विराटनगरमा पक्राउ परेका ६५ प्रदर्शनकारी रिहा, २१ जनामाथि थप अनुसन्धान हुँदै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

विराटनगरमा पक्राउ परेका ६५ प्रदर्शनकारी रिहा, २१ जनामाथि थप अनुसन्धान हुँदै


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ। कोशी प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ परेका ६५ जनालाई रिहा गरिएको छ । कोशी प्रदेशसभा घेराउका क्रममा पक्राउ परेका २१ जनालाई भने प्रहरीले थप अनुसन्धानका लागि भन्दै नियन्त्रणमा राखेको छ ।

कोशी प्रदेश नामकरणपछि बसेको पहिलो अधिवेशनलाई अवरोध गर्ने भन्दै नामकरणको विरोधमा आन्दोलनरत विभिन्न सङ्घसंस्था र पार्टीहरूले आइतबार कोशी प्रदेशसभा घेराउ गर्ने कार्यक्रम तय गरेका थिए । आन्दोलनका लागि विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरूलाई प्रहरीले आइतबार बिहानैबाट विराटनगरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका मध्ये ६५ जनालाई छाडिएको किराँत राई यायोख्खाका उपमहासचिव अर्जुन जम्नेली राईले बताए । पक्राउ परेका २१ जनालाई भने नछाडिएको उनले बताए । प्रहरीले किराँत राई यायोख्खाका अध्यक्ष जीवन हाताचो राईलगायतका नेताहरूलाई बिहानै नियन्त्रणमा लिएको थियो ।

दिउँसो प्रदेशसभा अगाडि भएको प्रदर्शनमा ढुंगामुढा गर्नेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनका क्रममा १७ जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रदर्शनकारीको ढुंगामुढा प्रहारबाट नेपाल पुलिसका २० जना, सशस्त्र प्रहरीका १६ जना घाइते भएका छन् ।

तोडफोड र ढुंगामुढामा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन ९० सेल अश्रुग्याँस प्रहार भएको प्रहरीले जनाएको छ । यस्तै ३८ राउन्ड हवाई फायर भएको मोरङ प्रहरीले जनाएको छ ।

फागुन १७ गते कोशी प्रदेशसभाको २ तिहाइ बहुमतले प्रदेशको नामकरण गरेपछि पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै आन्दोलन भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस