अब ५ वर्ष सरकार काँग्रेसले चलाउने : महामन्त्री थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अब ५ वर्ष सरकार काँग्रेसले चलाउने : महामन्त्री थापा


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन्।

सङ्घ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको काँग्रेस सहितको सरकारले अब अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि बताए।

मङ्गलवार काठमाडौँमा आयोजित नेपाल शिक्षक सङ्घको नवौँ संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गरे। उनले ५ वर्षपछि नेपाली काँग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने उल्लेख गरे।

महामन्त्री थापाले भने, ‘पाँच वर्षको अवधि छ। मैले भनिरहेको छु– म नेपाली काँग्रेसको एउटा कार्यकर्ता हुँ। संघमा काँग्रेसका सरकार, प्रदेशमा काँग्रेसको सरकार, ४ सय भन्दा बढी ठाउँमा गठबन्धन सरकार छ। अघि पूर्वप्रधानमन्त्रीले भनेर गई सक्नु भएको छ। त्यो ठिक, बेठिक छौंडौं। तर आजको रियालिटी यही हो कि हामी संघमा छौँ, केन्द्रमा छौँ। अब कसैलाई दोष दिएर पाइँदैन। अव भूतप्रेतलाई भनेर पनि पाइन्न। भूतपूर्व राजालाई भनेर पनि पाइन्न। अव नेकपा एमालेले गरेन, अरूले गरेन भन्न पनि पाइन्न। गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नु पर्छ। अबको पाँच वर्ष पछि शिक्षक सङ्घकै अधिवेशनमा आएर नेपाली काँग्रेसको तर्फबाट बोल्दै गर्दा खेरी यो भयो, यो भयो भनेर बोल्न पाएको पो उपलब्धि भो त। जिम्मा हामीले लिने। सङ्घको सरकार हामीले चलाउने। ५ वर्ष देशको सरकार कसले चलाउने? काँग्रेसले चलाउने। प्रदेश र स्थानीय सरकार हामीले चलाउने। अव कसैलाई दोष पन्छाएर पाइन्न। परिणाम दिनु पर्छ, रिजल्ट चाहिन्छ। त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौ।’

महामन्त्री थापाले शिक्षकहरूको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गरेका छन्। शिक्षकहरूलाई खुसी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरूको आवश्यकता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुने उनको भनाई थियो। महामन्त्री थापाले भने, ‘अबको ३/४ महिना भित्र संघीय शिक्षा ऐन पारित गर्नु पर्नेछ। ऐन त पारित गर्ने र तर ठिक बनेन भने के गर्ने ? यो ऐनले समस्या समाधान गर्नु प¥यो। अव स्कुल मर्जर गरेर नगई हुँदैन। ठूल्ठूला विद्यालय चाहिन्छ। फण्डिङ त्यही अनुसारको चाहिन्छ। शिक्षकलाई खुसी बनाउने गरी उनीहरूको तलब, मान सम्मानमा सरकार पूरै उदार भएर काम गर्नु पर्दछ। अनि मात्रै शिक्षकहरूको काममा पनि उदारताको अपेक्षा गर्न मिल्छ।’

महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरूलाई आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस