक अन्तर्गत एक जना फिजिसियन र गाइनोक्लोजिष्ट चिकित्सकसहित ल्याब सुविधा, अल्ट्रासाउन्डको सुविधासहित परिचालन हुने गरेको छ । “१९ वटै वडामा क्यालेन्डर अनुसार नै क्लिनिक सञ्चालन हुन्छ । प्रत्येक महिना कोटेसन अनुसार चल्ने गरेको छ,”उनले भने,“यसरी सञ्चालन हुँदा कसैलाई फलो अप गर्नुपर्ने देखि नयाँ चेकजाँच हुन्छ ।” उनले निजी अस्पतालहरूसँग पनि सहकार्य गरेर आँखा, मानसिक रोग लगायतको उपचार र परीक्षणको व्यवस्था मिलाइएको बताए । यसले ग्रामीण क्षेत्रको स्वास्थ्यलाई विशेषज्ञ सेवासँग जोडेको उनी बताउँछन् । 

गर्भवती महिलालाई अस्पताल ल्याउँदाखेरि विगतमा गोरूगाडामा ल्याउने अवस्था थियो । त्यसको पनि क्लष्टर विभाजन गरेर ४ वटा एम्बुलेन्समा आमा बचाउ अभियान भनेर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ । 

अतिक्रमण क्षेत्र खाली

मेयर हमाल निर्वाचित भएर आएसँगै उनले नगर क्षेत्रमा अतिक्रमणमा परेको क्षेत्र खाली गराउने अभियानलाई पनि प्राथमिकतामा राखेर काम अघि बढाएका थिए । धनगढी क्षेत्रमा अतिक्रमणमा परेका खोलानाला, सार्वजनिक जग्गा खाली गराउने अभियान असारदेखि सुरु भएको हो । सार्वजनिक जग्गा कब्जामा रहेको अवस्थामा सबै क्षेत्रको अतिक्रमण हटाउने काममा उपमहानगर केन्द्रित छ । सुरूमा अतिक्रमण हटाउन महानगरले गत वर्ष असारमा नै डोजर चलाएको थियो । 

“पुरानो धनगढीको सडकमा हामीले जनतालाई कन्भिन्स गरेर ४२८ घर भत्काएर सडकलाई फराकिलो बनाउने काम गर्‍यौँ,”उनले भने,“जिल्ला प्रशासनदेखि क्याम्पस चोकसम्म सडक विस्तार हुने काम अब अघि बढ्छ । प्रदेश सरकारसँग समन्वय गरेर काम भइसकेको छ ।” उनले कुनै प्रहरी प्रशासन र शक्ति प्रदर्शन नगरेर स्वइच्छाले नगरवासीले आफैँ निवेदन दिएर घर भत्काएर सहज गराएको बताए । यसले जनताहरू आफ्नो क्षेत्रको विकासमा कति जिम्मेवार छन् भन्ने देखाएको उनी बताउँछन् । उपमहानगरपालिकाका अनुसार अहिलेसम्म वडा नम्बर २, ३, ४, ५, ७ र १३ वडा नम्बरका विभिन्न १४ ठाउँमा खोलानाला, ताल तलैया र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम गरिएको छ।

सहर व्यवस्थित गर्नेदेखि शिक्षा र भ्रष्टाचारमा शून्य सहनशीलता

धनगढी उपमहानगरपालिकाले प्लास्टिक मुक्त धनगढी बनाउने अभियानलाई पनि प्रभावकारी हिसाबले अघि बढाएको छ । जस अन्तर्गत प्लास्टिकमा प्रतिबन्ध लगाइएको छ । त्यसको विकल्पमा फाइबर र कटनको झोला बनाउने काम अघि बढाइएको छ । त्यसका लागि उपमहानगरले विभिन्न मानिसहरूलाई तालिम प्रदान गरेको छ । सालको पातबाट टपरी बनाउने तालिम प्रदान गर्नुका साथै आवश्यक मेशिन पनि उनीहरूका लागि प्रदान गरिएको छ ।

फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर उपमहानगरले नगर क्षेत्रको एक ठाउँको फोहोर अर्को ठाउँमा सार्ने कामलाई रोकेर अहिले स्रोतबाट नै वर्गीकरण गर्ने काम थालेको हमाल बताउँछन् । “पहिलो फोहोरको व्यवस्थापनमा प्राथमिकता थिएन अहिले टोल टोल मै कुहिने नकुहिने फोहोर छुट्टाएर व्यवस्थापनको काम भइरहेको छ । सरसफाइ कमिटी बनाएर जनस्तरमै अभियान चलाइएको छ,” मेयर हमालले भने । 

उपमहानगर क्षेत्रको शैक्षिक गुणस्तर सुधार्न मेयर हमालले आफूले पाउने सेवा सुविधा विद्यालयलाई आवश्यक सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् । सुरुवातमा कुनै सेवा सुविधा नलिने घोषणा गरेर आफूले पाउने पारिश्रमिक सामाजिक सङ्घसंस्थालाई उपलब्ध गराउँदै आएका उनले यस वर्षदेखि वार्षिक रूपमा हुन आउने पारिश्रमिकको रकममा व्यक्तिगत रूपमा थपेर १० लाखको कोष नै बनाएका छन् । जसअन्तर्गत उपमहानगर अन्तर्गत रहेका १७ सामुदायिक विद्यालयमा आवश्यक सामग्री उपलब्ध गराउने रणनीति रहेको छ । “मैले मासिक ७९ हजार ६ सय सेवा सुविधा पाउँछु । पहिले सामाजिक सङ्घसंस्थालाई दान गर्दै आएको थिए । अहिले १७ सरकारी विद्यालयमा सामग्री उपलब्ध गराउने निर्णय गरेको छु,”उनले भने,“यस पटक १७ विद्यालयमा कक्षा ८ को नतिजा शून्य आएपछि शिक्षाको सुदृढीकरण हुनुपर्छ भनेर सुविधा त्यहाँ खर्चिने निर्णय गरेको हुँ ।” उनले उपमहानगरको शिक्षालाई गुणस्तरीय र उत्कृष्ट बनाउनका लागि थप कार्य योजना बनाएर काम अघि बढाइएको बताए । 

मेयर हमालले निर्वाचनका क्रममा नै आफूले कुनै सेवा सुविधा नलिने घोषणा गरेका थिए । सोही अनुसार निर्वाचित भएदेखि उनले गाडी, इन्धन लगायत आफ्नै व्यक्तिगत खर्चबाट नै गरिरहेका छन् । सरकारी गाडी कार्यालयको काममा लगाइएको छ । भ्रष्टाचारमा आफूबाट नै शून्य सहनशीलता अपनाएका हमालले उपमहानगरभित्र शून्य सहनशीलता अपनाउनका लागि काम गरिरहेका छन् । “भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने भनेर उजुरी दिनका लागि ह्वाट्सप नम्बर सार्वजनिक गरिएको छ । टेन्डर कोटेसनमा काम दिएर नीतिगत तहमा हुने भ्रष्टाचार अन्त्य गरिएको छ । टुक्रा बनाएर आफ्नो मानिसलाई बजेट दिने काम बन्द भएको छ,”उनले भने,“समग्र जनप्रतिनिधि र कर्मचारीलाई पनि पारदर्शी र आर्थिक सुशासनमा केन्द्रित गराइएको छ।”

उपमहानगरले एक लाख भित्रको खरिदलाई सिधै गर्दै आएको छ भने त्यो भन्दा माथिको खरिदका लागि अनिवार्य रूपमा नै खरिदको सूचना सार्वजनिक गर्ने नियम कार्यान्वयन गरेको छ। “उपभोक्ता समिति भनेको भ्रष्टाचार सिकाउने नर्सरी हो, यो बन्द गर्नुपर्छ भन्ने मेरो मान्यता हो । उपमहानगरले आफूले उपभोक्ता समितिमार्फत काम गराइरहेको छैन । वडाहरूलाई पनि अब नगर्न भनिएको छ,”उनले भने,“सर्भे, तालिम चलाउने लगायतमा हुँदै आएको खर्च पनि बन्द गरिएको छ ।” उनले कार्यालयमा आवश्यक पर्ने स्टेशनरी टुक्रा टुक्रा गरेर खरिद गर्ने प्रचलन विगतमा विद्यमान रहेको भन्दै आफूले कार्यकाल सुरु गरेदेखि वार्षिक रूपमा आवश्यक पर्ने अनुमान गरेर टेन्डर प्रक्रियाबाट नै खरिद प्रक्रिया सुरु गरेको बताए । “पेट्रोलको कुपन जथाभाबी बाँड्ने, गाडीको दुरुपयोग गर्ने प्रवृत्ति पनि रोकिएको छ । अहिले गाडीको हकमा माग फारम भर्नुपर्ने र प्रशासन प्रमुखले गेट पास दिएपछि मात्रै अनुमति दिइन्छ,” उनले भने, “भ्रष्टाचार हुने छिद्र रोक्ने काम भइरहेको छ । आन्तरिक सुदृढीकरण अन्तर्गत सेवाग्राहीको प्रक्रिया पुगिसकेको काम लम्बाउने कामलाई पनि नियन्त्रण गर्ने काम थालिएको छ।” 

उपमहानगरपालिकाले अपाङ्गता भएका मानिसको हकमा क्लष्टर विभाजन गरेर उनीहरूलाई आवश्यक सहयोग गरिरहेको छ । “ह्वील चेयर चाहिनेलाई ह्वील चेयर, खुट्टा चाहिनेलाई खुट्टा, बैसाखी चाहिनेलाई बैसाखीलगायत आवश्यकता हेरेर सामग्री उपलब्ध गराउँदै आइएको छ,” उनले भने । एक किलोमिटर सडक बरु कम बनाउने तर, अपाङ्गता भएका मानिसको जीवन सहज बनाउनुपर्छ भन्ने मान्यता राखेर काम गरिँदै आइएको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाले एक वर्षको अवधिमा ६ लेन सडकको मुख्य चौराहादेखि गेटा विमानस्थलसम्म स्मार्ट बत्ती जडान, भन्सारदेखि विमानस्थलसम्म मास्क बत्ती जडानको काम पनि गरेको छ । सडक विस्तारको काम पनि तीव्र भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा व्यवस्थित सहर निर्माणका लागि सडक, ढल व्यवस्थापन लगायतको काम भइरहेको छ । उपमहानगरले पनि सडक, खानेपानी लगायतका विकास निर्माणको कामलाईपनि महत्त्वमा राखेको छ । 

१९ वटै वडामा भूमिहीन, सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासहरूलाई लालपुर्जा वितरण गर्न नाप जाँच गरिरहेको, मासिक कार्य योजना बनाएर बजार अनुगमन भइरहेको, सबै वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्रहरूमा कर्मचारी व्यवस्थापन गरिएको, करको क्षेत्र विस्तार गरिएको मेयर हमालले जानकारी दिए । 

नगरवासीका समस्या सुन्न र उनीहरूसँग सम्बन्धलाई सुमधुर बनाइ राख्नका लागि मेयर हमालले समय मिलेसम्म नगरक्षेत्रभित्र नगरवासीका सामाजिक कार्यमा पनि आफ्नो सहभागिता जनाउँदै आएका छन् । मेयरमा निर्वाचित हुनु अघि नै उनले घोषणा गरेको कपडा बैंक र महाप्रस्थान अभियान अन्तर्गत निःशुल्क शव बाहनपनि सञ्चालन गरेका छन् । 

सम्मानजनक मृत्यु यात्राका लागि धनगढी उपमहानगरपालिकामा महाप्रस्थान यान सञ्चालनमा ल्याइएको हो । ३० लाखको लागतमा निःशुल्क सञ्चालनमा ल्याइएको महाप्रस्थान यान अभियान आफू निर्वाचित हुनु अघिकै भएको मेयर हमाल बताउँछन् । धनगढीमा पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका शोकाकुल आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरी वाहन सञ्चालनमा ल्याइएको हो । मेयर हमालले आफ्नो कार्यकाल अवधिभर निर्वाचनका समयमा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्ने हिसाबले नै कार्य योजना बनाएर उपमहानगरको विकासमा केन्द्रित हुने बताए ।  

२०३३ सालमा स्थापना भएको धनगढी नगरपालिका २०७२ असोज १ गतेदेखि स्तरोन्नति भएर उपमहानगरपालिका बनेको हो । काठमाडौँदेखि सात सय ५० किलोमिटरको दुरीमा रहेको उपमहानगरभित्र १९ वडा रहेका छन् । दुई सय ६१ दशमलव ७५ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको धनगढी उप–महानगरपालिकाको भू–आकृतिक स्वरूप करिब सबै जसो समतल रहेको छ भने यसको पूर्वमा कैलारी गाउँपालिका, पश्चिममा मोहना नदी, उत्तरमा गोदावरी र गौरीगङ्गा नगरपालिका र दक्षिणमा अन्तर्राष्ट्रिय रूपमा भारतको सिमाना तथा मोहना नदी रहेको छ । दुई लाख बढी जनसङ्ख्या रहेको यस उपमहानगरभित्र विभिन्न जातजाति तथा समुदायका मानिसहरूको बसोबास रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस