माइक्रोसफ्ट कम्पनीले पनि निकाल्दै कर्मचारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

माइक्रोसफ्ट कम्पनीले पनि निकाल्दै कर्मचारी


११ माघ २०७९, बुधबार


काठमाडौँ । मार्क जुकरबर्गको मेटा इन्क, जेफ बेजोसको अमेजनपछि बिल गेट्सको माइक्रोसफ्ट कम्पनीले पनि ठुलो मात्रामा कर्मचारी कटौती गरिरहेको छ ।

यो सिलसिला आगामी मार्चसम्म चल्नेछ । कम्पनीले १० हजार कर्मचारी निकाल्ने भएको छ । माइक्रोसफ्टका सिइओ सत्य नाडेलाले दाभोसमा भएको वर्ल्ड इकोनोमिक फर्ममा कोरोना महामारीको अवधिमा टेक्नोलोजी कम्पनीमा देखिएको तीव्र प्रगति बितिसकेको जमानाको विषय भएको बताउँदै अब उद्योगको उत्पादनशीलता बढाउनतिर ध्यान दिनुपर्ने भने ।

उनको कुरा आफ्नो ठाउँमा ठिकै हो । सुस्त वृद्धि भइरहेका वेला उद्योगको विकासका लागि उत्पादनशीलता बढाउनुका साथसाथै इनोभेसन र नयाँ वृद्धिका क्षेत्रमा लगानी गर्न जरुरी छ । तर, यस अवधिमा यस्ता कम्पनीले अर्बौँ डलर नाफा कमाइरहेका छन् ।

माइक्रोसफ्टले पनि सन् २०२२ सेप्टेम्बर त्रैमास (अप्रिल–सेप्टेम्बर) मा ५० अर्ब अमेरिकी डलर कुल आम्दानीमा १७.६ अर्ब डलर नाफा कमायो । टेक्नोलोजी बिजनेसमा सुस्तताको असर अमेरिकाको अल्फा बिटा (गुगलको मालिक कम्पनी) र आइफोन निर्माता कम्पनी एप्पलमा पनि छ । तर, यी दुवैले ठुलो कटौतीको घोषणा अझै गरेका छैनन् । यसबाहेक मेटा इन्क, अमेजन र माइक्रोसफ्टले कर्मचारी कटौतीको बाटो चुनिरहँदा त्यसलाई अमेरिकी जब मार्केटको ऐना मान्नुपर्दैन ।

अमेरिकी रोजगार बजार अझै पनि बलियो छ । यसबीच, त्यहाँ ब्याजदर आक्रामक ढङ्गले बढेको छ । र, यो सिलसिला अगाडि पनि जारी रहन्छ । अमेरिकाको केन्द्रीय बैङ्कका अनुसार महँगी दर पूर्ण रूपमा नियन्त्रणमा नआउँदासम्म दरमा बढोत्तरी गरिरहन्छ । कर्जा दरमा तीव्र बढोत्तरीको असर देखिन थालिसकेको छ । किनकि, महँगी दर घटेको छ । तर, केन्द्रीय बैङ्क पनि यसको ठोस र स्थायी ट्रेन्डको पर्खाइमा छ ।

अमेरिकामा प्रविधि उद्योगमा आएको मन्दीको असर भारतीय आइटी कम्पनीमा पनि परेको छ । यी कम्पनीका लागि नर्थ अमेरिका सबैभन्दा ठुलो बजार हो । टिसिएस र इन्फोसिसजस्ता कम्पनीले पनि कोरोना महामारीका वेला राम्रो गरे पनि हिजोआज मन्दीको सामना गरेका छन् ।

यो वर्ष विकसित देश मन्दीमा जाने अनुमान गर्न थालिएको छ । यसको असर भारतका आइटी कम्पनीमाथि अझै केही समय देखिन सक्छ । सेयर बजारमा पनि भारतीय आइटी कम्पनी ‘ठिकठाक’ छैनन् । तर, केही विशेषज्ञले यसमा लगानी गर्न सुझाइरहेका छन् ।

उनीहरूलाई विश्वास छ, यदि वैश्विक मन्दी आयो भने पनि लामो समय चल्दैन । र, रिकभरी हुनासाथ इन्फर्मेसन टेक्नोलोजी सेवाको माग बढ्नेछ, जसमा भारतीय आइटी कम्पनी बलिया छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस