स्थानीय तहका काम जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्छ : देउवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्थानीय तहका काम जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्छ : देउवा


२ पुस २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको काम कारबाही नागरिकप्रति नै जबाफदेही हुनुपर्ने बताए ।

ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रूपमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गरे।

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंसा समेत गरे। उनले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रूपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए।

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमुना महानगरपालिकाको रूपमा आफूलाई अघि बढाएको बताए।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरूको संरक्षण र सम्वर्द्धनको काम भइरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढ्न थप क्रियाशील हुन आग्रह गरे।

भौतिक पूर्वाधारहरूको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरूले मिलेर काम गर्नुपर्ने उनको भनाई थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस