स्थानीय तहको ढिलाइले भूमि आयोगको काम प्रभावित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्थानीय तहको ढिलाइले भूमि आयोगको काम प्रभावित


१८ फाल्गुन २०७९, बिहिबार


त्रिशूली । भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भइरहेको काम नुवाकोटमा लक्ष्यभन्दा निकै ढिला भएको छ ।

गत असार २७ गते राष्ट्रिय भूमि आयोग र यहाँका स्थानीय तहबीच भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन भएको आठ बुँदे प्रतिबद्धताअनुसार जग्गा वितरण सुरु भइसक्नुपर्ने थियो । तर हालसम्म कार्यतालिकाअनुसार सुरुआती चरणको निवेदन सङ्कलनको कामसमेत पूरा नभएको जिल्ला अध्यक्ष अजुर्नप्रसाद न्यौपानेले जानकारी दिए । स्थानीय तहसँग आयोगको केन्द्रीय कार्यालयबीच भएको सम्झौता र त्यसपछि गरिएको प्रतिबद्धताअनुसार वडा तहबाट प्रारम्भिक चरणमा गर्नुपर्ने निवेदन सङ्कलनको विवरणसमेत जिल्ला कार्यालयलाई प्राप्त हुन बाँकी छ ।

‘भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई पालिकाले फरक–फरक समयमा ३५ दिने सूचना प्रकाशित गरेर सङ्कलन गरेका थिए । निवेदनको छानबिनपश्चात् पालिका हुँदै जिल्लामा आई पुग्नुपर्नेमा लिखु गाउँपालिकाबाहेक अन्य पालिकाको प्राप्त हुनै बाँकी छ’, उनले भने, ‘वडा र पालिकाबाट अनुमोदन भएर आएको विवरणमाथि छानबिन गर्दै भूमिहीनलाई जग्गा उपलब्ध गराउने काम अघि बढाउन पालिकाले गर्ने सिफारिसको पर्खाइमा छौँ ।’

आयोगको जिल्ला कार्यालयको अनुसार हालसम्म नुवाकोटका बाह्रमध्ये सात पालिकाबाट पाँच हजार चार सय ८९ परिवारको निवेदन सङ्कलन भएको छ । ती निवेदनमाथि अहिले वडा र पालिकाले नै प्रविष्ट गरेर जाँचबुझ गरिरहेको जानकारीमा आएको आयोगको जिल्लास्थित कार्यालयका सदस्यसचिव तथा नापी कार्यालय नुवाकोटका प्रमुख सञ्जीवकुमार सिंहले जानकारी दिए ।

ककनीले एक हजार आठ सय ६३, सूर्य गढीले चार सय ६१, किस्पाङले दुई सय ६२, शिवपुरीले नौ सय ९१, म्यागङले एक सय ७०, तादीले एक सय ८१ र लिखु गाउँपालिकाले एक हजार पाँच सय ६१ निवेदन वडा तहमा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएका छन् । अन्य पाँच पालिकाको वडा तहले सङ्कलन गरेको निवेदनको सङ्ख्यासमेत यकिन हुन बाँकी छ ।

गत असार २७ मा आयोगको केन्द्रीय अध्यक्ष केशव निरौला र जिल्लाका बाह्र वटै पालिकाको प्रमुखले कार्यतालिका निर्धारण गरेर भूमिहीनलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता लगत्तै बर्खायाम सुरु भएको, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आचारसंहिता, चाडपर्व, जग्गाको वर्गीकरण गर्नुपर्ने बाध्यतालगायत कारण देखाइ वडा र पालिकाले तोकिएको समयभित्र काम पूरा गर्न नसकेको जानकारी गराएको सदस्य सचिव सिंह बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस