मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । सरकार पुनर्गठनपछि पहिलो पटक आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत १७ गते काङ्ग्रेसबाट उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाश शरण महत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सहरी विकास मन्त्री सीता गुरुङ थपेका थिए भने एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाएका थिए ।

यस्तै जसपाबाट अशोक राई, शिक्षा, लोसपाबाट शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नेसपाबाट महिन्द्रराय यादव महिला तथा बालबालिका र नाउपाबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी मन्त्री भएका छन् ।

यसैगरी माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र अमनलाल मोदी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहेका छन् । माओवादीकै तर्फबाट सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री छिन् ।

कानुन, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन् । बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाउने संवैधानिक व्यवस्था अनुसार दुई राज्यमन्त्री पनि पद पनि खाली राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस