इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन


१४ बैशाख २०८०, बिहिबार


विराटनगर । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् ।

आज विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने,’तपाईँहरू राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ, मलाई विश्वास छ यहाँहरूले राम्रो गर्न कोसिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ ।’

मन्त्री डा.महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने पनि स्पष्ट गरे । उनको भनाइ थियो- कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पारदर्शी रूपमा पूरा गर्नुहुनेछ ।

उनले यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको पनि बताए । तर राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उनले निर्देशन दिए ।

मन्त्री डा.महतले भने,’समग्रमा हामी पारदर्शीताका साथ काम गरौँ, सेवाग्राहीलाई सहज र सौहादपूर्ण वातावरण निर्माण गरौँ, नियम कानुन अनुसार काम गरौँ हामीले गर्नुपर्ने काममा सम्झौता नगरौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस