“मिनिमालिस्ट“ किन बन्ने र कसरी ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मिनिमालिस्ट किन बन्ने र कसरी ?


१८ माघ २०७९, बुधबार


विषय प्रवेश

के हामी कुनै चिज किन्ने बेला नै त्यसको उपादेयता हेरेर, खाँचो यकिन गरेर अनि उक्त सामानप्रतिको आफ्नो अभिरुचि ख्याल गरेर किनिरहेका छौँ ?  वा कसैले प्रयोग गरेको देखेर वा पटकैपिच्छे फरक लगाउन वा खानका लागि किन रहेका छौँ ?  के हाम्रो घर वा निवास वा डेरामा राखिएका सबै चिज प्रयोगमा आइरहेका छन् ?  भएका सबै चिजको सदुपयोग हुने, सरसफाइ गर्दा कम समयमै सम्भव हुने र देख्दा पनि चिटिक्क देखिने बनाउनका लागि भने सामान कमै राख्नुपर्ने हुन्छ । इकोलोजिकल फुटप्रिन्ट कम गरेर वातावरण अनुकूल जीवनयापन गर्नका लागि मिनिमालिस्ट बन्न उपयुक्त हुने तर्कहरू पछिल्ला दिनमा बढी नै सुनिन थालिएको छ ।

२०७९ माघको पहिलो साता काठमाडौँ पुगेका बेला ३ वटा पुस्तक खरिद गरियो । रवीन्द्र मिश्रको “विचारभन्दा माथि देश”, बुद्धि सागरको “एक्लो” र जीवनकुमार प्रसाईँको “धेरैको धपेडी” उपलब्ध पुस्तकहरूमध्ये  तत्काल यो तयार कर्ता लेखकको चयनमा परेका पुस्तक थिए । पहिलो दुई वटा पुस्तक पनि आफ्नो ठाउँमा गहकिला नै लागे । तेस्रो पुस्तक पढ्दै जाँदा भने पटक पटक मन छोयो,  उपयोगी लाग्यो र केही सन्दर्भहरू त टिपोट नै हुन पुगे । तिनै टिपोट, आफ्नो बुझाई र केही गुगल सर्चका आधारमा यो छोटो आलेख प्रस्तुत भएको छ ।

“अङ्कुरण हुन सक्छ शीतमा

चाहिन्न सिँचाइ धेरै

रमाउन सक्छ जीवन प्रीतमा

कम हुँदैन थोरै” (स्रोत धेरैको धपेडी)

धेरै भन्ने चिज कहीँ पनि सहज र राम्रो हुँदैन भन्ने अनेकौँ प्रसङ्ग पुस्तकमा समेटिएको छ । भनिएको छ कि “जीवनको जतन धेरैमा होइन, तन, मन र वातावरणबिचको सन्तुलनमा टिकेको हुन्छ ।” हामी कतै समृद्धि नबढ्ने मार्गमा समृद्धि खोजिरहेकोका छैनौँ ?  हुन पनि खास गरी पहाडी खण्डमा बाटोघाटो बढेको छ तर बस्ती घटेको छ, सहरकै कुरा गरौँ अस्पतालसँगै मेडिकल, डाक्टर, नर्स बढेका छन् आरोग्यता घटेको छ । सहजतासँग बाच्न सक्ने अवस्थामा मात्र वास्तविक समृद्धि लुकेको हुन्छ । तर के हामी थोरैमा, सहजतामा र हामी भन्ने भावनामा अड्न सकेका छौँ त ?

“छ, भयो, पुग्यो भन्ने सुनिँदैन

छैन, भएन, पुगेन को कोलाहल छ” (स्रोत धेरैको धपेडी)

खानेकुराकै कुरा गर्दा पनि धेरै खाँदा अपच हुन्छ, धेरै पिउँदा समेत अपच हुन्छ, अटसमटस हुन्छ । भनिएको छ कि कम खानु वा अल्पहारी हुनु भनेको सजगतापूर्वक अर्थात् माइण्डफुल खानु पनि हो । हाम्रा पिता पुर्खाले भन्ने गर्नुभएको चार भागको १ भाग पेट खाली राखेर खानुपर्ने, महिनाको कमसेकम २ दिन उपासना गरेर भोकै बस्नुपर्ने भन्ने भनाइमा पनि विज्ञान रहेको छ । हामी बस्ने घरकै कुरा गरौँ । यदि सानो घरमा हामी बसोबास गर्‍यौँ भने फराकिलो आँगन पाउँछौँ, स्याहार सम्भार कम खर्चिलो हुन्छ, प्रकृतिबाट प्राप्त भई प्रयोग हुने सामग्री जोगिन पुग्छन् ।

प्रसङ्ग साना साना प्रयत्न र उपलब्धिमा हामी खुसी हुन सिक्नुपर्दछ भन्ने नै हो । कतिपय साना तर सम्भव कामहरूबाट सुधारको पहल हुनसक्छ भन्ने मान्यता अवलम्बन गर्न सकिन्छ । सानो उपलब्धिमा खुसी हुनु भनेको सानो लागत लाग्नु र अग्रगमनको आधार तयार हुनु समेत हो । प्राकृतिक र दागधव्वा नलागेको वा अल्याङमल्याङ नभएको परिवेशयुक्त आवास वा अफिस बनाउँदा त्यहाँ बस्ने वा काम गर्ने व्यक्ति खुसी रहने र सिर्जनशील चिन्तन गर्न सक्षम हुने सम्भावना बढेर जान्छ । कम उपभोग गर्दा न्याचुरल फुटप्रिन्ट पनि कम प्रयोग हुन्छ जसलाई हरित अर्थतन्त्रसँग जोडेर पनि हेर्ने गरिएको छ ।

मिनिमालिज्म के हो र कसरी अपनाउने ?

थोरैमा भर पर्ने तथा रमाउनेलाई अङ्ग्रेजीमा मिनिमालिस्ट भनिन्छ भने जापानमा मिनिमालिस्टलाई वावी सावी भनिने । मिनिमालिज्म भनेको थोरैमा रमाउने आदर्श हो सिद्धान्त हो । यो धार मन पराउने व्यक्तिहरूको सूचि त लामै हुन सक्छ तर नाम कमाएका वा छाप छाड्न सफल भने कमै मात्र छन् । आफ्नो जीवनपद्धतिमा उतारेर अरूलाई प्रभाव पार्नेमा सुकरात, महात्मा गान्धी, लाओत्सु अग्रपङ्गतिमा आउँछन् । एक जना जापनिज फुमियो सासाकीले  ३० वर्षको उमेरमै मिनिमालिज्मलाई जीवनमा मात्र उतारेनन् कि “गुडवाइ थिंग्स” भन्ने पुस्तक नै लेखेका छन् । विहंगम दृष्टिले हेर्दा जब थोरैलाई कम सोच्न छाडिन्छ विश्व नै गरिबीबाट मुक्त हुन्छ । साधारण जीवनयापन गर्ने वोध र अभ्यास भएमा मात्र आनन्द प्राप्ति सम्भव हुन्छ ।

खासमा मिनिमालिस्ट भनेका त्यस्तो व्यक्ति हो जसलाई थाहा छ कि उसलाई नभै नहुने चिज के हो र के कस्ता चिजहरू ऊसँग छ भन्नकै लागि र देखाउनका लागि मात्र राखिने हुन् । पहिलो खाले चिज कायम राखेर दोस्रो वर्गका चिज वस्तु कटौती गर्नु नै वास्तवमा मिनिमालिज्म अपनाउनु हो मिनिमालिस्ट हुनु हो । हाम्रा घरहरू म्युजियम हैनन् जहाँ हामीले चिजबिज चारैदिशाबाट ल्याएर जम्मा गर्न परोस् । धेरै महत्त्वपूर्ण र मूल्यवान् चिजहरू त यसअघि नै म्युजियमहरूमा पुगिसकेका छन् । हुन पनि हो हामीले बनाएको घरले अनि हामीले किनेका चिजविजले हामीलाई खुसी दिएको छ कि उल्टै हाम्रो समय, ठाउँ, ऊर्जा खर्च भएको छ हेरिनुपर्दछ ।

कुनै चिज वा स्थान राम्रो मानिनुमा हामीमा जागृत हुने रुचि वा स्टिमुलीले काम गरिरहेको हुन्छ ।  कुनै चिज प्राप्त नहुन्जेल र प्रयोग गरुन्जेल यस्तो स्टिमुली रहन्छ तर कतै छोपिएको अवस्थामा वा धेरै विकल्प भएको अवस्थामा भने स्टिमुली रहँदैन । त्यसैले एउटै व्यक्तिलाई एकै पटक १० जोर कोट ५ जोर जुत्ता चाहिने देखिँदैन । चिज वस्तु जम्मा पार्नु सोखको विषय होला तर यसबाट आनन्द प्राप्ति पनि हुँदैन । अर्कोतर्फ जीवनको कुनै चरणमा जे देखे त्यही राम्रो होला  किन्ने इच्छा जाग्ला तर केही समय वा वर्षपछि भने आफैले रोजेका र किनेका चिजबिज पनि बोझ महसुस हुन थाल्दछ ।

मिनिमालिज्म अपनाउने एक जना पिएचडी डाक्टरका सम्बन्धमा केही वर्ष पहिले सुनेको थिएँ तर उनको बारेमा विस्तृत जानकारी भने भेटिएन । के भनिएको थियो भने लेखक समेत रहेका उनले चालिस वर्षदेखि एउटै डटपेनले लेखिरहेका छन् मात्र उनले रिफिल फेरे पुग्छ । साथै उनीसँग सुत्ने बखत ओढ्ने एउटै लुगा छ बर्को वा च्यादर जुन ठिक्क बाक्लो छ ताकि जाडो र गर्मी दुवैमा प्रयोग गर्न मिलोस् । गुगल खोजी गर्‍यो भने मिनिमालिज्म अपनाउने धेरै व्यक्तिहरू देखा पर्दछन् ती मध्ये जापानिजहरु धेरै छन् । नेपाली पनि होलान् तर ठुलो समूहलाई प्रभाव पार्ने गरी नेपालीहरूले मिनिमालिज्म अपनाएको खासै पाइँदैन । तथापि पहिले पहिलेका पुर्खाहरू २ जोर कपडामा अझ लँगौटी, कछाड लगाएर जीवन बिताएकै थिए । हामीले जान्दा सम्म पनि २ वर्षमा एक पटक सबै दाजुभाइलाई उस्तै रङ्गका कमिज, जाङ्गे सिलाइन्थ्यो । चप्पल, जुत्ता लगाउन थालेपछि एक जोरदेखि हुँदैनथ्यो । समयले मान्छेलाई धेरै जोर र धेरै पिसको मालिक बनाएको छ,  मोबाइल पनि एकभन्दा बढी लिएर हिँडेको देखिन्छ, एउटै मोबाइलमा पनि एकभन्दा बढी सिम प्रयोग हुन्छ । एउटै परिवार वा व्यक्तिले धेरै चिज वस्तु उपभोग गर्नु वा थुपार्नु भनेको समतामूलक समाज निर्माणको विपरीत हुन जान्छ ।  

मिनिमालिज्म अपनाउने केही उपायहरू

१. एउटा चिज थप हुँदा उस्तै प्रकृतिको एउटा हटाउने । यो उपायबाट चिजबिज घट्दैन पनि बढ्दैन पनि । सार्वजनिक खरिद कानुनमा व्यवस्था गरिएको पुरानो दिने नयाँ लिने विधिले पनि यही उपायतर्फ इङ्गित गरेको छ । कार्यालय परिसरमा पुराना साधनहरू, फर्निचरहरू यत्रतत्र छरिएर उल्टै दर्शकलाई गिज्याइरहेको र सुशासन कायम गर्न चुनौती दिइरहेको सन्दर्भमा यो विधिको प्रयोग बढाएर लैजान सकिन्छ ।

२. जतिले चल्छ त्यति राख्ने (एभ्रिथिङ दयाट रिमेन): कुनै घरपरिवार वा डेरा वा कुनै कोठा विशेषका सबै सामानहरूलाई सामानको किसिम खुल्ने गरी बाहिर कार्टुनमा लेबल समेत देखिने गरी राख्ने र सबै चिज प्याक भैसकेपछि नभै नहुने चिज मात्र झिकेर काम गर्ने अभ्यास गर्दै जाने । जब काम गराई नर्मल हुन्छ तब प्रयोगमा नल्याए पनि हुने चिजहरू बेच्ने वा अरूलाई दिने गर्‍यो भने कोठा वा घर वा निवास सफा गर्न, सामान मिलाएर राख्न पनि सजिलो र खाली स्थान भएको ठाउँमा सजावट राम्रो देखिने आनन्ददायक बन्न जान्छ । यो विधिबाट सानो घर, सानो कोठाबाट पनि जीवन व्यवस्थापन हुन थाल्दछ । भनिन्छ कि एउटा मध्यमवर्गको परिवारमा यो विधि अपनाउँदा ५० प्रतिशतभन्दा बढी सामान घट्न जान्छन् । लागत घट्न जान्छ । पछिल्लो समयमा त फोल्ड गर्न मिल्ने र स्लाइड गरेर राख्न वा फुकाउन मिल्ने गरी फर्निचरहरू तयार भइरहेका छन् । दिउसोमा सोफा र रातीमा बेड बनाउन मिल्ने फर्निचर अहिले भाइरल भइरहेको छ । तर यस्तो विकल्प अपनाउनु अघि हामीकहाँ पहिले भएका फिक्स बेड र सोफाहरू हटाउनुपर्ने हुन्छ ।

३. मिनिमालिस्ट हुने अन्य टिप्स : सपिङ गर्ने बखत मात्रालाई भन्दा गुणस्तरमा जोड गर्ने, किताब र फिल्मलाई डिजिटल बनाउने, सकेसम्म भइरहेको चिज वस्तुको सूचि घटाउँदै लैजाने, पुन प्रयोग हुने खालका विकल्प अपनाउने, आफूसँग भएको चिजमै रमाउने, अर्थहीन खालका खर्चहरू कटौती गर्ने, आफ्नो जीवनको आत्म परीक्षण गर्दै गर्ने, अभावग्रस्त र असहाय परिवार वा व्यक्तिलाई सहयोग बापत आफूसँग रहेर उब्रेका सामान उपलब्ध गराउने जस्ता विधि प्रयोग हुन सक्दछन् ।

जाँदाजाँदै

पुनः उही पुस्तक “धेरैको धपेडी” तर्फ विचरण गरौँ । “काम र आराम, पेसा र परिवार तथा मन र शरीरबिच उपयुक्त सन्तुलन रहँदा मात्र दीर्घकालीन खुसी सम्भव छ । थोरैलाई कम नसोच्नु सधैँ प्रसन्न रहने उपाय हो भने थोरैमा रमाउनु सभ्य संस्कृति पनि हो । समय, स्रोत र साधन सीमित नै हुने हुँदा आवश्यक मात्र प्राथमिक बन्नुपर्दछ ।धेरै प्रतिज्ञा, वचन वा आश्वासन अन्ततः झुठो प्रमाणित हुन्छ”  यस्तै यस्तै सान्दर्भिक भनाइहरू समेटेको उक्त पुस्तक देख्दा सानो, शीर्षक हेर्दा सामान्य लागे पनि समावेश भएका विषयवस्तु मनन गरेर व्यवहारमा उतार्ने हो भने जीवनमा रूपान्तर सम्भव हुन्छ ।  यो लेख पनि लामो बनाएर पाठकको समय लिनु सान्दर्भिक हुँदैन । तसर्थ थप चासो, जिज्ञासा वा उत्सुकता उत्पन्न भएमा पाठक स्वयम् बाटै सर्च, स्टडी एण्ड एप्लाई हुने नै छ ।  भवतु सब्ब मंगलम् । 

प्रतिक्रिया दिनुहोस