फैसला पूर्वाग्रही भएपनि धरौटी राखेर सर्वोच्च जाने हैसियत छैन : पूर्वमन्त्री न्यौपाने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

फैसला पूर्वाग्रही भएपनि धरौटी राखेर सर्वोच्च जाने हैसियत छैन : पूर्वमन्त्री न्यौपाने


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । भ्रष्टाचार अभियोगमा ९ वर्ष ६ महिनाको सजाय सुनाइएका पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही भएपनि आफू पुनरावेदनमा जान सक्ने अवस्थामा नरहेको बताएका छन् ।

मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको र त्यस्तै फैसला भएको दाबी गरे ।

पुनरावेदन गर्न जरिवाना र कैद बराबर दिनको ३०० रुपैयाँ धरौटी राख्नुपर्ने भन्दै उनले आफूसँग जग्गा, बैंक ब्यालेन्स नभएको बताए । साथै भाइको घरमा शरणार्थी बसेको भन्दै आफूसँग धरौटी राख्ने पैसा र सर्वोच्च अदालतमा जाने हैसियतसमेत नरहेको बताए ।

उनीमाथि भृकुटीमण्डपको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

समाज कल्याण परिषद्ले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको छ । तर आफूले फूल बोर्डको बैठक राखेको र मन्त्रिपरिषदमा समेत प्रस्ताव लगेको बताए । मन्त्रिपरिषद्ले परिषद् आफैँमा स्वसासित संस्था हो, यसअघि जे गरेको छ, त्यही अनुसार गर्नु भनेर आएपछि आफूले बोर्ड बैठक राखेर निर्णय गरेको उनले सुनाए ।

एक लाख ७५ हजार (भ्याटसहित २ लाख २ हजार ४००) रहेको भाडालाई ५ लाख ५५ हजारको सम्झौता गर्ने निर्णय गरेको भन्दै उनले भने, ‘५ वर्षमुनि कसैलाई टिकट लाग्दैन, ६० वर्षभन्दा माथि लाग्दैन । १० बजेदेखि ५ बजेसम्म खुल्छ । त्यसलाई इच्छुमती तरकारी बजारसँग (भएको सम्झौता) दाँजेर ममाथि लान्छना लगाइयो ।’

भाडामा लगाउने निर्णय गर्ने प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई सफाइ दिएको, तर आफूलाई ९ वर्ष ६ महिना कैद, २ करोड ४३ लाख बढी जरिवाना र त्यति नै बिगो भराउने निर्णय गर्नु पूर्वाग्रही भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस