यातायात कार्यालय स्थापना भएको तीन वर्षपछि काम सुरु, कर्मचारी अभाव कायमै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यातायात कार्यालय स्थापना भएको तीन वर्षपछि काम सुरु, कर्मचारी अभाव कायमै


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । रुकुम पश्चिमको चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयले सेवा सुरु गरेको छ । स्थापना भएको तीन वर्षपछि कार्यालयले आइतबारबाट सेवा सुरु गरेको हो । कार्यालय स्थापना भए पनि जनशक्ति अभावमा कार्यालयले सेवा सुरु गर्न सकेको थिएन । कार्यालय ०७६ भदौ १२ गते स्थापना भएको थियो ।

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कार्यालयको सेवा उद्घाटन गरे । रामप्रसाद शर्माको ब्लुबुक नवीकरण गरेसँगै सेवा सुचारु भएको हो । अहिले तत्कालका लागि कार्यालयबाट दर्ता, नामसारी, कर असुल, ब्लुबुक नवीकरण सेवा प्रवाह हुने कार्यालय प्रमुख आनन्द चपाईले जानकारी दिए ।

अहिले कार्यालयमा प्राविधिक कर्मचारी छैनन् । प्राविधिक कर्मचारी आएमा सवारी सरुवा सहमति दर्ता, सवारी जाँचपास, रुट परमिट जारी, नवीकरण, अस्थायी रुट निर्धारणलगायतका सेवा प्रवाह हुने कार्यालय प्रमुख चपाईले बताए ।

उनका अनुसार लाइसेन्सलगायतका सेवा भने ट्रायल सेन्टर बनेपछि प्रवाह हुने छन् । ट्रायल सेन्टर बनेपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जारी, नवीकरणलगायतका सेवा सुचारु हुने उनले बताए । तर, विभागबाट कोड प्राप्त भएमा लाइसेन्स नवीकरण पहिला सुरु हुन सक्ने पनि कार्यालय प्रमुख चपाईको भनाइ छ । सेवा सुरु भएसँगै अब रुकुम पश्चिमसहित सल्यान, जाजरकोट, डोल्पासम्मका सेवाग्राहीले चौरजहारीबाटै यातायात सेवा पाउनेछन् ।

चौरजहारी नगरपालिका-२ मा रहेको कार्यालयमा अहिले सातजनाको दरबन्दी रहेको छ । तर, अहिले कार्यालयमा अप्राविधिक तीनजना मात्र कर्मचारी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस