नारायणी नदी संरक्षणमा प्राथमिकता « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नारायणी नदी संरक्षणमा प्राथमिकता


१७ फाल्गुन २०७९, बुधबार


चितवन । भरतपुर महानगरपालिकाले नारायणी नदी संरक्षणमा उच्च प्राथमिकता दिई काम थालेको छ ।

नारायणी पुलको उत्तरतर्फको नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागिएको हो ।

महानगरप्रमुख प्रमुख रेनु दाहाल र उपप्रमुख चित्र सेन अधिकारीले संयुक्त रूपमा नारायणी नदी संरक्षण र आरती स्थलको आज यहाँ शिलान्यास गरे । सो अवसरमा महानगर प्रमुख दाहालले नदी संरक्षण अन्तर्गत पाँच चरणमा काम हुने र संरक्षणले महानगरवासीलाई सुरक्षित बनाउने बताए ।

उनले भने, ‘नारायणी पुलमाथिको छ सय ४० मिटरको काम सुरुआत भएको छ । अन्य चार क्षेत्रको समेत सम्झौता भई काम अघि बढेको छ ।’ यहाँको पर्यटकीय क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।

उपप्रमुख अधिकारीले धार्मिक पर्यटनको संरक्षणका लागि नयाँ योजना सुरु गरिएको बताए । उनले भने, ‘धार्मिक पर्यटनलाई महत्त्व दिँदै महानगरले काम गरिरहेको छ ।’

नारायणी नदी व्यवस्थापन आयोजनाले १५ करोड ९२ लाखका लागतमा नारायणी पुलको उत्तरतर्फको नारायणी नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागेको हो । यसका लागि गत पुस पाँच गते ठेक्का सम्झौता भई डाइनामिक कन्स्ट्रक्सन प्रालिले बोलपत्र सकार गरी काम गरिरहेको आयोजनाका निर्देशक गणेश मरासिनीले जानकारी दिए । उनका अनुसार हरियाली सहितको तटबन्ध गरिने छ । यो काम सम्पन्न गर्नका लागि १८ महिनाको समय दिइएको छ ।

यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजनाले आरती स्थल निर्माण सुरु गरेको हो । अट्ठाइस मिटर लम्बाइ र पाँच मिटर चौडाइ रहेने सो स्थलको निर्माण सम्पन्न गर्नका लागि एक करोड ७५ लाखमा ठेक्का सम्झौता भई काम अघि बढेको आयोजनाका प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।

उनका अनुसार जमिनको सतहबाट केही मिटर अग्लो बनाइने आरती स्थलमा ढुङ्गा छापिने छ । आरती स्थलको बाहिरी भागमा ‘मोज्याक टायल’ लगाइने छ ।

आरती स्थल, देवघाटमा बसपार्क र महानगरभित्रका विभिन्न ठाउँका १८ किलोमिटर सडक कालोपत्र एक साथ ठेक्का सम्झौता गरिएको छ । ४१ करोड १९ लाखमा ठेक्का लगाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस