राष्ट्रपतिका उम्मेदवार नेम्वाङले माधव, रवि र राजेन्द्रसँग भेटेरै भोट माग्ने « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले माधव, रवि र राजेन्द्रसँग भेटेरै भोट माग्ने


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवास नेम्वाङले बिहीबार अन्य दलका नेताहरूलाई भेटेर मत माग्ने भएका छन् ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेम्वाङले बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर मत माग्न तयारी भएको बताएका छन् ।

त्यसका लागि नेम्वाङ बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालय पुग्ने उनको सचिवालयले जनाएको छ । नेम्वाङका साथमा एमाले नेताहरू विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ पनि नेता नेपाललाई भेट्न जानेछन् ।

त्यसै गरी दिउँसो १ बजे नेम्वाङ रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न जानेछन् । रास्वपा केन्द्रीय कार्यालय नेता नेम्वाङसँग सचिव योगेश भट्टराई लगायतका नेताहरू सहभागी हुनेछन् ।

त्यसै गरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भोट माग्न दिउँसो साढे २ बजे राप्रपा कार्यालय पुग्ने नेम्वाङले जनाएका छन् । यसअघि नेकपा एमालेको सचिवालय बैठकले काँग्रेसबाहेक सबै दललाई पत्र पठाएर मत माग्ने निर्णय गरेको थियो ।

काँग्रेससहितको आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस