राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्टियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाऔँ : मन्त्री मोदी « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्टियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाऔँ : मन्त्री मोदी


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्टियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रूपमा विकास गर्नुपर्ने बताएका छन् । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् ।

राष्ट्रसेवक कर्मचारीलाई सबल, सक्षम र दक्ष बनाउनका लागि स्टाफ कलेजको महत्त्वपूर्ण भूमिका रहने बताउँदै मन्त्री मोदीले भने, “राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्टियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रूपमा विकास गर्नुपर्छ, बेलायत, अमेरिका, भारत लगायतका देशका कर्मचारीसँग प्रतिस्पर्धी बनाउने गरी उनीहरूको क्षमता विकास गर्नुपर्छ, उनीहरूलाई कसरी सबल, सक्षम र दक्ष बनाउने भन्ने मुख्य जिम्मेवारी स्टाफ कलेजको हो, देश र जनतालाई सर्वोपरि ठानेर काम गर्ने प्रवृत्तिको विकास र क्षमता  निर्माणतिर तपाईँहरूको ध्यान जाओस् ।”

स्टाफ कलेजलाई नमुनाको रूपमा विकास गर्न आफूले खेल्नुपर्ने भूमिकामा कमी आउन नदिने मन्त्री मोदीको भनाई थियो ।

सीमित स्रोत र साधनबाट काम गर्नुपर्ने बाध्यतालाई आफूले बुझेको बताउँदै मन्त्री मोदीले राष्ट्रसेवक कर्मचारीहरूलाई व्यावहारिक ज्ञान पनि दिन आवश्यक रहेको बताए । 

छिटो पैसा कमाउने धन्दामा लाग्ने प्रवृत्तिको विकास भइरहेकाले त्यसलाई रोक्नेतर्फ प्रशिक्षण प्रतिष्ठानले ध्यान दिनुपर्ने मन्त्री मोदीको भनाई थियो ।

मन्त्री मोदीले स्टाफ कलेजमा जारी नयाँ शाखा अधिकृतहरूको प्रशिक्षण कक्षाको पनि अवलोकन गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस