सभामुखमा गुरुङ, राष्ट्रपतिमा नेम्वाङको दाबी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सभामुखमा गुरुङ, राष्ट्रपतिमा नेम्वाङको दाबी 


२७ पुस २०७९, बुधबार


काठमाडौँ । आगामी माघ ५ प्रतिनिधिसभाको सभामुख चयनका लागि निर्वाचन हुँदैछ । 

संसद् सचिवालयले माघ ३ गते सभामुखको निर्वाचनको कार्यकतालिका सार्वजनिक गर्नेछ । अर्थात् सभामुखको उम्मेदवार माघ ३ गते नै तय भइसक्नुपर्नेछ । 

नेकपा एमाले नेकपा माओवादी केन्द्रबीच सरकार गठनका बेला भएको सहमतिअनुसार सभामुख एमालेबाट बन्नेछन् । 

सभामुखको उम्मेदवारबारे एमालेमा औपचारिक रूपमा छलफल भइसकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखको उम्मेदवारबारे छलफल गरिरहेको नेताहरूको भनाइ छ । 

सभामुख पद ‘डिजर्ब’ गर्ने नेताबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । एमालेमा गुरुङसँगै छविलाल विश्वकर्मा पनि सभामुखका उम्मेदवार हुन् ।

प्रतिनिधिसभामा निर्वाचित उपाध्यक्षमध्ये विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी पाइसकेका छन् । 

अर्का उपाध्यक्ष सुवास नेम्वाङले आफू पटक पटक सभामुख भइसकेकोले अब पनि ‘सोही पदमा जानु पदको लोभी हुनु हो’ भन्दै सार्वजनिक रूपमा नै अभिव्यक्ति दिइरहेका छन् । उनले आफू सभामुख नबन्ने प्रस्ट्याइसकेका छन् । 

उनले अध्यक्ष केपी शर्मा ओलीले सभामुखको उम्मेदवारबारे छलफल गरिरहेको बताए । 

नेम्वाङले राष्ट्रपतिमा दाबी गरिरहेका छन् ।  

अन्य उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा चुनाव नै लडेनन् । एमालेका पदाधिकारीमा वरिष्ठताका आधारमा हेर्दा महासचिव शङ्कर पोखरेल पराजित भए । 

उपाध्यक्षपछि निर्वाचन जितेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ हुन् । उपमहासचिव प्रदीप ज्ञवाली पराजित भए भने अर्का उपमहासचिव विष्णु रिमालले चुनाव नै लडेनन् । 

यसरी हेर्दा एमालेमा सभामुख गुरुङ बन्नुपर्ने नेताहरू बताउँछन् । उनले पार्टीले निर्णय गरे आफू सभामुख बन्न तयार रहेको र कुशलतापूर्व जिम्मेवारी निर्वाह गर्ने निकटस्थलाई बताइरहेका छन् । 

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री रहेका गुरुङ नेकपा माओवादीका महासचिव देव गुरुङलाई पराजित गर्दै लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित भए । 

वरिष्ठता र अनुभवका आधारमा गुरुङले आफूलाई सभामुखको उम्मेदवारको रूपमा प्रस्तुत गरिरहेका छन् । 

“सभामुखबारे पार्टीमा औपचारिक छलफल त भएको छैन । सिनियरको हिसाबले हेर्दा उहाँ नै सभामुख बन्नुपर्ने हो,” एमालेका एक पदाधिकारी भन्छन् । 

सभामुखमा सचिव विश्वकर्माको चर्चा पनि भइरहेको छ । एमालेमा एक मात्रै निर्वाचित दलित सांसद भएकाले सभामुख बनाउनुपर्ने मत छ । 

विश्वकर्मा एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई पराजित गर्दै रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । 

उता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली काँग्रेसले पनि विश्वासको मत दिएकाले शङ्काको अवस्था भने पैदा भएको ती पदाधिकारीको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस