तरकारी खेतीले फेरिएको महिलाको दैनिकी « प्रशासन
Logo ८ श्रावण २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तरकारी खेतीले फेरिएको महिलाको दैनिकी


१० माघ २०७९, मंगलबार


रामपुर । घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसो फुर्सदको समय घरका करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन् ।

तरकारी खेतीमा संलग्न हुन थालेपछि जिल्लाका महिलाहरूको दैनिकी नै बदलिएको छ । तरकारीका बिरुवा उमार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, बजारमा बिक्री गर्ने कार्यमा महिलाको दिनचर्या बित्ने गरेको छ । पाल्पा रामपुरकी सीता देवकोटाको घर वरिपरिका जग्गा तरकारीले भरिएका छन् । कोही उत्पादन दिँदैछन् त कुनै उत्पादन दिने क्रममा छन् । अहिले उनले काउली, बन्दा उत्पादन गरेर बजारमा दिनहुँ जसो बेच्छिन् । बन्दा प्रतिकिलो रु ३०, काउली प्रतिकिलो रु ६० मा बिक्री भइरहेको उनले बताइन् ।

‘घर वरपरका जग्गामा लगाइएको तरकारी खेती परिवारको दरिलो आम्दानीको स्रोत बनेको छ, दैनिक जसो बिक्री हुँदा हातमा पैसा परिरहन्छ’, उनले भनिन्, ‘घरको काम गर्दै हेरचाह गरे भयो, धेरै समय दिएर दुःख झन्झट गर्नु परेन ।’ घरायसी प्रयोगका लागि मात्रै तरकारी लगाउने देवकोटाले एक दशकयता भने व्यावसायिक तवरबाट खेती गरिरहेकी छन् घरमा आफैँले उत्पादन गरेको तरकारी टिपेर बेच्न पाउँदा धेरै आनन्दको अनुभूति हुने गरेको अनुभव सुनाइन् ।

उनी भन्छिन्, ‘महिलालाई आफूले कमाउने कुनै उपाय नभएको अवस्थामा अरूको भरमा बाँच्नुपर्दा जीवन अन्धकारजस्तो हुँदो रहेछ, श्रीमान्सँग हुँदा त पैसा पाइन्थ्यो नहुँदा यत्तिकै मन बुझाउनुपर्ने अवस्था थियो, अहिले तरकारी फलेपछि पैसा परिहाल्यो, आफ्नो खर्चलाई अरूको निर्भर रहनु परेन ।’ आफ्नो मेहनत र परिश्रमले उत्पादन गरेको वस्तु उपभोक्तामाझ पुर्‍याउँदा व्यवसायमा उत्साह थपिँदै गएको उनले बताइन् । तरकारी बिक्रीबापत वार्षिक रूपमा खर्च कटाएर करिब रु दुई लाख आम्दानी गर्छिन् ।

कुन्तादेवी गैरेले आफैँले घर वरपरका खाली जग्गामा हरियाली तरकारी लगाएपछि किनेर खानु नपरेको बताउछिन् । उनले बर्सेनि चार रोपनी जति जग्गामा समयानुसार विभिन्न जातका तरकारी लगाउने गर्छिन् । घरमा खानका लागि मात्र नभई बजारमा बिक्री गर्ने गरेको गैरेले बताइन् । ‘पहिला किनेर बिहान-साँझ तरकारीको जोहो हुन्थ्यो, अहिले आफैँले उत्पादन गरेको ताजा तरकारी खान पाइएको छ, धेरै उत्पादन हुँदा बजारमा बेच्यो कि हातमा पैसा परिहाल्ने, तरकारी लगाएर सामान्य खर्च गुज्रेकै छ’, उनले भनिन् ।

यहाँका महिलालाई स्थानीय नदी किनार आयआर्जन महिला कृषि समूहमा आबद्ध भएपछि तरकारी खेतीमा प्रेरणा मिलेको छ । समूहले महिलालाई आयमूलक क्षेत्रमा उत्प्रेरित गराउन तरकारी खेतीमा हौसला दिन थालेपछि व्यावसायिक तवरबाट तरकारी लगाउन थालेका हुन् ।

घरमा थोरै खानका लागि तरकारी लगाउने राधा खनालले समूहमा आबद्ध हुन थालेपछि उत्पादन बढाउन थालेको बताउछिन् । उनलाई दुई वर्षयता तरकारी खेती सुरु गरेपछि किनेर खानुपर्ने बाध्यता टरेको छ । करिब तीन रोपनी जग्गामा मौसमअनुसारका विभिन्न तरकारी लगाउँदै आएको खनालले बताइन् ।

खेतबारीमा लगाएको काउली, बन्दा र आलु खेतीको स्याहारसुसारमा यति बेला गोमा पोखरेलको पनि समय बित्ने गरेको छ । सात वर्षदेखि तरकारी खेतीमा तल्लीन रहेकी पोखरेल आफूलाई कृषि समूहमा आबद्ध भएपछि तरकारी लगाउने प्रेरणा मिलेको बताउछिन् । सिँचाइ सुविधा, नयाँ प्रविधिको प्रयोग, उन्नत जातका बीउ बिजनको सुविधाले तरकारी खेती गर्न किसानलाई सजिलो छ । आफैँले घरका खेतबारीमा तरकारी लगाउन थालेपछि बाहिर तरकारी किन्ने पैसा बचत मात्रै नभई स्वस्थ ताजा तरकारी सेवनले स्वास्थ्यलाई धेरै फाइदा गरेको सावित्रा गैरेको अनुभव छ ।

‘साढे दुई रोपनी जग्गामा लगाएको तरकारीले मेहनतका साथ खेती गरियो भने राम्रै फल्छ, बजारबाट किनेर खाएका तरकारीमा स्वाद नहुने, बासी तरकारी, विषादीको अधिक मात्रा प्रयोगले स्वास्थ्यलाई हानी पुर्‍याउने भएकाले घरमै तरकारी फलाएर खादा स्वास्थ्यलाई हित गरेको छ’, उनले भनिन् ।

रामपुर नगरपालिकाले तरकारी खेतीलाई प्रवर्द्धन गर्दै समूह, सहकारीमार्फत बीउबिजन, स्थलगत प्राविधिक सेवा, अभिमुखीकरण कार्यक्रम, तरकारी बाली पकेट विकास कार्यक्रम, कृषि प्रविधिमा ५० प्रतिशत अनुदानजस्ता विभिन्न कार्यक्रममा जोड दिएकाले आयआर्जन गर्ने गरी कृषकले तरकारी खेतीलाई विस्तार गरिरहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए ।

पुरुषको तुलनामा महिलाको तरकारी खेतीमा उत्साह राम्रो देखिएको छ । घर व्यवहार चलाउने कार्यमा महिला नै प्रमुख भूमिकामा रहने हाम्रो समाजमा आयआर्जन बढाउने कार्यमा उनीहरू पुरुषसरह नै व्यवसायमा मेहनत र परिश्रम गर्न पछाडि हट्दैनन् । घरधन्दा, छोराछोरीको स्याहारसुसारसँगै यहाँका महिलाले तरकारी व्यवसायलाई साथमै अगाडि बढाएर आत्मनिर्भर बन्दै गएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस