विद्यार्थी नभएपछि विद्यालय समायोजन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विद्यार्थी नभएपछि विद्यालय समायोजन


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएको विद्यालयको समायोजन गरेको छ । वडा नं १८ स्थित मङ्गलादेवी आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएपछि अर्को विद्यालयमा समायोजन गरिएको छ ।

यहाँ विगत वर्षदेखि नै विद्यार्थी न्यून रहेको गैँडाकोट-१८ का वडाध्यक्ष तिलबहादुर चितौरेले बताए ।

यहाँ बालविकास सहजकर्ता धनमाया डिस्वा र कार्यालय सहयोगी बमबहादुर रिलामी मगर कार्यरत रहेका थिए । विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएकाले विद्यालय सञ्चालन गर्न उपयुक्त नभएको नगरपालिकाले ठहर गरेको छ । विद्यार्थी नभएपछि विद्यालयलाई अर्को विद्यालयमा समायोजन गरिएको नगर शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका नगर प्रमुख मदनभक्त अधिकारीले बताए ।

नगर शिक्षा समितिको गत चैत २३ गते बसेको बैठकको निर्णय र सिफारिसका आधारमा समायोजनको निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताए ।

त्यस्तै उक्त विद्यालयमा कार्यरत बालविकास सहजकर्ता डिस्वालाई वीरेन्द्र आधारभूत विद्यालयमा र कार्यालय सहयोगी मगरलाई गैँडाकोट-३ मा रहेको मङ्गलादेवी आधारभूत विद्यालयमा खटाइएको छ । बसाइँसराइका कारण गाउँमा बस्ती पातलिएपछि विद्यालयमा विद्यार्थी नभएको नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस