‘राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ’


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रूपमा लागू गरिने बताएका छन् । 

मङ्गलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 

सम्बोधनका क्रममा उनले भने, ‘‘मेरो प्रधानमन्त्रीत्व कालमा कार्यालयअन्तर्गत रहनुभएका कर्मचारीहरूको ऊर्जा र सम्मानलाई जोड दिनेछु । तपाईँहरूले आफ्नो भूमिका गम्भीरपूर्वक खेल्नुस् । मैले पनि अभिभावकीय भूमिका खेल्छु । तपाईँहरूले सक्रियतापूर्वक भूमिका खेलेमा राम्रो परिणाम आउँछ । राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ । तपाईँहरू सबै पुरस्कृत हुन प्रतिस्पर्धा गर्नुस् ।’’

‘‘निर्णय प्रक्रियामा सरलीकरण गरी छिटो छरितो कार्यसम्पादन गर्न निर्देशित गर्छु’’ प्रधानमन्त्रीले भने, ‘‘मैले सचिवहरूलाई दिएको निर्देशनमा धेरै कुरा भनिसकेको छु । त्यसलाई तपाईँहरूले गम्भीरतापूर्वक लिनुभएको होला भन्ने विश्वास लिएको छु । मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तसर्थ, हिजो बनेको कार्ययोजनामाथि सामूहिक छलफल गर्नुछ । अब मन्त्री र सचिवहरूसमेत राखेर फेरि छलफल गर्नुपर्ने आवश्यकता महसुस भएको छ । २/३ दिन राम्रोसँग छलफल गरेर काममा गति दिने सोचेका छौँ ।’’

‘‘सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम यही हलमा घोषणा गरेका थियौँ । संसदमा विश्वासको मत लिँदा राखेका विषय, सचिवहरूलाई दिएको निर्देशन र नीतिगत प्राथमिकतासमेत राखेर कार्ययोजना बनाउन आवश्यक छ’’ प्रधानमन्त्रीले भने, ‘‘तपाईँहरूको रिपोर्ट मैले सुनेँ । यसले सरकारी संयन्त्रको स्थिति बुझ्न राम्रो सहयोग पुगेको छ । राष्ट्रिय गौरवका आयोजनाको निरन्तर अनुगमन आवश्यक छ । सेवा प्रवाहको क्षेत्रमा परिणाम देखिन आवश्यक छ ।’’

Tags :
प्रतिक्रिया दिनुहोस