सात महिनामा भित्रियो छ खर्ब ८९ अर्ब विप्रेषण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सात महिनामा भित्रियो छ खर्ब ८९ अर्ब विप्रेषण


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलव एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलव चार प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५७ दशमलव तीन प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ पुगेको छ ।

त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १० दशमलव एक प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार सात सय आठ बराबर पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ६५ दशमलव नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २५ दशमलव दुई प्रतिशतले वृद्धि भई सात खर्ब ५९ अर्ब ११ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन दशमलव सात प्रतिशतले घटेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस